स्याङ्जामा तीन जनाले कोरोना जिते, तीन संक्रमित थपिए
स्याङ्जा : स्याङ्जामा शनिवार ३ जनाले कोरोना जिते भने ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत ३ जनाले कोरोना जितेका हुन्। असार ८ गते र १३ गतेदेखि आइसोलेसनमा राखिएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले घर पठाएको हो।
कोरोना जितेर घर जानेमा अर्जुनचौपारी गाउँपालिकाका २ जना र गल्याङ नगरपालिकाका एक जना हुन। उनीहरु क्रमश : ३१, २० र २६ वर्षका पुरुष हुन्। यसैगरी, वालिङ र चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका उनीहरुका पिसिआर टेष्ट शनिवार पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए।
क्षयरोग केन्द्र पोखरामा गरीएको परीक्षणमा वालिङका २० वर्षीय, चापाकोटका २९ वर्षीय र कालीगण्डकीका १९ वर्षीय पुरुष हुन्। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ। ती मध्ये २ जनाको मृत्यु भएको छ भने १ सय ३१ ले कोरोना जितेर घर फर्केका छन्। बाँकी संक्रमित भीरकोटस्थित कालिका अस्पतालमा, वालिङस्थित कुँवर समाज भवनमा, गल्याङस्थित गल्याङ अस्पताल र पुतलीबजार स्थित करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत छन्।