कर्णालीमा आकाशे पानीको भर
सुर्खेत : कर्णाली प्रदेशका अधिकांश ठाउँमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा धानखेती गर्नुपर्ने बाध्यता छ। आकाशे पानीको पर्खाइमा बसेका किसानलाई कतै धान रोप्न हतारो छ। त कतै रोपेको धान गोड्ने चटारो छ। कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार नदी र खोलाको पानीबाट कर्णालीमा ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। तर आकाशे पानीमा भरपर्नुपर्ने ६५ प्रतिशत खेतमा अझै रापाइँ हुन सकेको छैन।
कर्णालीका ५ मध्यपहाडी र ५ हिमाली गरी १० वटै जिल्लामा धान उत्पादन हुन्छ। तथ्यांकअनुसार ४९ हजार चार सय २५ हेक्टर धानखेती हुने जमिनमध्ये हालसम्म १७ हजार ५ सय ६ हेक्टरमा मात्रै धान रोपिएको छ। हिमाली जिल्ला डोल्पा र जुम्लामा रोपाइँ सकिएको छ। हुम्लामा ७०, मुगुमा ६२ र कालिकोटमा २७ प्रतिशत धान रोपाइँ भएको छ। कर्णालीका मध्यपहाडी जिल्ला सल्यानमा ६५, जाजरकोट ६०, रुकुमपश्चिम ३२, दैलेख र सुर्खेतमा १०/१० प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयका वागवानी अधिकृत यामबहादुर रानाले जानकारी दिए।
‘यो वर्ष वर्षाले साथ दिएको छ। किसानले समयमै बीउ राख्न पाए। रोपाइँ पनि समयमै सकिने सम्भावना छ’, उनले भने,‘यस वर्ष कर्णालीमा धान उत्पादनसमेत बढ्ने अनुमान छ।’ प्रदेश सरकारले समेत जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गर्दै आधुनिक कृषि प्रविधिको प्रयोग वृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य लिएको छ। कोरोना माहामारीका कारण ठूलो संख्यामा युवा देश, विदेशबाट घर फर्किएपछि कृषिबाटै आत्मनिर्भर बन्न आधुनिक प्रविधि अपनाउन थालेका हुन्।
मार्सी गोड्ने चटारो
कर्णालीका अन्य जिल्लामा धान रोप्न भ्याइनभ्याइ भइरहेको बेला जुम्लामा भने मार्सी धान गोड्ने चटारो छ। सामान्यतयाः अन्य जिल्लामा असारमा धान रोपाइँ गरी साउनमा धान गोडिन्छ। तर, जुम्लामा भने जेठमै धान रोपेर असारको पहिलो हप्तामै गोड्ने चलन छ। देशभर रोपाइँ चलिरहेको बेला जुम्लामा भने धान गोड्ने चटारो छ।
जुम्लामा जेठमै मार्सी रोपेर असार दोस्रो साता भित्रै गोडिसक्ने भएकाले कर्णाली प्रदेश सरकारले यस वर्ष धान दिवसका अवसरमा जुम्लालाई सार्वजनिक बिदा दिएको छैन। प्रदेशका अन्य सबै जिल्लालाई असार १५ अर्थात् धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो। विश्वमै उच्च स्थानमा धान फल्ने स्थान जुम्लाको छुमचौर ज्युलोदेखि (खेतहरू) खसभाषको उद्गमस्थल सिंजा क्षेत्रलगायत फाँटमा यतिखेर जुम्ली महिला धान गोड्न व्यस्त छन्।
चिसोका कारण असारमा रोपेको धान कात्तिकमा नपाक्ने भएकाले जुम्लामा जेठमै धान रोप्ने गरिएको कृषि विज्ञ धनबहादुर कठायतले बताए। मार्सी गोडाइमा व्यस्त रहेकी तातोपानी–४ की गंगा गौतमले भनिन्, ‘जति चाँडो रोप्यो त्यति चाँडो पाक्ने भएकाले हतारमा मार्सी रोपेर गोड्ने चटारो छ।’ उनीजस्तै हजारौं महिला कृषक दिनभर मार्सी गोड्नमै व्यस्त छन्। विज्ञका अनुसार मार्सी रोपेको एक सय ६५ दिन भित्र पाक्छ।
यस वर्ष सरकारले गरेको लकडाउन र कोरोना भाइरस संक्रमणको त्रासबीच पनि जुम्ली किसानले सर्तकता अपनाउँदै समयमै मार्सी रोपाइँदेखि गोडाइ सक्न थालेका हुन्। हरेक वर्ष जुम्लामा करिब १३ सय हेक्टर जमिनमा मार्सीखेती हुन्छ। मार्सी चामलको बजार माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएको छ। नेपालकै अर्गानिक धानको बीउका रुपमा मार्सीलाई हेर्ने भएकाले यसको महत्व बढेको संस्कृत सम्बन्धिका जानकार रमानन्द आचार्यले बताए। मार्सीचामल तत्कालीन राजा रजौटालाई समेत हुलाकबाटै पठाउने चलन सुरु भएपछि नेपालमा मार्सीकै कारण हुलाक स्थापना भएको किंवदन्ती छ।