बारेकोटका पहिरो पीडितलाई खाद्य सामग्री वितरण
जाजरकोट : जाजरकोटको बारेकोटका बाढी-पहिरो पीडित परिवारलाई गैरखाद्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस, केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानले प्रदान गरेको गैरखाद्य राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपलब्ध गराएको ती सय ७५ थान त्रिपाल र तीन सय ५० थान कम्बल गाउँपालिकाले पीडित परिवारलाई वितरण गरेको हो ।
त्यस्तै, केयर नेपाल र पहाडि क्षेत्र विकास अभियानको समन्वयमा उपलब्ध गराइएका तीन सय ४५ सेट गैरखाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टीन, म्याट, सरसफाइ सामग्री पनि वितरण गरिएको छ ।
रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले उक्त सामग्री गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका थिए । पहाडि क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदीप जंग शाहले गाउँपालिकालाई राहत सामग्री प्रदान गरेका थिए । भौगोलिक विकट्तालगायत कारणले गर्दा ढुवानी गर्न निकै कठिन भएकाले तत्काल सामग्री पठाउन नसकिएको रेडक्रस मन्त्री शाहले बताए ।
राहत सहयोग पाएपछि पीडित परिवार हर्षित भएका छन् । तर विस्थापित परिवारले आफूहरुसँग खाने अन्न सकिएको भन्दै खानेकुराको सहयोग गर्न माग गरेका छन् ।बारेकोटले बेलाबेला विपतको सामना व्यहोर्दै आएको बताउँदै दु:ख परेको समयमा सबैले सहयोग गरेको भन्दै अध्यक्ष शाहले धन्यवाद दिए ।
पहिरो पीडितका लागि युनीसेफ नेपालले गैरखाद्य सामग्री उपलब्ध गरिसकेको छ । विश्व खाद्य कार्यक्रमले २ महिना पुग्ने गरी ७ सय ५० घरपरिवारलाई खाना पुग्ने चामल, दाल र तेलको व्यवस्था गर्न लागेको अध्यक्ष शाहले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमले दुई तीन दिनभित्रमा पुग्ने गरी बिस्कुट विस्थापित परिवारलाई उपलब्ध गर्न लागेको छ, 'अध्यक्ष शाहले भने । गत असार २५ गते गएको पहिरोको कारण हाल तीन सय ३४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ५५ घर पुर्णरुपले क्षतिग्रस्त बनाएको छ । १ हजार ५५ घरपरिवार बाढीपहिरोबाट प्रभावित भएका छन् । सयौं हेक्टरमा लगाएको मकैबाली र धान खेती नष्ट भएको छ।
ग्रामिण बाटो बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् । बारेकोटमा बाढीपहिरोबाट ३५ करोड बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ। पहिरोले ११ जनाको ज्यान जानुको साथै ३ जना अझै वेपत्ता छन् ।