कोरोना कहर : ‘भक्तपुरमा डराइहाल्नुपर्ने अवस्था छैन’

भक्तपुर : भक्तपुरमा आइतबार आठजना कोरोना भाइरस संक्रमित बढेका छन्। यससँगै भक्तपुरमा संक्रमितको संख्या एकसय ३७ जना पुगेका छन्। ५५ जनाले कोरोनालाई जितेका छन्। एकजनाले ज्यान गुमाएका छन्। बाँकी उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्।
पछिल्लो समय काठमाडौं उपत्यकामै संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। यहाँ समुदायस्तरमै कोरोना भाइरसका संक्रमितहरु देखिन थालेका छन्। त्यसैले यहाँका स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा अघोषित लकडाउन गर्न थालेका छन्। अत्यावश्यकीय वस्तुका पसल व्यवसायबाहेक अन्य पसल व्यवसाय पूर्णतः बन्द गर्न नपाहरुले सूचित गरेका छन्।
संक्रमितको संख्या बढेसँगै सहरबजारमा सर्वसाधारणको चहलपहल पनि पातलिँदै आएको छ। यसले सर्वसाधारणमा कोरोना भाइरस संक्रमणको डरत्रास बढेको सहजै अनुमान लगाउन सकिन्छ। सर्वसाधारण आत्तिन थालेका छन्। उनीहरुमा भक्तपुरमा कोरोना भाइरस संक्रमण महामारीको रुप लिने त्रास देखिन्छ। सर्वसाधारणमा संक्रमण भइहालेमा उपचार पाउनसमेत मुस्किल हुने आशंका छ।
चिकित्सकले भने भक्तपुरमा अहिल्यै कोरोना भाइरस संक्रमणको महामारी हुने र उपचार नै नपाइने अवस्था नभएको बताएका छन्। भक्तपुरमा कोरोना भाइरस संक्रमणको उपचार गर्ने अस्पताल, जनशक्ति र उपकरण उपलब्धताले अहिल्यै डराइहाल्नुपर्ने अवस्था नभएको उनीहरुको जोड थियो।
‘अहिल्यै कोरोना भाइरस संक्रमण देखी डराइहाल्नुपर्ने अवस्था छैन’, भक्तपुरको लागि कोरोनाको हब अस्पताल भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भनिन्, ‘अहिलेको अवस्थालाई हामी व्यवस्थापन गर्न सक्छौं।’
तर यसो भन्दैमा सर्वसाधारणले हेलचेक्र्याई गर्न नहुने उनको जोड थियो।
‘कोरोना भाइरस संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भक्तपुर सक्षम छ भनेर सर्वसाधारणले हेलचेक्र्याई गरेर हुन्न’, उनी थप्छिन्, ‘लकडाउनको सबैले पालना गर्नुपर्छ। सर्वसाधारण आफै सचेत हुनुपर्छ।’
उनका अनुसार कोरोना भाइरस संक्रमणको सम्भावित अवस्थालाई मूल्यांकन गरेर भक्तपुरका सरकारी तथा निजी अस्पतालबीच सहकार्य र समन्वय भइरहेको छ। कोरोना भाइरस संक्रमणलाई लिएर कुनै पनि चिकित्सकले काम नगरे उनलाई कारबाही गर्नेसम्मको विषयमा यहाँका अस्पतालबीच सहमति भएको मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले बताइन्।
उनले हाल भक्तपुर अस्पतालको आइसोलेसनमा दुईजनामात्रै संक्रमितको उपचार भइरहेको जानकारी दिइन्।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले कोरोना भाइरस संक्रमण भक्तपुरको नियन्त्रणभन्दा बाहिर नभएको सुनाए। उनले संक्रमितहरु बढ्ने सम्भावनालाई ध्यानमा राखी भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुको क्षमता वृद्धि तथा व्यवस्थापन बलियो बनाउन आफूहरु तयारी अवस्थामा रहेको स्पष्ट पारे।
भक्तपुरमा २६ वटा भेन्टिलेटर, १६५ आइसोलेसन बेड
कार्यालयका अनुसार भक्तपुरमा रहेका नौवटा सरकारी तथा निजी अस्पतालमा २६ वटा भेन्टिलेटर उपलब्ध छ। जसअनुसार भक्तपुर र नेपाल कोरिया मैत्री अस्पतालमा ५÷५ वटा तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४ वटा भेन्टिलेटर रहेका छन्।
त्यस्तै काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी), इवामुरा, मध्यपुर, नागरिक र भक्तपुर क्यान्सर अस्पतालमा २÷२ वटा भेन्टिलेटर रहेका छन्। सिद्धि स्मृति अस्पतालमा बालबालिकाको लागि २ वटा भेन्टिलेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
भक्तपुरमा दुई सय ६५ को हाराहारीमा आइसोलेसन बेड उपलब्ध रहेको प्रमुख मिजार बताउँछन्। उनका अनुसार खरिपाटी क्वारेन्टाइनमा १६०, केएमसीमा ९० र भक्तपुर अस्पतालमा १५ शय्याको आइसोलेसन रहेका छन्।
बाँकी अस्पतालमा पनि आवश्यकताअनुसार आइसोलेसन वार्ड व्यवस्थापन गर्न सकिने प्रमुख मिजारको भनाइ रहेको छ।
‘संक्रमण महामारीकै रुमा फैलिए मध्यपुर थिमि नपा ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र चाँगुनारायण नपा ६ नगरकोटस्थित सरसफाइको तालिम केन्द्रका क्वारेन्टाइनलाई पनि आइसोलेसन वार्डमा परिणत गर्ने तयारीमा छौं’, उनले थपे।
भक्तपुरमा उपलब्ध स्वास्थ्यकर्मी र उपकरणले नथेग्ने अवस्था आए प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने भक्तपुर अस्पतालकी मेसु डा. गौतमले स्पष्ट पारिन्। उनले प्रदेश र केन्द्र सरकारसम्म पुग्नुअघि भक्तपुरका चारवटै नपासँग सहयोग मागिने र अहिले पनि कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन आवश्यक कदम चाल्न आग्रह गरिएको स्पष्ट पारिन्।
प्रतिक्रिया दिनुहोस !
