प्रहरीको प्रतिष्ठा
कानुन कार्यान्वयन गर्ने मुख्य अंग प्रहरी संगठनका सदस्य नै अपराध कर्ममा लाग्ने गरेको घटनाले नागरिकको सुरक्षाप्रति शंका उब्जेको छ। पटक–पटक यस्ता गतिविधि दोहोरिइरहँदा प्रहरीप्रति नागरिकको विश्वासमा संकट आउन सक्छ। नागरिक सुरक्षाका लागि गठित सुरक्षा बलले उनीहरूकै विश्वास जितेर काम गर्न सक्नुपर्छ। अन्यथा केहीले गर्ने बदमासीले सिंगै संगठनको छविमा आँच आउन सक्छ। बितेको एक वर्षमा व्यावसायिक आचरणविपरीत काम गरेको भन्दै नेपाल प्रहरीले संगठनका एक हजार सात सय ८० जनालाई कारबाही गरेको छ। ३ सय ७७ जनालाई जागिरबाटै हटाएको छ। विभागीय कारबाहीमा एसएसपीसम्मका प्रहरी अधिकारी परेका छन्। डीएसपी तहका व्यक्ति आरचणविपरीत काम गरेकाले जागिरबाट हटाइएका छन्। प्रहरी संगठनका सदस्यमाथि विशेष गरेर घुस, सुन तस्करी, लुटपाट, लागुऔषध, वन्यजन्तु तस्करीजस्ता अपराध कर्ममा लागेको आरोप लाग्ने गरेको छ। थुप्रै यस्ता घटना प्रमाणितसमेत भएका छन्। तर, ती घटना किन शृंखलाबद्ध रूपमा भइरहन्छन् भन्ने विषयमा गम्भीर अध्ययन भएको भने पाइँदैन।
नेपाल प्रहरीको संगठन संरचनाअनुसार महानिरीक्षकदेखि सिपाहीसम्म ७४ हजार कर्मचारी कार्यरत छन्। यति ठूलो संगठनभित्र रहेका केही व्यक्तिको खराब आचरणको भागिदार पूरै संगठन हुन सक्दैन। तर, नागरिकको सुरक्षा गर्नेबाटै भएका असुरक्षितजन्य घटनाका कारण उठेका प्रश्नलाई अन्यथा मान्नु हुँदैन। संगठनका सदस्यबाट गलत काम किन हुन्छ भन्ने विषयमा निर्मम समीक्षा गर्नु जरुरी छ। प्रहरी नेतृत्वले संगठनलाई भविष्यमा पनि प्रतिष्ठित बनाइरहन आर्थिक एवं पेसागत अनुशासनमा दह्रोगरी बाँध्न सक्नुपर्छ। सानो घटना र थोरै प्रतिशतको संख्या भनेर पन्छियो भने यसले गम्भीर रूप लिन सक्छ। प्रहरीले व्यावसायिक छवि सुधार्न र नागरिकसँगको सहकार्यलाई सबल बनाउन ‘प्रहरी मेरो साथी’, ‘समुदाय प्रहरी साझेदारी’ लगायत सकारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। तर, अझै पनि आफ्नै सदस्यबाट होटेल, रेष्टुराँ, लज, डान्सबार सञ्चालक तथा ठेकेदारबाट पैसा असुल्ने धन्दालाई रोक्न सकेको छैन। कतिपय घटनामा गुण्डागर्दी, दादागिरी गरेर समाजमा लुटपाट मच्चाउने समूहसँग समेत प्रहरीले साँठगाँठ गर्ने गरेका छन्। जघन्य अपराधमा प्रहरीहरू सामेल भएका छन्। संगठनको महानिरीक्षक जस्तो उच्च पदमा रहेका समेत आर्थिक अनियमिततामा मुछिएको प्रमाणित भएपछि जेल जीवन बिताएर मुक्त भइसकेका छन्। आर्थिक अनियमिततादेखि ठगीसम्मका काण्डमा नेतृत्व नै संलग्न रहेपछि तल्लो तहमा नकारात्मक सन्देश प्रवाह भएको छ।
पछिल्लो समय प्रहरी संगठनभित्र व्यावसायिकता, अरनखटन र वृत्ति विकास संगठनात्मक नीतिअनुकूल भन्दा पनि राजनीतिक दलका नेताको चाहनाअनुसार हुन थालेको छ। यस्ता व्यक्तिको नातेदार, सहयोगी र निकटतम् व्यक्तिले प्रहरी संगठन परिचालन गराउन थालेका छन्। यस्तै व्यक्तिको प्रभावका कारण अपराधमा संलग्न प्रहरीलाई कारबाहीसमेत हुन सकेको छैन। यस्ता घटनाले प्रहरी संगठनको एकतालाई नै भंग गर्ने खतरा देखिएको छ। संगठनभित्र एकता भएन भने सदस्यहरूबीच अनुशासन कायम गर्न कठिन हुन्छ। अनुशासन भएन भने छाडा र मनपरिका घटना भइरहन्छन्। संगठनभित्र पनि गुट सिर्जना हुन्छ र अन्त्यमा संगठन नै विघटनको बाटोमा जानसक्छ।
जस्तोसुकै ठूलो अपराध कर्म भए पनि आरोपित व्यक्तिलाई सामान्य नसिहत दिने वा निलम्बन मात्र गर्ने परम्परामा सुधार गर्नुपर्छ। प्रहरी संगठनलाई बदनामीबाट बचाउने हो भने पक्राउ पर्ने केही कारिन्दा मात्र होइन उनीहरूलाई परिचालन गर्ने तहका अधिकारीबाटै कारबाहीको सुरुवात गरिनुपर्छ। ढोकाअगाडि सुशासनको सपथ, टेबलमुनि घुसको बाकस भनेर प्रहरी संगठनमाथि लाग्ने आरोपबाट मुक्त हुन पनि उनीहरूको आचरणमा सुधार जरुरी छ। सेवामा प्रवेश गर्ने क्रममै आचरणका विषयमा दिइने तालिमलाई प्रभावकारी बनाउनुपर्छ। सबैलाई अनुशासनको दायराभित्र राख्न सक्नुपर्छ। अन्यथा संगठनको बदमानी भई देशलाई नै हानि पुर्याउनेछ।