उदयपुरमा वडाध्यक्षसहित ५ जनामा कोरोना पुष्टि

उदयपुर : उदयपुरको बेलका नगर क्षेत्रमा कोरोना भाइरस नियन्त्रणको अभियान लिएर गाउँ–गाउँ पुगेका जनप्रतिनिधिलाई नै कोरोना पोजिटिभ देखिएपछि त्रास फैलिएको छ। शुक्रबार बेलका नगरपालिकाका ६५ वर्षीय वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएको हो।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट वडाध्यक्षसहित बेलका नपा ९ का २३, ३२, ३४ वर्षीय र वडा नं ५ का ४० वर्षीय पुरुष गरी पाँचजनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। उनकाअनुसार पाँचमध्ये वडा नं ९ का २३ र ३४ वर्षीय युवा असार १२ गते भारतबाट नेपालको जोगमुनी नाका हुँदै क्वारेन्टाइनमा आएर बस्दै आएका हुन्।
सोही वडाको ३२ वर्षीय युवा असार ९ गते पोखराबाट घर आइ होमक्वारेन्टाइनमा बस्दै आएका थिए। त्यस्तै वडानं ५ का ४० वर्षीय नेपाल प्रहरीका पुर्वकर्मचारी हुन्। उनी तीन महिनाअघि मात्र काठमाडौंबाट घर आएका थिए। उनीहरु सबैको असार १५ गते पीसीआर परीक्षण गरिएको थियो।
वडाध्यक्ष गाउँमा नै कोरोना नियन्त्रणको अभियानमा, योजना अनुगमन, बाँडफाँडमा सक्रिय थिए। विभिन्न अभियानमा वडाध्यक्ष गाउँमा जोडिएपछि कोरोना समुदायतर्फ प्रवेश गरेको नगर प्रमुख दुर्गा थापाले आशंका गरे। उनले भने, ‘कोरोना भाइरसको सावधानी अपनाउन र समुदायलाई सचेतीकरण गर्न वडाध्यक्ष आफै गाउँ–गाउँ डुल्नु भएको थियो, त्यसले थप शंका भयो।'
वडाध्यक्षसँग सम्पर्कमा रहेका स्थानीयले पनि जोखिमा परेको भन्दै परीक्षण विधिलाई फराकिलो बनाउन माग गरेका छन्। पाँचै जनालाई चौदण्डिगढीको बेल्टारस्थित सातधारे आइसोलेशनमा लगिएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ जना पुरुष र १९ जना महिला गरी ७३ जना पुगेको छ। त्यसमध्ये ३५ जना पुरुष र ८ जना महिला गरी ४३ जना उपचारपछि निको भएर घर फर्किसकेका प्रमुख सुवेदीले बताए।
समुदायमा बसेकामा कोरोना पोजिटिभ देखिनुले यसलाई समस्या र नियन्त्रणको चुनौतीको रुपमा हेरिएको छ। वडाध्यक्षमा पोजिटिभ देखिनुले पालिकाका सबै जनप्रतिनिधि कन्ट्राक ट्रेसिङमा पर्ने देखिएको छ। समुदायमा देखिएका एक जनाको पनि कन्ट्रयाक ट्रेसिङ निकै जनाको हुने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !
