लथालिंग पोखरा विश्वविद्यालय
पोखरा : विश्व विद्यालयको मूल कार्यकारी नभएको १० महिना पुग्यो। अर्थात उपकुलपतिको जिम्मेवारीमा कोही छैन। निमित्त नियुक्ति पाएका पनि अनिवार्य अवकासबाट निस्किए।
त्यसपछिको जिम्मेवारी रजिस्ट्रारको हो। रजिस्ट्रार नभएको पनि उत्ति नै भयो। न डिन छन् न कार्यकारी निर्देशक। क्याम्पस प्रमुखको पद रित्तै छ। परीक्षा नियन्त्रक पनि छैनन्।
पोखरा विश्वविद्यालयका महत्वपूर्ण पद गएको १० महिनादेखि रिक्त हुँदा विद्यार्थीको भविष्य अन्योल भएको छ। न पढाइ हुन्छ, न परीक्षा। शिक्षक, कर्मचारीले तलब खान नपाउने अवस्था भइसकेको छ। पदाधिकारी नहुँदा कार्यकारी र प्राज्ञिक परिषदको बैठक नबसेको वर्ष दिन पुग्न आँटिसक्यो।
तत्कालीन उपकुलपति प्राडा चिरञ्जीवी शर्माको पदावधि पोहोर असोजमा सकिएको थियो। त्यसपछिका निमित्तको सेवावधि नै सकियो। कायम मुकायम तोकिएका मानविकी संकायका डिन इन्द्रप्रसाद तिवारीले पनि अनिवार्य अवकास पाइसकेका छन्।
पोखरा विश्वविद्यालय ऐन अनुसार शिक्षा मन्त्रीले उपकुलपतिको सिफारिस गर्ने प्रावधान छ। तर साविक माओवादीबाट मन्त्री बनेका गिरिराजमणि पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आआफ्ना व्यक्तिलाई चयन गर्ने टकराव रहेको स्रोत बताउँछ।
विश्वविद्यालय लथालिंग भयो भन्ने चिन्ता यहाँका प्राध्यापक र विद्यार्थीले गर्दै आएका छन्। नेताहरुलाई यस विषयमा गुहार्दा पनि कुनै नियुक्ति हुन नसकेको उनीहरु बताउँछन्। विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीअघि प्रदर्शन गरे। उनीहरुले ‘पोखरा विश्वविद्यालय बिर्सिनु भयो कि कुलपति ज्यू, माई लर्ड, मलाई आफ्नै भविष्यदेखि डर लाग्यो, निमित्त होइन पूर्णकालीन नेतृत्व चाहियो, लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकाललाई विद्यार्थीले ज्ञापनपत्र बुझाएका छन्। ४ दिनभित्र उपकुलपति नियुक्तिबारे जानकारी गराउन र प्राध्यापक तथा विद्यार्थीलाई शिक्षा मन्त्रालयसँग सम्पर्क गर्ने वातावरण बनाइदिन विद्यार्थीले ज्ञापनपत्रमार्फत विद्यार्थीले माग गरेका छन्। विद्यार्थी माधव बास्तोलाले ४० हजार विद्यार्थीको भविष्य अन्योल भएको बताए। ‘अब हाम्रो पढाइ कसले गराउँछ, कसले परीक्षा लिन्छ ?’ उनले भने, ‘सडक नआई कसैले कुरा सुन्दोरहेनछ।’
बास्तोलाले ४ वर्षका लागि पढ्न आउँदा साढे ५ वर्षसम्म लाग्ने गरेको अनुभव पनि सुनाए। उनले भने, ‘पोखरा विश्वविद्यालयका ४० हजार विद्यार्थीको १ वर्षको समय सानो होइन। यसले देशको आमूल परिवर्तन गर्न सक्छ। यो देशमा यस्तो परिस्थिति आइसक्यो कि २/४ वटा ढुंगा नफालीकन, २/४ वटा सिसा नफुटालिकन, सडकमा नआइकन कुनै कुराको समाधानै नहुने अवस्था आइसक्यो।’