स्याङजा पहिरो : मृतकको संख्या ३, एक बेपत्ताको खोजी हुँदै
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाँउपालिका–४ बिर्घास्थित खहरेमा गएको पहिरोमा पुरिएर ज्यान जानेको संख्या ३ पुगेको छ । मृत्यु हुनेमा साविक बिर्घा गाविसका पूर्वअध्यक्ष ७० वर्षीय इमानसिंह राना, ६० वर्षका जिमानसिंह थापा, वर्ष ५० टिकाबहादुर थापा हुन् ।
पूर्वअध्यक्ष रानाको घटनास्थलमैै मृत्युभएको थियो भने बेपत्ता २ जनाको मंगलबार साँझ मात्र शव भेटिएको थियो । बेपत्ता ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको बुधबार बिहानदेखि खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
पहिरामा परी घाइते हुनेमा ६८ वर्षीय होमनाथ पाण्डे (किसान) र ५५ वर्षीय वीरबहादुर रानाको पाल्पा स्थित मिसन हस्पिटलमा उपचार भइरहेको छ । घाइते उनीहरुको बिर्घा प्राथमिक स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरी उपरीक्षक बिमलराज कणेलले जानकारी दिए । नेपाली सेना, शसस्त्र तथा जनपद प्रहरी लगायत स्थानीयबासीले एक्जाभेटरको प्रयोग गरी खोजी गरिरहेका छन् ।
पहिराका कारण जोखिममा रहेका ४ घरका २३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । स्थानीय वीरबहादुर राना, देव बहादुर थापा, जिमानसिंह राना र तिलीसरा थापाको परिवार विस्थापित भएका हुन् ।
खहरेले धार परिवर्तन गर्दा उनीहरुको घर जोखिममा परेको बताइएको छ । बस्तीमाथि आएको पहिरो अनुगमन तथा खानेपानी बनाउनका लागि पुगेका उनीहरु ६ जना माथिबाट खसेको पहिरामा परेका थिए ।