मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक

भक्तपुर : पछिल्लो समय कोरोना भाइरस संक्रमित हुने स्थानीय वासिन्दाको संख्या बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।
मध्युपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भादै ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो। कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ।
उसले भक्तपुर काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।
समितिको निर्णय सार्वजनिक गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगर क्षेत्रअन्तर्गत भक्तपुर काठमाडौं ६ लेन सडकको पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने जानकारी दिए।
उनले अत्यावश्यकबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने र गराउने समितिले निर्णय गरेको बताए।
अति आवश्यकीय खाद्यान्न, पानी, तरकारी, औषधि, ग्यासका पसल व्यवसायभ ने बिहान ११ देखि दिउँसो १ बजेसम्ममात्रै खोल्न पाइने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।
जिल्लामै सबैभन्दा बढी संक्रमित मध्यपुरमा
शुक्रबारसम्ममा भक्तपुरमै सबैभन्दा बढी मध्यपुर थिमि नगर क्षेत्रमा कोरोना भाइरस संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबारसम्ममा मध्यपुरमा जम्मा ३६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। जसमा पुरुष १९ र महिला १७ जना रहेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए।
मध्यपुर थिमिसँगै सीमा जोडिएको सूर्यविनायक नगरपालिकामा संक्रमितको संख्या २५ जना पुगेको छ। जसअनुसार पुरुष १६ र महिला ९ रहेका छन्। मध्यपुर थिमिपछि सूर्यविनायक नपामा सबैभन्दा बढी संक्रमित फेला परेको छ।
त्यस्तै भक्तपुर नपामा पुरुष १३ र महिला ११ गरी २४ जना तथा चाँगुनारायण नपामा १३ पुरुष र ६ जना महिला गरी १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख मिजारले मध्यपुर थिमि र सूर्यविनायक नपामा समुदायस्तरमै संक्रमण फैलिएको अनुमान लगाए। मध्यपुर थिमि नपासँग सीमा जोडिएका सूर्यविनायक नपाका वडा नं. २, ३ र ४ मा बढी संक्रमित फेला परेकाले पनि संक्रमण समुदायस्तरमा फैलिएको उनले सुनाए।
प्रमुख मिजारले बढी संक्रमित फेला परेको मध्यपुर थिमि र सूर्यविनायक नपाका वडाहरुमा समुदायमै कोरोना परीक्षण गर्ने योजना बनेको सुनाए।
तर स्थानीय नपाले अहिल्यै समुदायस्तरमा कोरोना परीक्षण आवश्यक नभएको प्रतिक्रिया दिएको उनको भनाइ थियो।
‘नपास्तरमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न कडा व्यवस्था नगरिए संक्रमण भयावह बन्नसक्छ’, प्रमुख मिजारले भने, ‘त्यसैले सरकारले अधिकार प्रत्यायोजन गरेअनुसार स्थानीय नगरपालिकाले नै आआफ्नो क्षेत्रमा लकडाउन कडा बनाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस !
