भ्रष्टाचार भाइरस
मुलुक कोरोना महामारीको विपत्तिमा छ। यसको सामना कसरी गर्ने भन्ने चिन्ताले धरैलाई पिरोलिरहेको छ। सबै क्षेत्र अवरुद्ध छन्। देश ठप्प छ। यस्तो कष्टकर बेलामा पनि, मात्र एउटा कर्म अनवरत उँभो लागिरेको छ, त्यो हो– भ्रष्टाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीले त्यही भन्छ। वैशाखदेखि असार मसान्तसम्ममा मात्रै अख्तियारमा ३ हजार ९ सय ५० अनियमितताका उजुरी परेका छन्। तीमध्ये एक हजार ९९ को विस्तृत अध्ययन भइरहेको छ। ४ सय १५ उजुरीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ। तीन सय ५४ वटालाई अन्य उजुरीमा गाभिएको छ। असह्य कुरा त यो छ कि कोभिड नियन्त्रणका क्रममा भएका खरिद बढ्ता शंकास्पद छन्। क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, स्वास्थ्य सामग्री खरिद, चार्टर्ड उडानलगायत विषयमा भएका अनियमितताका उजुरी धेरै छन्। सर्वसाधारणले त्यसमै अनुसन्धान चाहेका छन्। र, अख्तियार गुहारेका छन्।
विपत्ति जहिले जसलाई पनि आइलाग्न सक्छ। यसलाई मिलेर सामना गर्नुपर्छ। राज्यका जिम्मेवार पदमा बसेकाका लागि यो क्षण जिम्मेवार र दायित्वपूर्ण हुन्छ। कसरी मितव्ययी भएर सर्वसाधारण र पीडितलाई बढी सेवा–सुविधा दिने भन्नेमा ती सजग हुनुपर्छ। त्यो धर्म र कर्म दुवै हो। तर, यसैलाई अवसरका रूपमा उपयोग गर्दै अनियमित तरिकाले व्यक्तिगत धनदौलत जोड्न खोजिएका घटना धेरै हुन्छन्। यसपालि पनि त्यस्तै भएको छ। अचेल मिडियामा भ्रष्टाचार र अनियमितताका समाचार हरेक दिन प्रकाशन÷प्रसारण भइरहेका छन्। कहिले सेवाग्राहीसँग काम गरिदिएवापत पैसा लिइरहेका बिचौलिया पक्राउ परेका छन्। कहिले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएका छन्। पछिल्लो तीन महिनामा भ्रष्टाचारका ९६ मुद्दा अदालतमा दायर गरिएको छ। हरेकजसो सरकारी अड्डामा सानातिना काममा पनि दलाललाई पैसा नखुवाई काम बन्ने अवस्था छैन। यातायात कार्यालयमा होस् वा मालपोत, नापी विभाग होस् वा सरकारी अड्डा–अदालत जहाँतहीं भ्रष्टाचार छ। यस्ता अड्डामा बिचौलियाकै रजगज छ। सुन तस्करीमा सेटिङ छ। लागूऔषध कारोबार गर्ने गिरोह सक्रिय छन्। चोरी–डकैतीको सेटिङ तथा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा पनि भ्रष्टाचार, बेथिति र विसंगतिको चाङ छ। यस्ता क्रियाकलापले मुलुकमा विकास र समृद्धिको बाटो छेकेको छ। भ्रष्टाचारको यस्तो खाडल नपुरेसम्म मुलुकमा विकास र समृद्धि आउँदैन। यसले केवल बिचौलियालाई मौलाउने मौका दिन्छ।
हाम्रो देशमा केही गर्दा नरोकिने भ्रष्टाचारलाई कोरोनाले समेत निस्तेज पार्न नसक्ने रहेछ। भ्रटाचार नियन्त्रणका लागि अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रलगायत निकाय र थुप्रै गैरसरकारी संस्थाले चेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्। अख्तियारले स्टिङ अपरेसन बढायो। केही दिन भ्रष्टाचार घट्यो। फेरि स्वरूप बदलियो। विदेश गएर घूस लिनेसम्म स्थिति आयो। सुराकी परिचालनलगायत भ्रष्टाचारका नियन्त्रणात्मक थुप्रै अभियान सञ्चालन भएकै छन्। तैपनि अनियमितताका घटना बढिरहेका छन्। नियन्त्रणका जति नयाँ प्रविधि आए पनि वा जति कडाइ गरिए पनि ‘गैंडालाई कन्याएजस्तो’ भ्रष्टाचारलाई छुँदै छुँदैन।
जसरी कोरोनाविरुद्ध खोप आविष्कारमा विश्व–वैज्ञानिकहरू लागिपरेका छन्, नेपालमा कोरोनाभन्दा कडा भाइरस बनेको भष्टाचार निर्मूल गर्न त्यस्तै कुनै ‘खोप’ चाहिएको छ। सर्वप्रथम देशको राजकाजलाई जनमैत्री बनाउनुपर्छ। शासन तथा प्रशासनबीच सन्तुलन राख्नुपर्छ। योग्य, क्षमता र विवेकशील राष्ट्रसेवकको निर्माण गर्नुपर्छ। कर्तव्यवहनसहितको अधिकार माग गर्ने क्षमता हरेक नागरिकमा हुनुपर्छ। विदेशतिर भएका असल अभ्यासबारे अध्ययन गरी व्यवहारमा उतार्न सक्नुपर्छ। अनि मात्र विकासको बाटोमा क्यान्सर बनेको भ्रष्टाचार उखेलेर मुलुक समृद्ध बनाउन सकिन्छ। कोरोना कहरलाई सामूहिक रूपमा परास्त गर्ने अभियानबाट छुट्टिएर जसरी हुन्छ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्न पल्किनु मानवताविरोधी काम हो। यस्ता व्यक्ति तथा समूहलाई कडा कारबाही गर्नुपर्छ। उनीहरूलाई समाजबाटै बहिष्कार गर्ने अभियान चलाउनुपर्छ। अख्तियारको छानबिन र कारबाहीले मात्र धान्दैन।