पशु किसानलाई गल्याङको एक करोड अनुदान
स्याङ्जा : गल्याङ नगरपालिकाले नगरभित्रका पशु किसानलाई १ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । नगरपालिकाले दुधालु गाईभैंसी खरिदसहित दूध अनुदानतर्फ ७५ लाख र बाख्रा, बंगुर, कुखुरा अनुदान तथा यान्त्रिकरणतर्फ २५ लाख रकम खर्च गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट अनुरुप कृषि र पशु क्षेत्रमा एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए । उनले भने, 'किसानले उत्पादन गरेनन् भने हामी भोकै पर्नेछौं, किसानका उत्पादनका आधारमा अनुदान दिनेगरी विशेष योजना बनाएका हौं ।'
गल्याङका दूध बिक्री गर्ने किसानका लागि मात्र यो सुविधा दिइएको हो । जुन किसानले सहकारीमा दुध बिक्री गर्छन्, सहकारीले फ्याट र गुलियोपनको आधारमा दु:खको मुल्य निर्धारण गर्छ । सोही दूधमा नगरपालिकाले प्रति लिटर १५ रुपैयाँ थप गरेर दिने गरेको हो ।
पशुधन विमा कार्यक्रममा १० लाख, क्रण अनुदानमा १२ लाख ८४ हजार, बंगुरपालनतर्फ १० लाख, बाख्रापालनतर्फ १५ लाख र कुखुरा फर्मका लागि १ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
यसैगरी, दूध संकलन तथा क्षमता विस्तारमा दुईवटा फर्मलाई २ लाख, घाँस विकास कार्यक्रम ३ लाख, थुनेलो नियन्त्रणमा ६७ हजार र कृतिम गर्भाधान सेवाका लागि २ लाख, दुधालु फार्म सुधारमा १३ लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ । नगरले यान्त्रिकरण कार्यक्रम अन्र्तगत ७० प्रतिशत अनुदानमा ११ लाख वितरण गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए ।