बेलायतको एक अन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा नेपाली निर्वाचित
बेलायत : नेपालीहरूले विदेशमा पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउने क्रम बढ्दो छ। विदेशमा व्यवसाय, अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा नेपाली नेतृत्व तहमा पनि स्थापित भइरहेका छन्। यसै सिलसिलामा सोमबार भएको बेजिंगस्टक मल्टिकल्चरल फोरमको ट्रष्टीहरूको बैठकले शिवजी श्रेष्ठलाई आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित गरेको छ।
यसअघि लामो समय भारतीय र क्यारेबियन नेतृत्वको बाहुल्य रहेको यस फोरममा अफ्रिकन मुलुक नाइजेरियन मुलका अध्यक्षलाई विस्थापित गर्दै पहिलो पटक नेपाली सो स्थानमा निर्वाचित भएका हुन् । यस फोरममा एसिया, अफ्रिका, क्यारेबियन, युरोप लगायतका १९ राष्ट्रबाट आएका आप्रवासीको २७ वटा संगठन सदस्य रहेको छ। बेजिंगस्टक डिन बरो काउन्सिलसमेतको आर्थिक सहयोगमा संचालित यस फोरमको सन् १७७३ मा बनेको २४७ वर्ष पुरानो आफ्नै भवन रहेको छ। करिब २ लाख जनसंख्यामध्ये ९५ प्रतिशत ब्रिटिश गोराहरूको बाहुल्य रहेको यस क्षेत्रमा ५ प्रतिशत ब्लाक अफ्रिकन, एसियन आप्रवासीहरूको बसोबास छ।
अफ्रिकन, क्यारेबियन, एसियन तथा अन्य युरोपियन मुलुकबाट आएका विभिन्न अल्पसंख्यक समुदायलाई सरकारी स्तरमै एउटै छातामुनि संगठित गर्दै उनीहरूको भाषा, धर्म संस्कृति, सामाजिक तथा शैक्षिक गतिविधि संचालन गर्ने जिम्मेवारी रहेको यस संस्थाले कल्चरल डाइभर्सिटी, स्थानीय सरकारी निकाय हरूसँग नेटवर्किंग गर्दै उनीहरूको जल्दोबल्दो समस्यालाई सम्बोधन गर्छ। स्थानीय मेयरको प्रत्यक्ष संलग्नता रहने यस संस्थाले प्रत्येक वर्ष संसारभरबाट आएर यस भेगमा बसोबास गर्ने सम्पूर्ण देश र समुदायको प्रतिनिधित्व रहने गरी वर्ल्ड पार्टी आयोजना गर्दछ। जसमा एकैपटक १० हजारभन्दा बढी व्यक्तिको सहभागितामा विभिन्न मुलुकका झाकी र सांकृतिक झलक एवम् परिकारको स्वाद लिन पाइन्छ।
यसरी पहिलोपटक नेपाली समुदायका शिवजी श्रेष्ठअन्तर्राष्ट्रिय फोरमको अध्यक्षमा निर्वाचित भएकोमा स्थानीय नेपालीको संस्था बेजिंगस्टक नेपलिज कम्युनिटीले खुशी व्यक्त गरेको छ। सो संस्थाका अध्यक्ष ओम गुरुङ तथा महासचिव नवराज राइले आफ्नो संस्थाका सल्लाहकार नै सो अन्तर्राष्ट्रिय फोरमको अध्यक्ष निर्वाचित भएकोमा गौरव लागेको भन्दै संस्थाको तर्फबाट बधाइ ज्ञापन गरेका छन्। यस संस्थाको सचिव पदमा भारतीय मुलका नितिन पाटिल निर्वाचित भएका छन। त्यसै गरी एन आर एन युकेका अध्यक्ष पुनम गुरुङ्गले पनि यस्ता अन्तर्राष्ट्रिय फोरममा नेपाली नेतृत्व निर्वाचित हुनु सबै नेपालीको लागि गौरवको कुरा भएको कुरा उल्लेख गरे। नवनिर्वाचित अध्यक्ष शिवजी श्रेष्ठले संसारभरबाट आएका आप्रवासीको हक हितमा क्रियाशील रहँदै नेपालीको नाम उच्च राख्न प्रयास गर्ने बताए ।