सुपरजोनमै बिरुवा अभाव

सुपरजोनमै बिरुवा अभाव

स्याङ्जा : सुन्तलाको जिल्ला भनेर चिनिने स्याङ्जामै सुन्तलाको बिरुवा अभाव भएको छ। सुन्तला सुपरजोनभित्रका इच्छुक किसानमध्ये ५० प्रतिशतले मात्र मागअनुरूप सुन्तलाका बिरुवा लगाउन पाएका छन्।

गत वर्षको तुलनामा यस वर्ष सुन्तलामा चासो बढेकाले ५० प्रतिशत सुन्तलाको बिरुवा अभाव भएको सुन्तला सुरपरजोन सञ्चालक समितिका अध्यक्ष बोधराज अर्यालले बताए। ‘सुन्तला खेतीबाट आर्थिकोपार्जनको पाटो राम्रो देखिएको र कोरोनाका कारण जिल्लामा युवा शक्ति भित्रिएकाले बिगतमा बाँझा जग्गाजमिन सुन्तलाका बिरुवा लगाउने होड नै चलेको छ’, उनले भने, ‘किसानका माग ९० हजार बिरुवाको थियो, हामीले ४५ हजार मात्र उपलब्ध गराउन सक्यौं।’

सुपरजोनअन्तर्गतका ४ वटा हरित जालिभित्र सुन्तलाका बिरुवा उत्पादन गरिएको हो। पुतलीबजारस्थित देवी नर्सरी, भीरकोटस्थित बिन्ध्यवासिनी अर्गानिक भिलेज र शान्ति फलफूल नर्सरी र वालिङस्थित सुन्तला हाइटेक नर्सरीमा गरी झण्डै २६ हजार कलमी र ९ हजार बिजु बिरुवा उत्पादन गरिएका हुन्।

यसैगरी, धनकुटाबाट २ हजार कलमी र ८ हजार बिजु बिरुवा गरी ४५ हजार बिरुवा किसानलाई उपलब्ध गराइएको सचिव मुक्ति अधिकारीले जानकारी दिए।

सुन्तलाका लागि उपयुक्त हावापानी भएकाले जिल्लाका केही उत्पादक क्षेत्र समेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना सञ्चालनमा ल्याइएको हो। जिल्लाका पुतलीबजारका ८ वटा वडा, भिरकोटको ६ वटा वडा, वालिङको १ र अर्जुनचौपारी गाउँपालिकाको २ वटा वडामा गरी कार्यक्रम सञ्चालनमा छ।

जिल्लालाई विशेष गरी सुन्तलाबाटै समृद्घ बनाउने लक्ष्यसहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन घोषणा गरिएको हो। २०७३÷०७४ सालमा जोन कार्यान्वयन एकाइ घोषणा गरे पनि पछिल्लो वर्ष २०७५÷०७६ मा पुनः सुपरजोन घोषणा भइ सुन्तलाका गतिविधि अघि बढाइएको हो।

सुन्तला सुपरजोनअन्तर्गतका क्षेत्रबाट गत वर्ष २६ करोडको सुन्तला उत्पादन भएको बताइएको छ। सुपरजोनअन्तर्गत गत वर्ष १३ सय ५० हेक्टरमा सुन्तला खेती गरिएको थियो भने यस वर्ष १ सय ५० हेक्टरमा सुन्तलाका बिरुवा रोप्ने काम भएको छ।

एक सय ७१ समूह, सहकारी र उद्यमी गरी ३ हजार ५ सय सुन्तला उत्पादक किसान सुपरजोनमा आवद्घ छन्। यहाँका सुन्तला किसानले न्यूनतम ३ लाखदेखि २२ लाख रुपैयाँसम्म बर्सेनि सुन्तलाबाट आम्दानी गर्ने गरेका छन्। प्रतिहेक्टरमा ३ सय बिरुवा रोप्न सकिन्छ।

यसैगरी, सुन्तला सुपरजोन परियोजनाबाहेक पनि स्याङ्जाका प्रायः गाउँपालिकामा सुन्तला खेतीको उत्पादन राम्रो हुन्छ। गत वर्ष जिल्लाभरबाट ३८ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.