२२ प्रहरीसहित स्याङ्जामा ३० जनाले जिते कोरोना
स्याङ्जा : भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत ३० जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना जितेर घर फर्कनेमा २२ जना प्रहरी कर्मचारी पनि छन् ।
यसैगरी एकजना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एकजना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए ।
कोरोनामुक्त हुनेमा ३ र ४ वर्षे बालकसहित उनका अभिभावक पनि छन्। साउनको १२ र १३ गतेदेखि १६ र १८ वर्षीय दुई बालकसहित ३६ जना आइसोलेनमा उपचार भइरहेको थियो।
उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार साँझ डिस्चार्ज गरिएको हो। यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका थिए। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्।
अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारत छन् । स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।