मृगौला लगायत समस्यासहित अस्पताल आएका बिरामीमा कोरोना संक्रमण
ललितपुर : ललितपुर महानगरपाालिकाको धापाखेल २३ स्थित सुमेरु अस्पतालका केही बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
मृगौला लगायत विभिन्न खाले समस्याका कारण उपचार गराइरहेका बिरामीमा कोरोना संक्रमण देखिएको हो। वडाअध्यक्ष भुयुकाजी महर्जनका अनुसार डायलसिस तथा सर्जरी गर्नका लागि करिब दुई सातादेखि अस्पताल बसेका तीन जना बिरामीको पीसीआर परीक्षण गरिएको थियो ।
शनिबार उनीहरुको रीपोर्ट आएपछि उपचारमा खटीएका नर्स तथा ओपीडीका सम्पुर्ण कर्मचारीलाई सातदोबाटोमा रहेको एसीयन कलेजमा क्वारेन्टाइनमा राखिएको हो । तर उनीहरुको पीसीआर रीपोर्ट आइसकेको छैन । संक्रमितहरुलाई सुमेरुले फरक वार्डमा राखेर उपचार गराइएको बताइएको छ ।
स्वास्थ कार्यालय ललितपुरले सुमेरुका एक चिकित्सकलाई पनि कोरोना लागेको बताएको छ। उनको रीपोर्ट शनिबार आएको थियो। ललितपुरमा आइतबारसम्म तीन सय दुई जना संक्रमित देखिएका छन् । सरकारको निर्देशन अनुसार अस्पतालले २० प्रतिशत शैय्या कोरोनाको उपचार गर्न छुट्याउनु पर्ने नियम बनाइएको छ।