पोखरामा डक्टरलाई कोरोना पुष्टि
पोखरा : मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत एकजना चिकित्सकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। अस्पतालमै आवाशीय चिकित्सकमा सोमबार कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
२९ वर्षीय चिकित्सक मणिपालमै एमडीसमेत पढिरहेका छन्। सुरक्षा सकर्तता अपनाउँदै पेशामा खटिएका ती पुरुष चिकित्सकमा कसरी कोरोना सर्यो भन्ने यकिन भएको छैन। संक्रमित चिकित्सकलाई उपचारका लागि भने मणिपालमै नराखी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। यो अस्पताल कोरोना
उपचारका लागि तोकिएको डेडिकेटेड अस्पताल हो। यहाँ छुट्टै आइसोलेसन वार्ड व्यवस्था गरिएको छ।
ती चिकित्सक सोमबार बिहानसम्म पनि उपचारमा खटिएका थिए। उनलाई सामान्य ज्वरो देखिएको छ। मेडिकल वार्डमा कार्यरत ती डक्टरलाई कसरी कोरोना सर्यो र अरुलाई पनि उनीबाट सर्यो होला भन्ने कुराको खोजी प्रदेश स्वास्थ्य निर्देशनालयले गरिरहेको छ।