स्याङ्जाका ५ जनामा कोरोना पुष्टि
स्याङजा : स्याङजामा शनिबार ५ जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक कार्यालय पोखरामा गरिएको परीक्षणमा वालिङको क्वारेन्टाइनमा बसेका ४ जना र एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।
संक्रमित ४ जना भारत तथा तेस्रो मुलुकबाट आइ वालिङ्को क्वारेन्टाइनमा बसेका हुन् भने एक संक्रमित वालिङ क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारी हुन्। जिल्लामा संक्रमित प्रहरी कर्मचारीको संख्या ४० पुगेको छ। योसँगै स्याङजामा संक्रमितको संख्या २ सय ६५ पुगेको छ। तीमध्ये १ सय ९२ जना निको भएर घर फर्केका छन् भने २ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
अझै पनि स्याङजाका विभिन्न क्वारेन्टाइनमा गरी १ सय १८ जना छन् भने विभिन्न पालिकामा ७१ जना आइसोलेसनमा उपचाररत छन्।