दलीय संरचनाको बहस

दलीय संरचनाको बहस

राजनीतिलाई सेवा नभई पेसा बनाएका मानिस नै प्रभावशाली भएकाले देशले निकास पाउन नसकेको हो


राजनीति र विकासबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। नेतृत्वको परीक्षण पनि राजनीति र विकासबाटै हुन्छ। कुनै पनि देशको विकासको मुख्य कारण राजनीति नै हो। राजनीतिसँग राजनीतिज्ञ जोडिएको हुन्छ। विश्वमा जति पनि परिवर्तन र विकास भएका छन्, ती सबै कुशल राजनीतिज्ञकै कारण सम्भव भएको छ। असल नेता वा कुशल राजनीतिज्ञ भएका मुलुक समृद्ध भएका छन्। खराब वा विकाउ राजनीतिज्ञ भएका देश गृहयुद्धमा फसेर गरिब भएका छन्।

संसारकै उदाहरण हेर्दा यस्तो पाइन्छ। अब्राहम लिंकन, ली क्वान यु, महाथिर मोहम्मद, रोनाल्ड रेगन, मार्गरेट थ्याचरजस्ता केही राजनीतिज्ञका कारण उनीहरूले नेतृत्व गरेका मुलुक र विश्व राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनसहित विकसित भएका छन्। हिटलर, मुसोलिनी, सद्दाम हुसेन, अल असद वसिरजस्ता नेताले शासन सञ्चालनमा गम्भीर नबन्दा आफ्नो देशलाई गृहयुद्धमा मात्र फसाएनन्, विश्वलाई नै संकटतिर धकेलेका थिए र छन्। शासक देश र जनताका पक्षमा गम्भीर भएनन् भने कुनै पनि देशको परिणाम आउने यही नै हो।

नेपालको परिस्थिति भिन्न छ। पृथ्वीनारायण शाहले छरिएका राज्यलाई एकीकरण गरी सिंंगो नेपालको स्वरूपसहित राजनीतिक परिवर्तन गरे भने जंगबहादुर राणाले नेपाललाई विश्वमै चिनाए। बीपी कोइराला, गणेशमान सिंह जसले जहानिया राणाशासनबाट मुलुकलाई मुक्त गरी देशमा प्रजातन्त्र स्थापनासहित समृद्धिको मार्ग देखाउने काम गरे। उनीहरूले नै स्थापना गरेको पार्टीले बहुमत ल्याए पनि त्यो बाटो पछ्याउन सकेनन्।

आज नेपालका जति पनि प्रभावशाली नेता छन्, ती सबै विद्यार्थी राजनीतिबाट आएका हुन्। उनीहरूको बायोडाटा हेर्ने हो भने राजनीतिक जीवनमा भोगे÷गरेका कामबाहेक केही पनि पाइँदैन। बाल्यकालबाहेक जिन्दगीका सबै समय राजनीतिमा लागेका व्यक्तिको बाहुल्य भएकाले राजनीतिक दलहरूले पनि गर्व गरिरहेका छन्। नेतृत्वका लागि त्यही सबैभन्दा ठूलो ‘क्राइटेरिया’ भएको छ। जो जति कम उमेरदेखि राजनीति गर्‍यो, मूल्यांकनको मापन त्यही भएको छ।

हो, हिजो निरंकुश शासन व्यवस्था परिवर्तनका लागि त्यस्तो जनशक्ति आवश्यक थियो। त्यसैले त पटकपटकका राजनीतिक परिवर्तन सम्भव भयो। मुलुक यतिबेला जहानिया शासन, निर्दलीय पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरिसकेको छ। अब युवालाई व्यवस्था परिवर्तनको विद्रोहमा लगाउनुपर्ने आवश्यकता समाप्त भएको छ। अहिले पनि त्यही परम्परा कायम राखी हिजोको विद्रोहकालीन जमातको वर्चश्व कायम राखिएको छ कांग्रेस, नेकपाजस्ता ठूला पार्टीमा पनि। विद्रोहको नभई सेवा भावना लिएर राजनीतिमा प्रवेश गर्न चाहनेलाई निषेध नै गरिएको छ। राजनीतिमा असल नियतबाट पेसा छाडेर अथवा निवृत्त भएपछि राजनीतिमा आएकालाई चैतेको नाम दिई निरुत्साहित गरिन्छ।

दलहरूमा वर्गीय र पेसागत संगठनको संरचना हटाई संगठन हैन, व्यक्ति सदस्य हुने प्रावधान कायम गरी उनीहरूलाई सामाजिक, आर्थिक र राजनीतिक विकासमा कसरी लगाउने भन्नेबारे बहस गरी तदनुकुल रणनीति विकास गर्न जरुरी छ।

२०४६ सालको बहुदलीय प्रजातन्त्र प्राप्तिपछि पनि विद्रोहको राजनीतिक मोडेल परिवर्तन नगरी विद्यार्थी युवा, जसलाई नवनिर्माणमा लगाउनुपर्ने थियो उनीहरूलाई नै राजनीतिक दल र दलभित्रको गुटउपगुटमा लगाइयो। विद्यार्थी, मजदुर किसान, कर्मचारी, शिक्षक र वर्गीय संगठनहरू पनि राजनीतिक स्कुलिङबाट सञ्चालित भएकाले विद्रोहका लागि तयार भइरहे। परिवर्तनपश्चात् त्यो शक्तिलाई राजनीतिबाट टाढा राख्नुपर्थ्यो, दलहरूको संरचनाबाट तिनीहरूलाई हटाउनुपर्ने थियो। संसारभरको राजनीतिक परिवर्तन हेर्ने हो भने हामीले त्यही पाउँछौं।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र समाजवादीलगायत दलका प्रभावशाली मानिने पहिलो, दोस्रो र तेस्रो पिढीका नेता सबै विद्यार्थी राजनीतिबाट आएका हुन्। नेकपाका केपी ओली, माधव नेपाल, घनश्याम भुसाल र गोकर्ण विष्ट, कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेलहरूको विभिन्न परिवर्तनमा ठूलो देन छ। प्रजातन्त्र र गणतन्त्र प्राप्तिमा उनीहरूको राजनीतिक पृष्ठभूमिको पनि महत्वपूर्ण भूमिका छ। उनीहरूकै योगदानमा भएका विद्रोहको राजनीतिबाट मात्रै परिवर्तन सम्भव भएको हो।

राजनीतिक परिवर्तनपछि राष्ट्रलाई सामाजिक क्रान्ति र आर्थिक विकास गरी मुलुकलाई समृद्धितिर लैजान राजनीतिमा बौद्धिक राजनेताहरूको आवश्यकता थियो। विडम्बना, हामीसँग अहिले त्यस्ता नेता मात्र छन् जसले राजनीतिबाहेक कुनै पेसा गरेकै छैन। व्यवस्था परिवर्तनका लागि तयार गरिएको स्कुलिङबाट आएकाहरूको निरन्तरता छ। विद्यार्थी हुँदा राजनीति गरे, तरुण युवा हुँदा पनि राजनीति गरे र अहिले पनि निरन्तर राजनीतिमा छन्। जसले आफ्नो जीवनकालमा न राजनीतिलाई समाजका पक्षमा लगाउन के गर्नुपर्छ भन्नेबारे अध्ययन गरे, न व्यवसाय गरे न त कुनै रोजगारमूलक उद्योग नै गरे। उनीहरूसँग राजनीतिक विद्रोहको ज्ञानबाहेक राष्ट्र निर्माणका लागि आवश्यक ज्ञानको कमी छ। त्यस्ता नेताहरूले समृद्धिको भाषण गर्नु र आमनागरिक त्यसैमा आशावादी बन्नु सपना मात्र हो। त्यसबाट राजनीतिक परिवर्तन मात्र हुन सक्छ, जुन भइरहेको छ। जसले नागरिकका अपेक्षा पूरा हुने कुरै भएन।

बहुदलीय व्यवस्था प्राप्तिपछि संविधान बन्यो, त्यही संविधानअन्तर्गत दलीय चुनाव भयो र सबै दलले आफ्नो घोषणापत्र तयार गरी निर्वाचनमा भाग लिए। राजनीतिक परिवर्तनको संवाहक कांग्रेस अत्यधिक बहुमत ल्याई विजयी भयो। त्योभन्दा खुसीको कुरा कांग्रेस र जनतालाई के हुन सक्थ्यो ? दुर्भाग्य विद्रोहका राजनीतिबाट दीक्षित नेताहरूले मुलुकको समृद्धि र दलको जित नभई आफू सधैं राजनीतिको केन्द्रमा हुनुपर्ने मान्यताको विकास गरे। त्यसैअनुरूप कांग्रेस मध्यावधि निर्वाचनमा गयो, जसको परिणाम माओवादी जन्मे। देश गृहयुद्धतिर लाग्यो।

राजनीतिक विचलन आयो। बहुदलीय व्यवस्था रहे पनि नेताहरूमा त्यसअनुसारको दलीय आचरण भएन। जनतामा चरम असन्तुष्टि देखियो। त्यसैको फाइदा लिए तत्कालीन राजा ज्ञानेन्द्रले। उनले आफ्नो बुवाले जस्तै दलीय व्यवस्था समाप्त गरी मुलुकलाई फेरि राजतन्त्रतिर लैजाने प्रयास गरे। व्यवस्था परिवर्तनका लागि तयार पारिएका दलका कार्यकर्ता अर्को दल र दलभित्रको गुटउपगुट सिध्याउन लागिपरेका थिए उनीहरूलाई एकत्रित गरेर। जंगलमा रहेको माओवादीलाई सहरमा ल्याएर गणतन्त्रको आन्दोलन चर्काइयो। गणतन्त्र ल्याइयो।

गणतन्त्रपछि पनि त्यो विद्रोहको स्कुलिङ परिवर्तन भएन र आज नेकपाको झन्डै दुईतिहाइ सांसद, प्रदेश र स्थानीय सरकारमा आफ्नो अत्यधिक प्रभुत्व हुँदा पनि उसले राज्य सञ्चालन गर्न नसकेर फेरि देश ०१७ र ०५९ सालतिर देशलाई धकेल्दै छ। अहिले सडकमा प्रधानमन्त्री केपी ओलीको समर्थन र विरोधमा नाराबाजी गर्नुपर्ने वातावरण बनेको छ। देश सामाजिक र आर्थिक संकटमा गइरहेका बेला कार्ययोजनासहितको नेतृत्व परिवर्तनको एजेन्डा उठाउनुपर्नेमा भागबन्डाको एजेन्डाले ठाउँ पाइरहेको छ। विद्यार्थी संगठनदेखि विभिन्न पेसागत संघसंगठन पनि त्यसैमा विभाजित छन्। कोही पनि दलीय भागबन्डाभन्दा बाहिर निस्कन सकिरहेको छैन। तर तत्कालका लागि टालो हाल्ने काम भएजस्तो देखिएको छ। यो कहिले उप्किने हो भन्न सकिन्न। व्यक्तिमा शक्ति कायम राख्ने होड कायम रहेसम्म विवाद मत्थर हुने संकेत देखिँदैन।

यतिबेला इराक, अफगानिस्तान र सिरियाको स्मरण गर्नुपर्ने भएको छ। त्यहाँका नेताले आफूमा केन्द्रित शक्ति घट्न नदिने शैलीमा राज्यसत्तामा निरन्तर कब्जा जमाइराख्ने सपना देख्दा दिनप्रतिदिन त्यहाँका जनता कसरी मारिएका छन् र देश चरम गरिबीतिर गइरहेको भन्ने विचार गर्न आवश्यक छ। आज हामीले त्यसबाट पाठ सिकेर राजनीतिक परिवर्तनसँगसँगै परिवर्तनका लागि बनेका दलको संरचना बदल्न जरुरी छ। विकसित देशमा नेताहरू कसरी बन्छन् र कसरी मुलुक बदल्छन् भन्ने सिक्न जरुरी छ।

नेताले राजनीतिलाई पेसा वा उद्योग बनाएका छन्। राजनीतिलाई पेसा नभई सेवा बनाउन सके जनसमर्थन बटुल्न सकिन्छ। अमेरिका, ब्रिटेन र जर्मनीमा हेर्ने हो भने जति पनि प्रभावशाली नेता छन्, तिनीहरू राजनीतिक पृष्ठभूमिबाट आएका हैनन्। रोनाल्ड रेगन, ओबामा, ट्रम्प, थ्याचर, ली क्वान, महाथिर आदि। उनीहरू कोही कलाकार, वकिल, व्यापारी, रसायनशास्त्री पत्रकारको पेसाबाट राजनीतिमा प्रवेश गरेका हुन्। २५ देखि ५३ वर्ष उमेरबाट राजनीतिमा प्रवेश गरेका थिए।

एसियन राष्ट्रहरूमा भने राजनीतिलाई पेसा बनाएका मानिस नै प्रभावशाली भएका छन्। यही कारणले देशले निकास पाउन सकेको छैन। बेनजिर भुट्टो, गान्धी परिवार, नरेन्द्र मोदी र शेख हसिना उदाहरण बनेका छन्। कांग्रेस र नेकपाले आगामी महाधिवेशनमा यसबारे बृहत् बहस गर्नुपर्छ। अब दलहरूको संरचनाबारे बहस भई राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न जरुरी छ। राजनीति पेसा नभई सेवाका रूपमा स्थापित गर्ने नीति लिनुपर्छ। दलहरूमा वर्गीय र पेसागत संगठनको संरचना हटाई संगठन हैन, व्यक्ति सदस्य हुने प्रावधान कायम गरी उनीहरूलाई सामाजिक, आर्थिक र राजनीतिक विकासमा कसरी लगाउने भन्नेबारे बहस गरी तदनुकुल रणनीति विकास गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.