मंगलबार सा पारु (गाईजात्रा)

भक्तपुर : मंगलबार भाद्र शुक्ल प्रतिपदा। काठमाडौं उपत्यकालगायत नेपालभाषीहरूको बसोबास रहेको ठाउँमा यस दिन गाईजात्रा भव्यताका साथ मनाइँदै आएको छ। गाईजात्रालाई नेपालभाषामा ‘सा पारु’ पनि भनिन्छ। सा भनेको गाई र पारु भनेको प्रतिपदा। प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदामा गाईजात्रा मनाइने भएकाले यस दिनलाई सा पारु भनिएको हो।
नेवारी समुदायमा सा पारु मृत्यु संस्कारसँग सम्बन्धित पर्व हो। यस दिन वर्षभरिमा दिवंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई स्थानीय नगर परिक्रमा गराइन्छ। धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एकदिनमात्र यमलोकको ढोका खुला हुने जनविश्वास रहँदै आएको छ। त्यस्तै मृतात्मालाई गाईको प्रदर्शनले गाईको मद्दतबाट उक्त दिन यमलोकमा प्रवेश हुने जनविश्वास छ।
त्यसैले नेपालभाषी समुदाय यस दिन गाईको प्रतीक वा जिउँदो गाईलाई नै नगर परिक्रमा गराउँछन्। धार्मिक ग्रन्थ तथा किवंदन्तीहरूका अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईले हालेको एक पाइला बराबर एक अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्त हुन्छ।
पन्ध्रौं शताब्दीदेखि गाईजात्रा
काठमाडौं उपत्यकामा लिच्छविकालमै गाईजात्रा चलेको पाइन्छ। जसलाई काठमाडौंमा प्रताप मल्ल, ललितपुरमा सिद्धिनरसिंह मल्ल र भक्तपुरमा जगतप्रकाश मल्लले विस्तृत गरेको इतिहासविद् तथा संस्कृतिविद्हरु बताउँछन्। संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले गोपालराज वंशावलीमा पन्ध्रौं शताब्दीतिरै नेपालमा गाईजात्रा चलनचल्तीमा आइसकेको उल्लेख गरिएको जानकारी दिए।
‘लिच्छविकालमै काठमाडौंका नेपालभाषी समुदायले एउटा पर्वको रुपमा गाईजात्रा मनाइसकेका थिए’, उनले भने, ‘मल्ल राजाहरूले यसलाई परिमार्जन गरी विस्तृतमात्रै गरेका थिए।’ उनका अनुसार काठमाडौंका प्रताप, पाटनका सिद्धिनरसिंह र भक्तपुरका जगतप्रकाश मल्लले आ–आफ्नो क्षेत्रमा मनाइने गाईजात्रा प्रत्येक राजदरबार अगाडिबाट जानुपर्ने व्यवस्था गरेका थिए। जसअनुसार काठमाडौं उपत्यकामा हुने गाईजात्रा प्रत्येक राजदरबार भएर नगर परिक्रमा गर्ने चलन आजसम्म कायम रहँदै आएको छ।
कसरी मनाइन्छ गाईजात्रा ?
गाईजात्राको दिन गाईको प्रतीक बनाउनुअघि मृतकको नाममा क्रियापुत्रद्वारा संकल्प गराई पुरोहितले विधिपूर्वक पूजाआजा सम्पन्न गर्छन्। पुरोहितले पूजाकै क्रममा गाईको प्रतीक बनाउन लगाउँछन् र तयार भएको गाई आ–आफ्नो क्षेत्रको सम्बन्धित एवं निश्चित क्षेत्रमा परिक्रमा गराइन्छ। काठमाडौं उपत्यकामध्ये भक्तपुरमा यो गाईजात्रा नौ दिनसम्म मनाइन्छ। पूर्णिमाको दिनदेखि नै यो जात्रा मनाइने भएकाले यसलाई नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) भनिन्छ।
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो। पहिले पुरुषमात्रै सहभागी हुने यस नाचमा आजभोलि महिलासँगै स्वदेशी तथा विदेशी पनि सहभागी हुन थालेका छन्। महिलाले नाच्न नहुने समयमा पुरुष नै महिलाको भेषमा नाचमा सहभागी हुन्थे।
भक्तपुरमा मृतक महिला, पुरुष र बच्चाको आधारमा गाईको प्रतीक बनाउँछन्। गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए ‘हाकुपतासी’ (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। जसमा उमेरअनुसार डोकः सा र ताहा सा बनाइन्छ।
यसरी डोकः सा र ताहा सा तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ।
तलेजुको घिन्ताङघिसी
जनै पूर्णिमाको दिन राती भक्तपुर तलेजुको घिन्ताङघिसी निकालिन्छ। तलेजुको घिन्ताङघिसी नाच ननिकालेसम्म भक्तपुरमा गाईजात्रा सुरु भएको मानिँदैन। तलेजुको घिन्ताङघिसी नाचबाट सुरु भएको गाईजात्रा पर्व भक्तपुर नपा वडा नं ४ लाकोलाछेंबाट परालले बनाइएको भैरवको गाई निकालेर नगर परिक्रमा गराइएपछि पहिलो दिनको जात्रा विधिवत सम्पन्न हुन्छ।
उक्त भैरवनाथको गाई भक्तपुरको टौमढी, भक्तपुर दरबार क्षेत्र र दत्तात्रयमा तीनपटकसम्म घुमाइन्छ। पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएपछि दोस्रो दिन खाली हुन्छ। तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेच हुने जात्रासँगै परम्परागत र मौलिक विभिन्न नाचहरू प्रदर्शन गरेर गाईजात्रा मनाइन्छ। यो क्रम एक सातासम्म चल्छ।
यस वर्ष औपचारिकतामात्रै
तर यस वर्ष कोरोना भाइरस संक्रमणको सम्भावना भएकाले भक्तपुरमा गाईजात्रालाई औपचारिकतामा सीमित गर्न आग्रह गरिएको छ। भक्तपुर नपामा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन गाईजात्रामा घिन्ताङघिसीलगायतका सांस्कृतिक एवं परम्परागत तथा आधुनिक नाच ननिकाल्न आह्वान गरेको हो। संस्कारगत गाईजात्रामात्र गर्न उक्त बैठकले विशेष आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस !
