साउदीमा १३५ नेपालीले पाए बहिर्गमन भिषा
साउदी अरेबिया : साउदी अरेबियामा अवैध रूपमा कार्यरत अकामा नवीकरण नगरेका १ सय ३५ जना नेपालीका लागि साउदी सरकारले बहिर्गमन भिषा जारी गरेको छ । साउदीमा रोकिएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन् ।
दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार बहिगर्मन भिषा फारम भर्नेको संख्या २६ सयभन्दा बढी छ। दुतावास रियादले बहिगर्मन भिषा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ । बाँकी बहिर्गमन भिषाको लागि आवश्यक कार्य भइरहेको जानकारीसमेत गराएको छ ।
बहिर्गमन भिषा पाउनेले भिषा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छोडिसक्नुपर्ने छ ।
साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत छन । कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली हिमाल एरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फिर्ता हुने क्रम बढ्दो छ । हालसम्म १२ सय १७ जना स्वदेश फिर्ता भएका छन् भने कामको क्रममा मृत्यु भएका १८ जनाको शवसमेत नेपाल पठाइएको छ ।
साउदी सरकारले पूर्ण रुपमा कर्फ्यु हटाए पनि संक्रमितको संख्या १ लाख ७८ हजार ५ सय ४ पुग्नुको साथै १ लाख २२ हजार १ सय ७८ निको भएका छन्। १५ सय ४१ जनाको मृत्यु भएको छ । पछिल्लोपटक नेपाली दुतावासले साउदीमा कार्यरत नेपालीमध्ये कोरोना भाइरसबाट १३ सय ६४ जना संक्रमित हुनुको साथै ७ को मृत्यु भएको जानकारी गराएको थियो ।