जोगिऔं, जोगाऔं
कोरोना पूर्णरूपमा नियन्त्रणमा नआउँदै सरकारले जनजीवन सहज बनाउन मंगलबार रातीदेखि लकडाउन अन्त्य घोषणा गर्यो। लकडाउन हट्न पाएको छैन, स्वास्थ्य सतर्कतामा हेलचेक्र्याईं हुन थालेका छ। लकडाउन अन्त्य नै कोरोना अन्त्य भएजस्तो गरी सर्वसाधारण प्रस्तुत हुन थालेका छन्। सरकारले लकडाउन अन्त्य घोषणा गरेकै भोलिपल्ट सहरबजारमा चहलपहल बढेको छ। सार्वजनिक यातायातका साधन भरिभराउ देखिन थालेका छन्। सडकमा सवारी जाम सुरु भइसकेको छ। मानिसहरू पुरानै लयमा फर्कने कोशिसमा छन्। यस्तो कार्यले कुनै पनि बेला महाव्याधिले विकराल रूप लिन सक्छ।
झण्डै चार महिना लकडाउन हुँदा सबै क्षेत्रमा आर्थिक संकट देखा परेको छ। लाखौंले रोजगारी गुमाएका छन्। गरिखाने बाटा प्रभावित छन्। निम्न र मध्यमवर्गको पारिवारिक अवस्था खल्बलिएको छ। घरभित्रै बसेका कारण धेरैको चुलो बल्ने अवस्था छैन। नियमित काममा फर्किनैपर्ने बाध्यता छन्। यस्तोमा स्वास्थ्य नियमको पालना गरेर जोगिनुबाहेक अर्को विकल्प छैन। साबुन पानीले मिचिमिची हात धुने, मास्क लगाउने, हात नमिलाउने, सकभर भिडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, सार्वजनिक सवारी साधन प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ। आफूलाई कोरोनाको लक्षण देखिनेबित्तिकै पारिवारिक सदस्यबाट टाढा राख्ने, होम क्वारेन्टाइनमा बस्ने र स्वास्थ्य चेकजाँच गराउनुपर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल अझै कोरोनाको सम्भावित खतरामै रहेकाले जोगिनुबाहेक अर्को विकल्प हामीसँग छैन।
सरकारले भदौ १ देखि लामो दूरीका बस पनि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यसले चार महिनादेखि थुनिएर बसेका नागरिकलाई राहत त देला तर थप चुनौती पनि सिर्जना हुनेछन्। बसचालक र सहचालकलाई स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री प्रयोग गर्न लगाउने, सुरक्षाका अरू उपाय पालना गराउनेजस्ता जानकारी गराउनुपर्ने खाँचो छ। दुईचार पैसाको लोभमा जति पनि यात्रु चढाउने र भिडभाड गराउने सम्भावना उत्तिकै छ। आफू र यात्रुको स्वास्थ्यका लागि सफा र सुरक्षित ठाउँमा मात्र खाजा, नास्ता खुवाउनुपर्ने जस्ता जानकारी चालकलाई गराउनुपर्छ। लामो दूरीमा यात्रा गर्दा आफैंले पनि स्यानेटाइजर बोक्ने, जहीं पायो त्यहीं नखाने, दुईचारवटा मास्क यात्रुले बोक्नुपर्छ। काठमाडौं उपत्यकामै सञ्चालनमा आएका सार्वजनिक सवारीले समेत सामाजिक दूरी पालना गरेका छैनन्। दुईचार पैसा आम्दानी हुने नाममा यात्रु कोचेर राख्ने, सामाजिक दूरीको प्र्रवाह नगर्ने जस्ता हेलचेत्र्mयाईं सार्वजनिक यातायातमा देखा पर्न थालेका छन्। प्रहरी प्रशासनलगायत राज्यका नियमनकारी निकायले अनुगमन कार्य तीव्र बनाउनुपर्छ।
क्याफे, रेस्टुराँ, सार्वजनिक कार्यालयमा भिडभाड बढ्न थालेको छ। यस्ता सार्वजनिक स्थानमा सामाजिक दूरी र सुरक्षाका उपाय अवलम्बन गर्न लगाउन र व्यक्ति स्वंयले पनि आफ्नो सुरक्षामा ध्यान दिन जरुरी छ। विद्यालयहरूले भर्ना र पठनपाठनको तयारी गरिसकेका छन्। कलिला बालबालिकाको स्वास्थ्यमा अभिभावकले ध्यान दिन जरुरी छ। आन्तरिकलगायत बाह्य हवाई सेवा पुनः सञ्चालन गर्ने तयारीमा सरकार जुटेको छ। विदेशबाट आउनेलाई होम क्वारेन्टाइनमा राख्ने र राम्रोसँग चेकजाँच गर्नुपर्छ। कोरोनाबाट बिरामीको संख्या मात्र घटेको हो तर रोग नियन्त्रण भइसकेको छैन। स्वास्थ्य परीक्षण तीव्र पार्ने हो भने बिरामीको संख्या बढ्न सक्छ। बाहिर हिँड्दा सतर्कता नअपनाउने हो भने व्यक्ति हुँदै कोरोना समाजमा फैलिने खतरा छ। राज्यका नियमनकारी निकायको अनुगमन र व्यक्ति स्वयंको सतर्कताले मात्र कोरोनाबाट जोगिन सकिन्छ। अन्यथा चार महिनासम्मको लकडाउनको कुनै अर्थ रहने छैन। राज्यले हालसम्म गरेको अर्बाैंको खर्च र प्रयत्न बर्खाको भेलसरह खेर जानेछ।