पहिरोले दुई सय परिवार विस्थापित
जाजरकोट : पहिरोले गाउँ नै बगाउन थालेपछि जाजरकोटको बारेकोटमा दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्। गाउँ नै पहिरोमा बग्न थालेपछि एक हजारजना विस्थापित भएका हुन्।
बारेकोट गाउँपालिका १ कोट्लीका १२ परिवारका ४०, वडा नम्बर ४ जिरीका ३२ परिवारका एक सय २०, गोठगाउँका आठ घरका ४५ र वडा नम्बर ५ का कालाखोली, तोल्खान, भैलोखानाका एक सय ५० घरका नौ सयजना गरेर दुई सय दुई घरका एक हजार एक सय पाँच मानिस विस्थापित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। बारेकोटमा बिहीबार राति गएको पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ। बेपत्ताको खोजीमै सबै केन्द्रित भएको र सञ्चार सम्पर्क विच्छेद भएका कारण बालीनाली र पशुचौपायामा भएको क्षतिको विवरण आउन नसकेको उनले बताए। पानी निरन्तर परिरहेकाले जमिन भासिने र पहिरो जाने क्रम नरोकिँदा बारेकोटका जिरी, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा लगायतका गाउँ नै बग्ने खतरा बढेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहको भनाइ छ।
पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त र सार्वजनिक चउरमा पाल टाँगेर बसेका छन्। धेरैजसो विस्थापित भगवती आधारभूत विद्यालय रुमसिल, हिमालय आधारभूत विद्यालय गोठगाउँ, गोरख आधारभूत विद्यालय जिरी लगायतका विद्यालयमा आ श्रय लिएर बसेका छन्। विस्थापित परिवारलाई खान र बस्न निकै समस्या छ। विस्थापितलाई शौचालय र खानेपानीकोे समेत समस्या परिरहेको छ। ठूलो संख्यामा मानिस विस्थापित भएकाले व्यवस्थापनमा कठिनाई भएको शाहले बताए। अत्याधिक वर्षातले ठाउँठाउँमा पहिरो गएको, गाउँ नै भासिएको र ठाउँठाउँ चिरा परेपछि घर छोड्न बाध्य भएको बारेकोट ५ का लिलबहादुर शाहीले बताए। उनले जतिखेर पनि पहिरो जान सक्ने त्रासले गाउँले चिन्तित भएको बताए। विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सार्नु पर्ने उनको माग छ।
प्रमुख जिल्ला अधिकारी संयोजकत्वको विपद् व्यवस्थापन समितिले बारेकोटमा विस्थापित परिवारको राहत, उद्धार र व्यवस्थापनमा आवश्यक पहल नगरेको स्थानीयको गुनासो छ। विस्थापितलाई खान र बस्न निकै समस्या छ। सुत्केरी तथा गर्भवती महिला, बालबालिका र जेष्ठ नागरिक निकै समस्यामा छन्। धेरै विद्यालयका छाना चुहिने भएकाले सुत्न नसकेर रातभर जाग्राम बस्ने गरेको बारेकोट ५ का नरबहादुर रोकायले बताए। ‘पहिरोको त्रासले विद्यालयमा आएर बसेकालाई छाक टार्न र बस्नसमेत निकै समस्या भएको छ। धेरै परिवारको विचल्ली भएको छ’, उनले भने। अहिलेसम्म कसैले पनि विस्थापित परिवारका समस्याबारे कसैले चासो नदिएको उनको भनाइ छ।
बाढीपहिरोले बारेकोटका विभिन्न गाउँ जोड्ने बाटोघाटो सबै बन्द भएका छन्। सदरमुकाम खलंगा आउने बाटो पनि अवरुद्ध छ भने सञ्चार सम्पर्क विच्छेद छ। जसका कारण बारेकोट पहिरोमा राहत, उद्धार र विस्थापित परिवारको व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय हुन सकेको छैन।