समग्र विकासको विन्दु

समग्र विकासको विन्दु

जिम्मेवार व्यक्तिको मनको वृत्ति रिपुहरूले बाँधिएका कारण उत्तरदायित्व निर्वाह गर्नुपर्ने व्यक्तिहरूले समाजमा असल भूमिका निर्वाह गर्न नसकेको आभाष हुन्छ। देश र समाजमा खोजेजति स्थिरता नहुनु, व्यवस्थापनका पक्षमा सधैं कमजोरी देखिनु अनि निर्णय क्षमतामा रहेका व्यक्तिले नागरिकको अभिमत र संवेदनालाई ख्यालै नगरी आफ्नो निर्णय सुनाउनुजस्ता धेरै उदाहरणले एक किसिमको निराशा सधैं कायम रहेको अनुभूति हुने गरेको छ। सधैं अपूर्णता, केही नमिलेजस्तो, केही थिति नबसेजस्तो, देखेर, बुझेर र जानेर पनि त्यसलाई व्यावहारिकता दिन नसकेजस्तो हुनुको कारण के त ? खोज्नु जरुरी हुन्छ। विनाकारण केही हुँदैन र समाधान हुन नसक्ने कुनै समस्या हुँदैन तर हामीकहाँ किन समस्या मात्रै देखिन्छ ? जता हेर्‍यो त्यतै समस्या, अस्तव्यस्त परिपाटी, अन्योल, अव्यवस्था आदि–आदि। यसका लागि नेतृत्व सम्हाल्नेदेखि लिएर सरोकारवाला सबैमा एउटा समझ र दीर्घकालीन सोच आवश्यक हुन्छ। स्वार्थपूर्ण भावनाभन्दा राष्ट्र र समाजका लागि कुनै योगदान दिन सक्छु भन्ने दृढ आत्मविश्वास हुनु जरुरी छ। साथै, लोभीपापी मनबाट मुक्त भएर स्वतन्त्र राष्ट्रसेवक बन्न सक्ने हैसियत वृद्धि गर्नु जरुरी छ। मानिसलाई थाहा हुँदाहुँदै पनि मनका वृत्तिबाट माथि उठ्न नसक्नुको कारण के होला त ?

असीमित भौतिक सम्पत्तिको जोहो

ओशो भन्नुहुन्छ, ‘आवश्यकताभन्दा बढी भौतिक सम्पत्ति जोहो गर्नु पाप हो।’ यो व्यक्तिमा छिपेको असीमित अहंकार हो। व्यक्ति जब बाहिरी धन र सम्पन्नताको लालसामा तल्लीन हुन्छ तब उसले आफ्नो स्वाभाविक गुण पनि गुमाउँदै गएको हुन्छ। अब्राहम मास्लोले मानिसका चाहना र आवश्यकतालाई सात आयाममा स्पष्ट व्याख्या गरिदिनुभएको छ। तर, मानिस एकै किसिमको आयाममा अल्झिरहेको हुन्छ। अन्तिम आयाम अर्थात् अन्तिम यात्राको ख्यालै गर्दैन। सात आयाम हुन् –भौतिक आवश्यकता, भोगको आवश्यकता, सुरक्षाको आवश्यकता, प्रेमको आवश्यकता, सम्बन्ध बनाउने चाहना, यश अर्थात् सुखभोगको आवश्यकता र स्वयथार्थ बोधको आवश्यकता।

अरूका गुणदोष र कमजोरी केलाउनुभन्दा आफ्नो अहंकार, आफ्नो व्यक्तित्वको घमण्डप्रति जागृत हुनु महत्त्वपूर्ण हुनेछ।

८० प्रतिशत मानिस भौतिक आवश्यकता परिपूर्तिमै आफ्नो जीवनको अधिकांश समय बिताउँछन्। बाँकी २० प्रतिशतले छैटौं आयामसम्म आउने कोसिस गरे पनि सातौं आयामलाई ख्याल गरेकै हुन्नन्। एकदुई प्रतिशतमा मात्र जीवनको उत्तराद्र्घमा स्वयथार्थ बोधलाई ख्याल गरेको पाइन्छ। बाँकी ६ आयामको चाहना पूर्तिमै जीवनको अधिकांश समय खेर गइसकेको हुन्छ। जति नै सम्पत्ति आर्जन गरे पनि व्यक्तिभित्रबाट शान्त र आनन्दित हुन सकेन भने त्यसले सुख र सन्तोष दिँदैन। जिम्मेवार व्यक्तिमा आफ्नो भौतिक सम्पत्तिको जोहो गर्ने लालसा र मोह, ईष्र्या, द्वेषजस्ता मनको वृत्तिले उसलाई अरूका हितमा काम गर्नुपर्छ भन्ने आन्तरिक प्रेरणा जागेकै हु“दैन। मनको वृत्ति विकास हुन सकेमा मात्र व्यक्ति जागरुक बन्न सक्छ।

मनका वृत्ति के हुन् ?

काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष मनका वृत्ति हुन्। यिनको विकास भयो भने अरूका हितमा कुनै विकासका काम गर्न सकिन्न। यिनै वृत्तिको तरंग बढ्दै गयो भने सामान्य मनमुटाव, गुटबन्दी, सम्बन्धमा टकरावदेखि लिएर युद्धको आगो सल्किन बेर लाउँदैन। तर, यी वृत्तिलाई जानेर माथि उठ्न सकियो भने समग्र विकासमा सघाउ पुग्छ। मनका वृत्तिलाई सीधै नियन्त्रणमा लिन सकिँदैन तर एक–एक गर्दै जरैदेखि उखेलेर फाल्ने कोसिस गरियो भने सबै किसिमका वृत्तिबाट मुक्त भइन्छ र आत्मजागरण हुन्छ। आत्मजागरणले आत्मविश्वास बढाउ“छ र समग्र विकासको माध्यम बन्दछ। जीवन सन्तुलनमा चल्नुपर्छ।

एकोहोरो अहंकारले युद्धको भूमिमा पुर्‍याउँछ। कहिले शक्तिका नाममा, कहिले धर्म र साम्प्रदायिकताका नाममा, कहिले राजनीतिक मुद्दा त कहिले कुनै विषयले आवश्यकताभन्दा बढी समय कटुता, द्वन्द्व र मनमुटावमा खर्च भइरहेको हुन्छ। उपलब्धिमूलक समय त्यसै अनावश्यक कार्यमा बितिरहेको हुन्छ। योजना, उपलब्धि र उत्पादकत्व, सत्यता अनि गरिमामय अर्थपूर्ण कार्यक्रम पछाडि धकेलिन्छन्। जे पनि कुरा समयभन्दा पछि पुग्नु भनेको कमजोरीको लक्षण हो। स्वकेन्द्रित स्वभाव, आलोचना, तर्क, स्वार्थ, कलह र एकअर्कालाई दोष देखाउने काममै ऊर्जा खेर गइरहेको हुन्छ। अठोट, निर्भयता, संकल्प र बहुजन हितायको भावले कर्म गर्ने सोचको वृद्धि नहुँदासम्म अपूर्णता र अस्थिरतामै समय खेर जान्छ। आफ्ना मनका वृत्ति र तिनको तरंगलाई जान्न सक्नु नै विकास मार्गमा अघि बढ्ने माध्यम हुन्। परिस्थिति सम्हाल्न समय लाग्ला तर कथालाई सच्याएर जागृत भावमा कर्म गर्ने उद्देश्य राख्न सके समग्र विकासको आधार तय हुन्छ।

पाप र धर्मको बोध

हाम्रा धार्मिक परम्परा, पूजापाठ, व्रत, तप आदि सबै धर्म र पापसँग जोडेर व्याख्या गरिएका संस्कार हुन् तर वास्तवमा पाप र धर्म के हो धेरैले नबुझेको अवस्था हो। मन्दिर नजानु पाप हो या कसैलाई अन्याय गर्नु पाप हो ? पूजापाठ धर्म हो या आफ्नो स्वभावमा बाँच्नु र कर्म गर्नु धर्म हो ? मानवता, करूणा, इमानदारी, आत्मानुशासन र प्रेम धर्म हो या मठ, मन्दिर गएर दान गर्नु धर्म हो ? सर्वप्रथम मानव कल्याणमा हात बटाउनु नै धर्म हो र अनैतिकता पाप हो। पाप र धर्म के हो भन्ने विषयमा मनका वृत्तिले पनि निर्धारण गर्छन्। महाभारत युद्ध हुनु मनकै वृत्ति र अहंकारको खेल थियो। दुर्योधनको अहंकारलाई केही साम्य पारेर युद्ध रोक्न सकिन्छ कि भनेर वेदव्यासले प्रयास गर्नुभयो। वेदव्यास दुर्योधनका गुरु पनि हुनुहुन्थ्यो त्यसैले सोध्नुभयो, ‘दुर्योधन, धर्म के हो ? ’ दुर्योधन भन्छन्, ‘जानामी धर्मम् नचमे प्रवृत्ति’ अर्थात् गुरु, मलाई धर्म के हो थाहा छ तर त्यसलाई प्रयोगमा ल्याउन मेरो अहंकार र स्वभावले दिँदैन। त्यसो भए अधर्म के हो त ? दुर्योधन भन्छन्, ‘जानामी अधर्मम् नचमे निवृत्तिम्’ गुरु मलाई अधर्म के हो पनि थाहा छ तर मेरो स्वभावले अधर्मलाई रोक्नै मान्दैन। ‘केनामी देवेन ह्दय स्थितेनः यथा नियुक्त अस्मि, तथा करोमी’ मेरो अहंकारले युद्ध नै खोज्छ, म आफूलाई नियन्त्रण गर्नै सक्दिनँ। महाभारतको युद्ध र दुर्योधनको स्वभाव मात्र होइन, अधिकांश मानिसका स्वभाव त्यही छ। खराब के हो, अन्याय के हो, स्वार्थ के हो, लोभ के हो जान्दाजान्दै पनि व्यक्ति त्यही प्रवृत्तिप्रति आकर्षित भइरहेको छ। व्यक्तिभित्र छिपेको अहंकारले अनावश्यक मनमुटाव, कलह, स्वार्थ र लोभीपापी कार्यमा फसिरहेको छ।

जीवनको महत्त्व

जीवन स्वार्थ, लोभ र कटुतामा बाँच्नका लागि मात्र होइन; मनका वृत्तिबारे जान्दै तिनबाट मुक्ति पाउनका लागि जागृत हुने र आफूभित्रको शून्यता, मौन, निराकार स्वभावप्रति जागृत हुनु र आत्मस्मरणलाई बढाइराख्नु वास्तविक जागरण हो। जीवनको अन्तिम लक्ष्य शान्ति, आनन्द, प्रेम र सन्तोष प्राप्त गर्नु हो। यी कुरा प्राप्तिका लागि सकारात्मक सोच र सत्कर्मको आवश्यकता पर्छ। आफ्ना गल्ती र कमजोरी स्विकार्दै विधायकता र गरिमामय जीवन बाँच्ने उद्देश्य राख्नेले सधैं इमानदार भएर कर्म गर्न प्रेरित हुन्छ। अरूका गुणदोष र कमजोरी केलाउनुभन्दा आफ्नो अहंकार, आफ्नो व्यक्तित्वको घमण्डप्रति जागृत हुनु महत्त्वपूर्ण हुनेछ। आफ्नो तर्फबाट पहल गर्नु र रूपान्तरण गरेर देखाउनु एउटा विकसित व्यक्तिको गुणवत्ता हो। प्रत्येक व्यक्ति आफ्नो चेतनाप्रति जागृत हुने हो भने अराजकता भन्ने कतै देख्न र सुन्नमै आउ“दैन। मानिसमा असाधारणताको गुण छिपेको हुन्छ। त्यसलाई उजागर गर्न पनि समाजमा केही उदाहरणीय कार्य गरेरै देखाउनुपर्ने हुन्छ। सबैले गरेजस्तो प्रवृत्ति अँगाल्नु त कमजोरीसिवाय केही हु“दैन। अरूप्रति पूर्वाग्रह राखेर होइन, बरू आग्रहपूर्वक सहयोग जुटाएर बहुजन हिताय, बहुजन सुखायको कर्मको अभ्यास गर्दै जानु समग्र विकासको परिचय हो र यही नै जीवनको महत्त्व पनि। हामी समाधानका लागि पहल गर्न सक्दैनौं भने हामी आफैंमा समस्या हौं। हामी विकासका लागि पहल गर्दैनौं भने थाहा पाए हुन्छ– हाम्रो आत्मविकास भएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.