नकुहाऔं जैविक सुन

नकुहाऔं जैविक सुन

कोभिड —१९ को संक्रमण त्रासका कारण यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको छ। वैशाखदेखि साउनसम्मलाई यार्सागुम्बा संकलनको उत्तम समय मानिन्छ। यार्सागुम्बा यस्तो जडिबुटी हो, जुन हिमाली क्षेत्रका वासिन्दाको आर्थिक मेरुदण्ड मानिन्छ। यो सुनभन्दा पनि महँगो बुटी हो। यसकै भरमा लाखौं वासिन्दाले चुलो बालिरहेका छन्। यार्सा टिप्न रोक्नुअघि सोच्नुपर्ने थियो– यो वर्ष उनीहरूको जीविका धान्ने आधार के बनाइदिने ? यार्सा सडेर जाँदा हिमाली भेगका स्थानीय सरकारको आम्दानी पनि घट्ने छ। यी दुवै समस्याबाट मुक्ति दिलाउन यार्सागुम्बा संकलन रोक्ने होइन, व्यवस्थित बनाउनुपर्छ। संकलनकर्ताबीच सामाजिक दूरी कायम गरेरै भए पनि यसलाई टिप्ने व्यवस्था मिलाउनुपर्छ।

हिमाली जिल्लाको घाँसे मैदान (पाटन) मा यार्सागुम्बा पाइन्छ। आधा जीव र आधा विरुवा वा बुटी यसको विशेषता हो। हरेक वर्ष हिउँद सकिएपछि वैशाखतिर हिउँ पग्लिन्छ र विरुवा उम्रेर फूल फुल्न थाल्छ। त्यही समयमा पुतलीले फुल पार्न थाल्छ। फुल हुँदै बनेको लार्भा अवस्थामा रहेको झुसिल्किरा जमिनमुनि बस्छ। उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ। यही ढुसीबाट यार्सागुम्बा बन्छ। यो गर्मीयाममा झार र हिउँदमा किरा बन्छ। विश्वमा पाइने ५ सय प्रकारका यार्सागुम्बामध्ये नेपालमा ११ प्रकारको पाइन्छ। यहाँ १२ वटा जिल्लामा मात्र व्यावसायिक रूपमा संकलन गरिन्छ। अध्ययनका अनुसार विश्वमा वार्षिक ८३ देखि १ सय ८३ टनसम्म यार्सागुम्बा संकलन हुन्छ। नेपालमा वार्षिक तीन सय किलोग्रामसम्म टिपिन्छ। नेपालमा गत वर्ष यसको बजारमूल्य प्रतिकेजी १५ लाख रुपैयाँसम्म थियो। एक केजी बराबर २० हजार रुपैयाँ राज्यलाई रोयल्टी आउँछ। यति धेरै आम्दानी हुने वस्तुलाई हिमाली क्षेत्रमा त्यत्तिकै छोड्ने होइन, सदुपयोग गर्नेतिर सोच्नुपर्छ।

यो वर्ष यार्सागुम्बा टिप्न नपाउने हो भने हिमाली भेगका धेरै नागरिकले आर्थिक समस्या बेहोर्नु पर्नेछ। उनीहरूको भावनाको कदर गर्दै यार्सा संकलन फुकुवा गर्नुपर्छ। नेपाल राष्ट्र बैंकको सन् २०१६ को प्रतिवेदनअनुसार विश्वमा वार्षिक ५ देखि ११ विलियन अमेरिकी डलर यार्सागुम्बाबाट आम्दानी हुन्छ। नेपालमा यार्सा टिप्नेले कुल प्रतिव्यक्ति आम्दानीभन्दा आठ गुणा बढी कमाइ गर्छन्। यही आम्दानीले स्थानीय स्तरमा खाद्यान्न अभावको समस्या टरेको छ। रोजगारी सिर्जना भएको छ। आर्थिक, सामाजिक र वातावरणीय हिसाबले यार्सालाई बढी सम्भावनाको जडिबुटी मानिन्छ। स्थानीय वासिन्दाको चेतना अभिवृद्धि गर्ने, अध्ययन–अनुसन्धानलाई सहयोग गर्ने, यार्सासँग सम्बन्धित आवश्यक नीति–नियम र कार्यक्रम बनाएर कार्यान्वयन गर्नेतर्फ सरकारले काम गर्नुपर्छ।

दम, कलेजो, मुटु रोगीका लागि योे जडिबुटी उपयोगी मानिन्छ। झाडापखाला, टाउको, जिउ दुखाइ कम गर्न पनि यसको प्रयोग गरिन्छ। यार्सा टिप्नेले उसको वार्षिक आम्दानीको ६० प्रतिशत यसैबाट पूर्ति गर्छ। यो समुद्री सतहबाट तीन हजारदेखि ६ हजार मिटरको उचाइमा पाइन्छ। यार्सा उत्पादनमा कमी आउनु भनेको हिमाली भेगका बासिन्दाको जीविकामा प्रत्यक्ष नकारात्मक असर पर्नु हो। किनभने, तुलनात्मक रूपमा आर्थिक उत्पादनका अवसर कम भएका यस क्षेत्रका बासिन्दाका लागि यार्सा यतिखेर वरदान साबित भएको छ। हिमाली क्षेत्रको अर्थतन्त्रको प्राण मानिने यार्सा संकलनलाई रोक्ने होइन, व्यवस्थित तरिकाले संकलन गर्न दिनुपर्छ। चेतनाको अभावमा सस्तोमा बेच्ने प्रवृत्तिको अन्त्य गरी सरकारले नै मूल्य तोकिदिने र सोही मूल्यमा मात्र बेच्ने नियम बसाल्नुपर्छ। यति गर्न सकियो भने जैविक सुनसमेत भनिने यार्सागुम्बाको सही सदुपयोग हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.