१० वर्षपछि खोरबाट निस्किए ‘तर्कबहादुर’

१० वर्षपछि खोरबाट निस्किए ‘तर्कबहादुर’

उदयपुर : मानसिक रोगी दाइको संरक्षण गर्दा श्रीमतीको साथ गुमाएका कटारी नगरपालिका १ कालिखोलाका चेवन अधिकारी (खत्री) शनिबार निकै हर्षित भए। १० वर्षदेखि खोरमा जीवन बिताइरहेका चेवनका दाइ ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्वयम् घरमा पुगी उद्धार गर्दा उनमा खुशी थपिएको हो।

एकातिर आर्थिक अवस्था दयनीय र अर्कोतर्फ दाइकै निहुँमा श्रीमतीले साथ छोडेर गएपछि उनी निकै विछिप्त थिए। श्रीमतीले छोडेपछि तीन सन्तान र दाइको स्याहारसुसार उनकै काँधमा थपियो। अन्य रोजगारमुलक कामभन्दा पनि दाइको स्यहारसुसारमै चेवनका दिन बित्न थाले। उनलाई पछिल्लो समय दुई छाक टार्न पनि धौ–धौ पर्न थालेको थियो। 

श्रीमती हुँदा घरव्यवहार गरिदिने र उनी फुर्सदिलो भएर अन्य काममा जाने गर्दथे। तर पछिल्लो समय श्रीमतीले छोडेपछि घरको सबै काम उनी आफैँ गर्दछन्। ‘अनुकुल मिलाएर काममा गए पनि घरमा के भयो होला, के गर्दै होलान् जस्तो लाग्छ, त्यसैले दिमाग हरवखत घरतिरै जान्छ’, उनी भन्छन्।

समस्या देखेरै खोरमा थुनेर कमाउन जानु पर्ने बाध्यता रहेको उनी सुनाउँछन्। भन्छन्, ‘जे जस्तो भए पनि आफ्नो रगत छोड्न सकिंदैन त्यसैले बाँचुन्जेल दाइको स्यहारसुसार गर्न बाध्य छु।’ आर्थिक व्यवहार नै टार्न मुस्किल भएको बेला प्रदेश सरकारले दाइको उद्धार गरी विराटनगर लगिदिएकोमा निकै खुशी भएको उनी बताउँछन्। चेवन भन्छन्, ‘आफ्नो मान्छे घाँडो हुँदैन तर गर्जो टार्न निकै मुस्किल थियो, सहयोगी मनलाई भित्री मनदेखि धन्यबाद।’ 

कस्तो अवश्थामा थिए तर्कबहादुर 

मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय र मानव सेवा आश्रमका प्रतिनिधिसहित दलवलकासाथ तर्कबहादुरको बासस्थान पुग्दा उनी नग्न थिए। 
उनको शरीरमा कपडाको टुक्रा पनि थिएन। उनलाई घर परिवारले घरदेखि २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेका थिए। 

उनी खोरमा नग्न अवस्थामा बस्दै आएको १० वर्ष भयो। अधिकारी परिवार ओखलढुङ्गाबाट बसाइँ सरेर आएदेखि उनी खोरमा थिए।
उनमा सानैदेखि मानसिक स्वास्थ्य समस्या भएपछि थुनेर राख्दै आएको चेवनले बताए। लुगा लगाइदिने बित्तिकै च्यातिहाल्ने गरेकाले नग्नै खोरमा राखेको उनको तर्क थियो। बाहिर निकाल्नसाथ हिंड्ने गरेका कारण खोरमै खाना लगिदिने गरेको उनको भनाइ छ।

चेवनको घरसँगै दुई सय मिटर पर खोरमा मृत्यु पर्खिरहेका तर्कबहादुरलाई देखेपछि प्रदेशसभा सदस्य कला घलेका आँखा रसाए। गहभरि आँसु पार्दै उनले भनिन्, ‘म नि अन्यौलमा रहेछु, यतिका वर्षसम्म मैले नै थाहा पाएको रहेनछु, साँच्चिकै जीवन त दर्दानक रहेछ।’

एकै वडाबासी भए पनि १० वर्षदेखि तर्कबहादुरको त्यो अवश्था आफूलाई थाहा नभएको उनले बताइन्। भनिन्, ‘जहाँ जे अवस्थामा देखियो र उद्धार गरियो, बाँकी उनको जीवनयापन औषधि उपचार प्रदेश सरकारले गर्नेछ, त्यसको लागि म स्वयम् पहल गर्नेछु।’

१० जनाको उद्धार

मानसिक स्वास्थ्य समस्या भएका कटारी नगर क्षेत्रका १० जनालाई मन्त्री घिमिरे स्वयम् उपस्थित भइ उद्धार गरेका छन्। नगरपालिकाका विभिन्न वडाबाट सडक आश्रित तथा खोरमा थुनेर राखिएकाको उद्धार गरिएको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए। 

उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिकासहित ४ महिला र ६ पुरुष रहेको उनले बताए। उनीहरुलाई सडक र घर–घरमा गएर टोलीले उद्धार गरेको हो। कटारी क्षेत्रका विभिन्न वडामा गरी ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति रहेका नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिइन्। उनीहरुको समस्या समाधानका लागि नगरपालिकामा छलफल भइरहेको उनले बताइन्।

शनिबार उद्धार गरिएकामा ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवा तथा बालबालिका रहेका उपप्रमुख राउतले बताइन्। 
    
मन्त्री घिमिरेले प्रदेश १ का एक सय ३७ वटै स्थानीय तहका सडक आश्रित र मानसिक समस्या भएकालाई उद्धार गरिने जानकारी दिए। उनले सबैको उद्धार गरी सडक मानवमुक्त बनाइने प्रतिवद्धता व्यक्त गरे। ‘सडकमा सहयोगापेक्षी, सडकआश्रित मानव देखिने छैनन्’, उनले भने, ‘अब पहिलेको तुलनामा बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकविहीन सडक आश्रित मानिस सडकमा कम हुँदै गएको छ। सडकबाट उद्धार गरिएकाको औषधिउपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ।'

घर तथा सडकबाट उद्धार गरिएका व्यक्तिलाई प्रदेश सरकारले मानव सेवा आश्रम विराटनगरमा राख्ने गरेको छ। स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रममा उनीहरुलाई राख्ने गरेको हो। 

उद्धार गरिएकालाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए। उनीहरुलाई स्वास्थ्य परीक्षण, औषधि उपचार र व्यायामका काम आश्रमबाट गराइने बताए। मानव सेवा आश्रममा हालसम्म प्रदेश १ मा १ सय ८ जनालाई उद्धार गरी राखिसकेको उनले बताए। उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन्। अन्यलाई उपचारपछि परिवारको जिम्मा लगाइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.