पुतलीबजारका तीनजनामा कोरोना संक्रमण पुष्टि
स्याङजा : प्रहरीमा कोरोनाको संक्रमण पुष्टि बढ्न थालेपछि पुतलीबजारमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा तीनजनामा फेरि कोरोना संक्रमण पुष्टि भएको छ । साउन १४ गते पठाएको ७३ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ७० जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
संक्रमित हुनेमा पुतलीबजार नगरपालिकाका २ महिलासहित एक पुरुष छन् ।संक्रमित हुनेमा कोरोना संक्रमित एक प्रहरीकी २९ वर्षीया पत्नी र उनकी ४ वर्षीय छोरी हुन् । यसैगरी अर्का २९ वर्षीय पुरुष रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले जानकारी दिए ।
पतीलाई कोरोना पुष्टिभएपछि पत्नी र छोरीलाई कन्ट्याक्स ट्रेसिङ गरिएको थियो भने अर्का पुरुष थुनुवा अवस्थामा पीसीआर परीक्षण गरिएको हो । उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।
दुई सातायता, ४० जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ । लगातार संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य कार्यालयले उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा आएका मध्ये १ सय ३४ जनाको कन्ट्याक्ट ट्रेसिङगरी परीक्षणका लागि प्रादेशिक कार्यालयमा पठाएको छ ।
अब, १५ र १६ गते पठाएको ३८ र २३ जनाको कन्ट्याक्ट ट्रेसिङगरी ६१ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । यसैगरी शनिबार साँझ वालिङ नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै स्याङजामा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने १ सय ९२ जना निको भएर घर फर्केका छन् । उपचारका क्रममा २ जनाको भने मृत्यु भएको छ ।
कोरोना संक्रमणको जोखिममा रहेको स्याङ्जामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ। केही दिनदेखि प्रहरी, एम्बुलेन्स चालक, स-साना बालबालिका, डाक्टर, भान्सेलगायतमा संक्रमण पुष्टि भएसँगै जिल्ला कोरोनाको उच्च जोखिम रहेको प्रष्ट देखिन्छ।