पहिरोमा परिवार गुमाएर बाँचेकाहरू
जाजरकोट : बारेकोट ४ सार्कीटोलका १० वर्षीय लोकेन्द्र सार्की घर भएको ठाउँमा पुग्दा घरको नामोनिसान थिएन। आफूलाई माया गर्ने आमा र दिदीहरु पनि थिएनन्। प्यारो भाइ थिएन। घर भएको ठाँउमा ठूलो पहिरो गएको थियो। मानिस पहिरोले पुरिएको ठाँउमा खन्दै थिए। बुवा टोलाइरहेका थिए।
उनी इन्तु न चिन्तु भए। ‘आमा खोइ बुवा ? दिदीहरु र भाइ खै। हाम्रो घर खोइ?’, लोकेन्द्रले बुवा तुले सार्कीको अनुहारतिर हेरेर सोधे। बाबु तुलेले जवाफ फर्काउन सकेनन्। आँशु खसाली रहे। तुलेको गला अवरुद्ध भयो। बोल्नै सकेनन्। लोकेन्द्र लेकमा रहेको गोठमा साथीसँगै गएर बाँचेका थिए। घटना भएको दुई दिनपछि उनी घर पुग्दा घर र आफूलाई माया गर्ने मान्छे थिएनन्। तुले भन्छन्, ‘हामी गरिब छौं। यही पहरोमा बस्यौं। अन्त जाने ठाँउ छैन। जोखिमयुक्त ठाँउमा बसेकै कारण आज परिवार नै गुमाउनु पर्यो।’
२५ असार बिहीबारको त्यो कालो रात। सबै मस्त निन्द्रामा थिए। बाबु र छोरा त्यस दिन घर बाहिर भएकाले बाँच्न सफल भए । तर लोकेन्द्रकी आमा, दुई दिदी र एक भाइ निन्द्राबाट बिउँझन नपाइ पहिरोले उनीहरुलाई माटोमा मिलायो। तुलकी ३८ वर्षीया श्रीमति कुलु सार्की, १४ वर्षीया छोरी तिर्खा सार्की, ११ वर्षीया छोरी कमला सार्की र ६ वर्षका छोरा सुभास सार्कीको मृत्यु भएको छ।
त्यसदिन तुले सार्की छिमेकी घरमा बिरामीसँग बस्न गएकाले बाँचे। छोरा लोकेन्द्र साथीसँग लेकमा रहेको गोठमा बस्न गएको हुँदा बाँच्न सफल भएका छन्। घरमा फर्किंदा घरको नामोनिसान थिएन। बाबु परिवारको किरिया बसेका छन्। छोरा लोकेन्द्र आमा, दिदीहरु र भाइको सम्झनामा टोलाइरहेका छन्। उनका आँशु अझै थामिएका छैनन्।‘भाइ, दिदी र आमा खोइ ? हाम्रो घर खोइ भनेर छोराले सोध्छ म के जवाफ दिऊँ ?’,तुलेले भने, ‘सबै गुमाएर हामी अभागी मात्र बाँचेको के काम ?’
त्यस्तै विवाहका लागि आमाबुवाले रोजेकी केटी हेर्न अर्को गाँउ जाँदैन्थे भने बारेकोट ४ सार्कीटोलका कृष्ण सार्की परिवारसँगै पहिरोमा पुरिने सम्भावना थियो। उनी केटी हेर्न सोही गाँउपालिका ७ सुवाकोट गएकाले बाँचे। उनले बुवा, भाइ र बहिनी गुमाएका छन्।
पहिरोमा बेपत्ता आमा अझै भेटिएकी छैनन् । परिवारै गुमाएर आफू मात्र बाँचेको केही काम नभएको भन्दै उनले भावविहल भएर भने, ‘आमाबुवाले हामीले तेरो लागि केटी खोजिदिएका छौं। अब बिहे गर्नुपर्छ। जा हेरेर आइज। मनचित्त लागे। छिटै बिहे गराइदिउला भन्नुभएको थियो। उहाँहरुकै आग्रह अनुसार असार २५ गते केटी हेर्न गएको थिएँ। भोलिपल्ट शुक्रबार बिहान फर्किएर घर नपुग्दै पहिरोले घरसहित सबैलाई एकै चिहान बनाएको खवर सुनें।' घटनाको बारेमा सुन्दा शरीरमा करेन्ट लागे जस्तो भएको बताउँदै उनले भने, 'घर पुग्दा मानिसस जम्मा भएका थिए। घरको नामोनिसान थिएन। त्यही भुँइमा बेहोस भएर लडेछु।’
२५ गते मध्यरातमा गएको पहिरोमा परि कृष्णका बुवा गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की र १३ वर्षीया लक्ष्मी सार्कीको ज्यान गएको छ। आमा पुष्पा सार्की बेपत्ता छन्। उनी सबै परिवारको काजकिरियामा छन्। घर बगाएपछि किरियासमेत स्थानीय एक विद्यालयको एउटा कोठामा गरिरहेका छन्। भन्छन्, ‘परिवार सबै मरेर म मात्र बाँचेर के काम, बरु कालले म अभागीलाई पनि सँगै लिएको भए हुन्थ्यो।’ छोराको बिहे गरेर बुहारी भित्र्याउने बुवाआमाको सपना पहिरोमै विलिन भएको छ।
दुई परिवारका बेपत्तासहित ८ जना र कलु सार्कीको घरमा पाहुना आएका कुशे ९ चौराटाका चार जना युवायुवतीको पनि त्यही पहिरोमा पुरिएर ज्यान गएको छ। दिदीको घरमा काम सघाउन र भेटघाटका लागि आएका उनीहरु सदाका लागि माटोमा विलय भए। दिदीको घर आएका कुशे ९ चौराटाका २० वर्षीय डिल्ली सार्की, १८ वर्षीय विरेन्द्र सार्की, १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्कीको पहिरोमा पुरिएर ज्यान गएको हो। उनीहरु सबै अविवाहित हुन्। डिल्ली र विरेन्द्रको यसै वर्ष विहे गर्ने टुङ्गो लागेको थियो।
त्यस्तै पहिरोमा परी पुष्पा सार्की अझै बेपत्ता छन्। सोही दिन धुमा खोलामा आएको बाढीले बगाउँदा बारेकोट ६ का २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका छन्। बारेकोटमा गएको बाढी पहिरोले धेरै मानिस विस्थापित भएका छन्। गाँउपालिकाका विभिन्न वडाका विभिन्न बस्तीमा एक साता यता मात्र एक हजार ५५ जना विस्थापित भएर स्थानीय विद्यालय, चौर तथा गोठमा बसिरहेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । विस्थापित परिवारसँग खाने अन्न नहुँदा भोकभोकै पर्न थालेका छन्। उनीहरु राहतको पर्खाइमा छन्।