जो कोरोना भगाउने शक्ति भएको दाबी गर्थे !

जो कोरोना भगाउने शक्ति भएको दाबी गर्थे !

पोखरा : कोरोना भाइरसको महामारी भर्खर सुरु हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे। प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई चैत ११ मै प्रहरीले पक्राउ गरेको थियो। 

चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गरिदिनुहुन्छ भन्ने उनी अहिले जेलमा छन्। सरकारले भिडभाड नगर्ने भनेको बेला भिड गरेको र कानुन विपरीत धर्म प्रचार गरेर भ्रम फैलाएको आरोप उनीमाथि थियो। 

पोखरा १९ लामाचौरमा त्यसरी नै धर्मकै आडमा भिड जम्मा गर्दै आएका र कोरोना नलाग्ने र आफूले भगाउने दाबी गर्ने एकजनाको भने ज्यानै गएको छ। उनको ज्यान जानुको कारण अरु केही नभएर कोरोना भाइरस नै रहेको पुष्टि भएको छ। 

लामाचौरमा ६२ वर्षे उनले ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’ चलाउँदै आएका थिए। केन्द्रमा उनले प्रवचन दिन्थे। ज्वरो र रुगाखोकी लागेकाले १६ असारमा आफैं अस्पताल पुगेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसयता पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका उनको शनिबार राति मृत्यु भएको पुष्टि अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले गरेका छन्। वृद्ध मधुमेहका बिरामीसमेत थिए। 

पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार ती वृद्धको सच्चाई केन्द्रमा आउने गरेकाहरुको पनि कोरोना जाँच हुँदा ६ जनामा कोरोना पुष्टि भइसकेको छ। आफूमा कोरोना भगाउने शक्ति रहेको दाबी ती वृद्धले गर्दै आएको स्थानीयलाई उद्धृत गर्दै वडाध्यक्ष पौडेलले सुनाए। क्रिश्चियनहरुले धर्म प्रचारका लागि सच्चाई केन्द्र सञ्चालन गर्दै आएका छन्। आपूmहरु क्रिश्चियन र धर्म प्रचारक नभएको उनीहरुको दाबी हुन्छ। 

मृत्यु भएका वृद्धका परिवार भने हङकङमा बस्दै आएको जानकारी पनि वडाध्यक्ष पौडेलले दिए। ‘उहाँ पनि प्राय हङकङ नै बस्नुहुन्थ्यो, यता त पर्यटक जस्तै’, उनले भने। लकडाउन नभएको भए पनि उनी यतिबेला हङकङ पुगिसकेको हुने पौडेलले सुनाए। 

मृत्यु भएका वृद्धको शव आइतबारै व्यवस्थापन भएको छ। प्रहरी, सेना, सशस्त्र प्रहरीसमेतको टोलीले वृद्धको शव पोखरा ३२ मजुवामा गाडेको हो। कोरोना संक्रमितको शव व्यवस्थापन कार्यविधि अनुसार स्थानीय तहले पहिचान गरेको त्यही ठाउँमा शव गाड्न लाग्दा स्थानीयले अवरोध गरेका थिए। 

पोखरामै १० असारमा मृत्यु भएका अर्जुनचौपारीका एकजना संक्रमितको शव भोलिपल्ट मजुवामा गाड्न लैजाँदा स्थानीयले अवरोध गरेपछि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो। त्यसअघि २५ जेठमा मृत्यु भएका स्याङ्जा वालिङका ५८ वर्षेको शव पोखरा ११ र २० को साँधनजिक सेतीनदी किनार रिठ्ठाघाटमा गाड्न लाग्दा स्थानीयले अवरोध गरेका थिए। 
लामाचौर क्षेत्रमा कोरोना भाइरस संक्रमण फैलन नदिने वडा नम्बर १९ र १६ ले उक्त ठाउँमा आवातजावत र व्यापार व्यवसायमा कडाइ गरेका छन्। २ वडाले अत्यावश्यक सेवा र व्यवसाय एवं कामबाहेकका लागि घर बाहिर ननिस्कन वडाबासीलाई आग्रह गरेका छन्। 

स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीसमेतको बैठकले नै सामाजिक दुरी कायम गर्ने, भेला नगर्ने, चहलपहल नगर्ने, लगायत निर्णय गरेको वडाध्यक्षहरु क्रमशः जीवन आचार्य र शोभामोहन पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वडामा संक्रमण फैलन नदिने यस्तो निर्णय गर्नुपरेको उनीहरुको भनाइ छ। 

घरघरमै रहन वडाबासीलाई वडाध्यक्षहरुले आग्रह गरेका छन्। ‘अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक सेवाका व्यवसाय बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न र भौतिक दुरी कायम गर्न अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.