उद्धारमा गएका फर्किएनन्
बेनी : घरछेउको खोल्सामा बाढी र माख्लाको भीरबाट पहिरो खस्न थालेपछि बिहीबार राति १ बजे प्रकाश केसी छिमेकी परदेवी पुनकहाँ पुगे। केसीकी आमा ताजिमा र साथी सविन पुन भने घरमै सुतिरहेका थिए। पहिरोसँगै धार खोलामा बाढी आउन थालेपछि बिहान ५ बजेतिर आमा र साथीलाई उद्धार गर्न गएका केसी फर्किएनन्।
‘मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो। बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौं’, परदेवीले भनिन्, ‘बिहान ५ बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर २० पाइला अगाडि नबढ्दै आएको पहिरोले कहाँ पुर्यायो पत्तै भएन।’
पहिरोमा भाग्ने क्रममा परदेवीको खुट्टामा चोट लागेको छ। उनका श्रीमानलाई पहिरोले हुत्याएर निगालोको झ्याङमा पुर्यायो र बाँचे। भागेर केही पर पुगेकी परदेवीलाई उनका छोरा प्रेम र साथी उमेशले पहिरोबाट निकाले।
धवलागिरि गाउँपालिका–६ कल्लेनीका १८ वर्षीय केसीको शव शुक्रबार दिउँसो प्रहरी र स्थानीयले भेटाए पनि निकाल्दै गर्दा पहिरो आएपछि भागाभाग भयो। प्रकाशका भाइ निकेश भने दिदीको घरमा गएकाले जोगिए। पहिरोले परदेवी र ताजिमाको घर बगाएको छ।
वरिपरि पहिरोले घेरेकाले गाउँका सबै जना एकै ठाउँमा जम्मा भएर बसेको कल्लेनीका रत्नबहादुर पुनले बताए। ‘पहिरोले गाउँबाट बाहिर जाने सबै बाटो बगाएको छ’, पुनले भने, ‘रातिदेखि निरन्तर पहिरो खसिरहेको छ। गाउँ नै लैजालाजस्तो छ। वनजति सबै बगायो।’
पहिरोले धवलागिरि गाउँपालिका मराङ र त्यससितै सिमाना जोडिएको मालिका गाउँपालिका–७ बिममा ३१ जना बेपत्ता भएका छन्। मराङमा पहिरोले पुरिएका दुई र ठाडाखानीमा बाढीले बगाएका एक जनाको शव भेटिएको डीएसपी किरणजंग कुँवरले बताए।
रघुगंगा नदीले भत्काएको राहुघाटको बेलिब्रिज । तस्बिर : सन्तोष गौतम
मराङका वडाध्यक्ष राजाराम सुवेदीले ठूलो गाउँका ६२ वर्षीय तुलबहादुर केसीको पनि शव भेटिएको बताए। उनका अनुसार भराम्चेको नामरुकमा दुई परिवारका १०, रिखामा दुई परिवारका सात, ठूलो गाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका छन्। ‘निरन्तरको भीषण वर्षा, पहिरोले बाटो बगाएको र छरिएको भूगोल भएकाले पहिरो गएको सबै ठाउँमा पुग्नै सकिएको छैन’, वडाध्यक्ष सुवेदीले भने, ‘घन्टीबाङ र कल्लेनीका बासिन्दालाई उद्धार गर्नुपर्ने भएको छ।’
घण्टीबाङका १३ परिवार पहिरोले विस्थापित भएका छन्। त्यसभन्दा मुनि रिखामा ६ घरको बसोबास थियो। दुई घर पुरिएको छ। चार घर विस्थापित भएका छन्। मालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन्। वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलिसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छन्। बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन्।
‘जताततै पहिरै पहिरो छ’, वडाध्यक्ष जुग्जालीले भने, ‘घाइतेको उद्धार, उपचार र बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न जुटेका छांै।’ नौमानेको शिव आधारभूत विद्यालय भवनमा क्षति पुगेको छ।
रघुगंगा गाउँपालिका–६ ठाडाखानीको लापु खोलाले बगाएर ५० वर्षीय नलीलाल छन्त्यालको मृत्यु भएको छ। गाईभैंसीलाई घाँस दिन घरबाट गोठमा जाने क्रममा खोलाले बगाएका छन्त्यालको शव फेला परेको प्रहरीले जनाएको छ।
मालिका–६ को दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीय गीता रोकालाई बेपत्ता बनाएको छ। खोला तर्ने क्रममा बगेकी रोकाको खोजी जारी छ।बिमको भारबाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको छ। धवलागिरि–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको छ। ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ।
पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ। ताकमकै देउबुजामा ६ घर पहिरोको जोखिममा परेका स्थानीय गोपाल आचार्यले बताए। रघुगंगा गाउँपालिका–८ दुवाडीका मनबहादुर र नीलप्रसाद छन्त्यालको घर पहिरोले लगेको छ। १० घर जोखिममा रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए।
म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी–४ सिंगा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ। मंगला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासि बाढी आएपछि फसेका थिए। प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए।
बेनी–जोमसोम सडक अवरुद्ध
रघुगंगा नदीको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए। त्यसपछि म्याग्दीका रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सीधा यातायात सम्पर्कविच्छेद भएको छ। नदी कटानको उच्च जोखिममा रहेको रघुगंगा–३ मा राहुघाटका ३० घरपरिवारलाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको छ।
म्याग्दी नदीमा आएको बाढीले भत्काएको मंगलाघाट प्रहरी बिटको भवन । सन्तोष गौतम
गलेश्वरका दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिला गर्दा त्यसको असर बेलिब्रिजमा परेको बताए। बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ। तीन वर्षअघि सुरु भएको पक्की पुलका दुईतर्फ पिलर मात्र ठडाएको छ।
मालिका र धवलागिरि गाउँपालिकाको सिमाना दाङ खोलाको अस्थायी पुल पनि बाढीले बगाएको छ। पुल बगाएपछि धवलागिरि गाउँपालिका सिधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको प्रहरी बिटको भवन म्याग्दी नदीको कटानले भत्किएको छ। नदी किनारमा लगाइएको पर्खाल कटान भएपछि भवनको एउटा कोठा भत्किएको हो। चौकीका सामान बेनी बजारस्थित जिल्ला प्रहरी कार्यालयमा सारिएको छ।
सुरक्षाकर्मी घटनास्थल पुग्न ढिला
पहिरोग्रस्त क्षेत्रमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञाननाथ ढकालले बताए। ‘घाइतेहरूको उद्धार र बेपत्ताको खोजीका लागि सेनाको हेलिकप्टरबाट थप सुरक्षाकर्मी घटनास्थल पठाएका छौं’, सीडीओ ढकालले भने, ‘हिँडेर पुग्न ढिला हुने भएकाले हेलिकप्टर मगाएका हांै।’ तर, हेलिकप्टर अवतरण गर्न नसकेर त्यत्तिकै फर्किएको जनाइएको छ।
पहिरोले क्षति गरेको खबर बिहानै आए पनि दिउँसो मात्र सबै ठाउँमा प्रहरी पुगेका थिए। सुरक्षाकर्मी लिएर दिउँसो ३ बजे पोखराबाट सेनाको हेलिकप्टर घटनास्थलतर्फ गएको थियो। वर्षा भइरहेको र ठाउँ–ठाउँमा पहिरोले सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई तत्कालै घटनास्थल पुग्न कठिनाइ भएको डीएसपी कुँवरले बताए। प्रहरी टोली घटनास्थल पुगेर बेपत्ताको पहिचान, खोजी र उद्धारको काममा जुटेको उनको भनाइ छ।
बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगंगा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह यो वर्षमा हालसम्मकै माथि पुगेको थियो। भू तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित सडक निर्माणले पहिरोको जोखिम बढेको बताए।
‘म्याग्दीको भू बनोट एकदमै कमजोर छ। पछिल्लो समय सडक खन्न डोजर प्रयोग गर्दा जमिन झनै जोखिमयुक्त भएको छ’, मि श्रले भने, ‘निश्चित ठाउँमा ठूलो वर्षा हुँदा म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरो र तटीय क्षेत्रमा कटानको जोखिम हुन्छ।’
अधिकांश भिरालो भूगोल भएको म्याग्दीमा वातावरणीय असरको ख्यालै नगरी जथाभावी सडक खन्ने क्रमसँगै कटान र पहिरोको जोखिम बढेको छ। जिल्लाका १ हजारभन्दा बढी घर पहिरोको जोखिममा छन्।
धवलागिरि–२ लमसुङ, खोरिया, मालिकाको ओखरबोट, मंगलाको अर्मन, रघुगंगाको कुइनेमंगले, बेनीका पात्लेखेत र तोराखेत पहिरोको उच्च जोखिमयुक्त ठाउँ हुन्। मराङ र बिमको पहिरो नयाँ हो। रिखाबाहेकका ठाउँमा गत हिउँदमा सडक निर्माण र विस्तारको काम भएको थियो।
म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीमा बाढीको आयतन बढ्ने तथा थुनिने गर्दा किनारमा रहेको सदरमुकाम बेनी, गलेश्वर, पोखरेबगर, तिप्ल्याङ, तातोपानी, बाबियाचौर, दरबाङ बजार कटानको जोखिममा छन्। बेनी बजारस्थित म्याग्दी र कालीगण्डकी नदी किनारमा रुपाताल एकीकृत विकास परियोजनाले पक्की, मेसिनरी र ग्याबियन पर्खाल लगाएपछि जोखिम घटेको छ। अन्य बस्ती संरक्षणका लागि दिगो र प्रभावकारी काम हुन सकेको छैन।
हिउँदमा करोडौ खर्चेर नदी किनारमा निर्माण गरिने तटबन्ध बर्खे भेलसँगै बग्ने गरेको छ। हिउँदमा बनाउने र बर्खामा बाढीले बगाउने गर्दा तटीय क्षेत्रका बासिन्दा असुरक्षित महसुस गरेका छन्।