एकै परिवारका ४ सहित ९ जनामा कोरोना संक्रमण
उदयपुर : उदयपुरमा एकै परिवारका चारसहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट थप ९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या ८५ जना पुगेको छ । त्यसमध्ये २१ जना महिला र ६४ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।
त्यसैगरी हालसम्म ६४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनका अनुसार पछिल्लो पटक गरिएको परीक्षणमा वेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिएको पाइएको छ ।
तीन दिनअघि सोही परिवारका जेष्ठ सदस्य ७३ वर्षीय पुरुषमा कोरोना देखिएपछि अन्य सदस्यको गरिएको परीक्षणबाट २७ वर्षीया महिला, ४० वर्षीय पुरुष र दुई वर्षीया एक बालिकामा कोरोना पोजिटिभ देखिएको उनले बताए ।
सामान्य बिरामी परेका वृद्धको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा कोरोना देखिएको हो। साउन ३ गते घरपरिवार र छरछिमेकीका केही व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । उनका परिवारसँगै अर्का एक ७० वर्षीय छिमेकी महिलासमेत सङ्क्रमित भएकी छिन् ।
यसबाहेक अन्य संक्रमितमा भारतबाट आएका तर क्वारेन्टाइनमा बसेका छन् । १८,२८,३० र ४० वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैजना भारतबाट हालै घर फर्किएका र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा ल्याएर राखेका व्यक्तिहरु भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।
संक्रमण देखिए पछि स्थानीय प्रशासन र बेलका नपाले अनिश्चितकालका लागि नगरपालिकको रामपुर बजार बन्द गराउनुको साथै बजार एरिया सिल गरिएको बताए । प्रजिअ पाण्डेले सङ्क्रमित व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको छ ।