चार वर्षदेखि गोला प्रथाबाट रोपाइँ
मुगु : हरेक वर्ष रोपाइँ गर्दा रोपार, बाउसे, हली, गोरु आदिको लागि झगडा हुन थालेपछि चार वर्षदेखि निगाले गाउँमा गोलाप्रथाबाट रोपाइँ गर्न थालेका छन् । छायाँनाथ रारा नगरपालिका—३ निगाले गाउँका स्थानीयले गाउँ नजिकको जिउलामा असार १५ बाट रोपाइँ सुरु गर्छन् । उनीहरुले चार वर्षयताबाट गोलाप्रथा गरी प्रत्येक किसानको पालो अनुसार रोपाइँ गर्न थालेका हुन् ।
सबै गाउँलेको सहमतिमा पालो अनुसार खेतमा रोपाइँ गर्नका लागि एक हप्ता अगाडि गोलाप्रथा गर्ने गरेका छन् । पालोअनुसार गर्दा खेतमा पानी लगाउन र रोपाइँ गर्दा आवश्यक जनशक्ति पुग्ने भएकाले चार वर्ष यताबाट रोपाइँ गर्ने र हरेक वर्ष यसरी नै सबै गाउँलेको रोपाइँ समयमै गर्नका लागि गोलाप्रथाबाट पालैपालो रोपाइँ गर्न लागिएको छाँयानाथ रारा नगरपालिका—३ निगाले गाउँका गोकर्ण रोकायाले जानकारी दिएका छन् ।
'निगालेका स्थानीयका ३ सयभन्दा बढी रोपाइँ हुने खेत छन् । असारमा रोपाइँ सुरु भएपछि कसले पहिला रोपाइँ गर्ने भनी विवादर ठूलै झगडासमेत हुन्थ्यो', सोही गाउँका नौलासिंह रोकायाले भने, ' गाउँ सानो भएकाले घरमा बढी परिवार भएका साथै बलियाले पहिला रोपाइँ गर्थे । कमजोर घर परिवारले अन्तिममा मात्र रोपाइँ गर्न पाउथे।'
रोपाइँकै विषयमा झगडा हुँदा गाउँलेमा लामो समय बोलचाल नहुँदा अन्य काममासमेत अवरोध हुने गरेकाले गोलाप्रथा माध्यमबाट रोपाइँ गर्ने निर्णय गरेको उनले बताए । बालियो र कमजोर परिवारमा चार वर्षदेखि कुनै मतभेत नभएको र आफ्नो रोपाइँ पालोमा रोपार , हली, बाउसे र गोरुको अभाव समेत नहुने गरेको रोकायाले बताए ।