पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध
उदयपुर : पहिरोको कारण सिद्धीचरण लोकमार्गअन्र्तगतको मिर्चैया-कटारी सडकखण्ड बिहीबार रातीदेखि अवरुद्ध भएको छ । लगातारको भारी वर्षाका कारण उदयपुर र सिरहा जिल्लाको सीमा क्षेत्रको चुरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेकाअनुसार ठाउँ-ठाउँमा १५-२० मिटर लामो पहिरो गएका छन् । पहिरो आएर सडकमा थुप्रिएकाले सवारी आवागमनमा समस्या भएको उनले बताए । सडक अवरुद्ध भएसँगै बिरामी बोकेर गएका एम्बुलेन्स र अन्य सवारीसाधनसमेत रोकिएको स्थानीयले बताएका छन् ।
प्रजिअ पाण्डेले अवरुद्ध सडक सूचारु गर्न सडक रेखदेखको जिम्वेवारी पाएको लाहान सडकलाई आग्रह गरिएको बताए । उनले भने, 'लाहानबाट आएको मेसिनले पहिरो पन्छाउने काम भइरहेको छ ।' उनले पानी नरोकिएकाकारण पहिरो पन्छाउन असहज भएको बताए ।
मौसममा सुधार नआएसम्म यातायात सहजरुपले सूचारु गर्न नसकिने प्रहरीले जनाएको छ । माथिल्लो सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको कटारी -मिर्चैया सडक अवरुद्ध हुँदा उदयपुरको उत्तरी क्षेत्रसँगै सोलु, ओखलढुंगा र खोटाङ्ग जिल्लासमेत प्रभावित हुने गरेका छन् ।
पश्चिमी क्षेत्र काठमाडौंबाहेक पूर्वी क्षेत्रबाट ति जिल्ला जानका लागि यो बाटो प्रयोग हुने गर्दछ । प्रदेश राजधानी विराटनगर जानेसमेत तीन जिल्लाका लागि सबैभन्दा छोटो बाटो पर्दछ ।