नेपालमा कोभिड जोखिम उच्च
सुरुमा हल्का रूपमा लिइएको कोभिड- १९ को प्रभाव मुलुकभित्र विस्तारै बढिरहेको छ। पछिल्लो तथ्यांकअनुसार यसको संक्रमणबाट ३४ जनाको मृत्यु भइसकेको छ। १६ हजारमा संक्रमण फैलिएको छ। संक्रमितको संख्या हरेक दिन बढिरहेको छ। तर, यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा राज्यले प्रभावकारी कदम चाल्न सकेको छैन। कोभिड नियन्त्रण र संक्रमितको व्यवस्थापनमा देखिएको सरकारी अव्यवस्था र भद्रगोल सतहमा आएको छ। क्वारेन्टाइन जात्राजस्ता भीडमय छन्।
त्यहाँ झन् असुरक्षा र असुविधा भएका कारण क्वारेन्टाइन छाडेर भाग्नेको संख्या बढ्दो छ। कतिपय ठाउँमा संक्रमितलाई परीक्षण नै नगरी घर पठाउन थालिएको छ। यस्ता मामलामा सरकारले प्रभावकारी काम गर्न सकेको छैन। धेरै ठाउँमा स्थानीय वासिन्दाको विरोधपछि मात्र बिरामीको परीक्षण गर्ने गरिएको छ। कोरोना फैलाउन यस्तै कमजोरीले ठूलो भूमिका निर्वाह गरेको छ।
हालसम्म २ लाख ५० हजारभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। सबैलाई थाहा छ, कोरोनाबाट बँच्न हामीसँग सुरक्षा कवच छैन। तर, छैन भन्दैमा पछि हट्नु हुँदैन। कोरोनासँग हामी कसरी लड्यौं, हाम्रो भूमिका कस्तो रह्यो भन्ने विषयमा समीक्षा होला, तर तत्काल रोकथामतिर लाग्नुपर्छ। यसमा राज्यसंयन्त्रले विशेष चासो दिनुपर्छ। कोभिड संक्रमण देखिएमा उपचार गर्ने अन्तिम थलो अस्पताल हो। विश्वभर नै एकैपटक लडिएको यस युद्धलाई परास्त गर्ने अन्तिम आधार स्वास्थ्य संस्था हुन्।
त्यहाँ कार्यरत स्वास्थ्यकर्मी भरोसाका केन्द्र हुन्। तर, बिरामीको उपचारभन्दा अस्पतालको अव्यवस्था र स्वास्थ्यकर्मीकै सुरक्षा चिन्ता बढिरहेको छ। खासगरी स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा कवचको स्तर एवं सहज उपलब्धतामा राज्यले ध्यान दिनुपर्छ। स्वास्थ्यकर्मीले नै आफूलाई सुरक्षित महसुस गर्न सकेनन् भने संक्रमितको उपचारमा समस्या आउन सक्छ। स्वाभाविक रूपमा उनीहरू अग्रमोर्चामा काम गर्नुपर्छ। उनीहरूको सुरक्षाको मात्र होइन, काम गर्ने वातावरण सहज गराउनेतर्फ पनि राज्य गम्भीर हुनुपर्छ। उनीहरूको सेवासुविधामा पनि राज्यले कुनै कसर बाँकी राख्नु हँुदैन।
अर्कातिर आइसोलेसनमा बिरामी राखिएका अस्पताललाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुपर्छ। सरकारी निर्देशिकाले पनि आइसोलेसनमा राखिएका बिरामीको शौचालय फरक–फरक हुनुपर्छ भन्छ। तर, यस्तो सुविधा भएका अस्पताल भेट्टाउनै मुस्किल पर्छ। एउटै शौचालय प्रयोग गर्नुपरेमा प्रयोग गरिसकेपछि पूर्ण सफाइ गर्नुपर्छ तर अभ्यासमा त्यस्तो गरेको देखिँदैन। त्यसैगरी बिरामीलाई मनोपरामर्श सेवा दिनुपर्छ। कुनै बिरामीको मृत्यु भएमा शव व्यवस्थापनमा उच्च सतर्कता अपनाउनुपर्छ।
अहिलेसम्म कोभिडबाट निधन भएका व्यक्तिको अन्तिम संस्कार विवादमा पर्दै आएको छ। जोखिम हुन्छ भने गाउँआसपास शवदाह गर्नु हुँदैन। जोखिम छैन भने स्थानीय वासिन्दालाई बुझिने गरी राजी गराउनुपर्छ। सर्वसाधारणको भावनामा चोट पुग्ने गरी राज्यले पेल्नु हुँदैन। यस विषयमा स्थानीयले पनि सहयोग गर्नुपर्छ। किनकि यो महामारी कुनै एक व्यक्तिले निम्त्याएको होइन। राज्य र नागरिक मिलेर लडे मात्र कोभिड जित्न सकिन्छ।
अहिलेको मुख्य चुनौती भनेकै व्यक्तिबाट व्यक्तिमा संक्रमण सर्नबाट कसरी जोगाउने भन्ने हो। क्वारेन्टाइन र आइसोलेसनमा बस्ने÷राखिएकाहरूमध्ये अधिकांश पूर्ण अनुशासनपूर्वक रहेका छैनन्। त्यसले जोखिम बढाएको छ र कोभिडले अझै उग्ररुप लिने देखिन्छ। सरकारले कोरोनाको त्रास नरहेको भन्ने अनुमान गरेको उपत्यकामा समेत संक्रमित दैनिक बढिरहेका छन्। यसले त्रास थपिरहेको छ। स्वाब संकलन समुदायमा पुर्याउन सकिएको छैन।
क्वारेन्टाइनमा रहेकाको मात्र स्वाब लिने गरिएको छ। यसको दायरा फराकिलो बनाइनुपर्छ। चार महिनासम्म लकडाउन गर्दासमेत नियन्त्रण गर्न कठिन भइरहेको अवस्थामा राज्यको अभियान प्रभावकारी भएन भने थप क्षति पुग्न सक्छ। कोभिड रोकथामका लागि राज्यले चालेको कदमको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ। अन्यथा प्रकृतिसँगको यो लडाइँमा विजय हासिल गर्न कठिन हुनेछ।