उदयपुरमा प्रहरीसहित तीन जनामा कोरोना, संक्रमितको संख्या ११० पुग्यो
उदयपुर : उदयपुरमा बिहीबार ११ वर्षीया बालिका र नेपाल प्रहरीका जवानसहित तीन जनामा कोरोना पुष्टि भएको छ। प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट त्रियुगा नगरपालिका १० का ११ वर्षीया बालिका, ३२ वर्षीय प्रहरी जवान र ४२ वर्षीय शिक्षकमा कोरोना पोजेटिभ देखिएको हो।
प्रहरी जवान साउन २८ गते सुनसरीबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएका हुन भने त्रिनपा ९ घर भएका शिक्षक त्रिनपा १० स्थित बालमन्दिर माध्यमिक बिद्यालयका बोक्सेका शिक्षक हुन्। साउन २८ गते जिप्रकामा आईपुगेका जवान अन्यसँग भेटघाट नै नगरी सोही दिन प्रहरी परिषर भित्र रहेको क्वारेन्टाईनमै बस्दै आएको एसपी भिमबहादुर दाहालले बताए। उनले भने, संक्रमण फैलन नदिन सरुवा भएर आएका सबैलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने र पाँच दिनपछि पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाएका छौ।’
प्रहरी परिषर भित्रै क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरिएकाले संक्रमणबाट सुरक्षित रहेको उनको भनाई छ। यो सँगै उदयपुरमा संक्रमितको संख्या एक सय १० पुगेको छ। त्यसमध्ये ३० जना महिला ७९ जना पुरुष र एक जना बालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए।
साउन १६ गते मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएपछि कन्ट्रायाकसेसनका आधारमा ४२ वर्षीय शिक्षकमा कोरोना देखिएको हो। कर्मचारीमा संक्रमण देखिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको भन्दै स्थानीय प्रशासनले सदरमुकाम रहेको त्रियुगा, चौदण्डिगढी र बेलका नगरपालिका क्षेत्रमा निषेधाज्ञा र कटारी नगरपालिकामा लकडाउन गरिएको छ।
जिल्लामा कोरोना संक्रमित देखिएकामध्ये त्रियुगा नगरपालिकामा ६४ जना, बेलका नगरपालिकामा ३२ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा तीन जनामा कोरोना संक्रमण देखिएको छ।
जिल्लामा हालसम्म एक हजार सात सय २३ महिलासहित ६ हजार ६ सय ५७ जनाको पिसीआर परीक्षणका लागि स्वाव संकलन गरिएकोमा एक हजार ६ सय ५८ महिलासहित ६ हजार चार सय १६ जनाको रिर्पोट आईसकेको र बाँकी दुई सय ४१ जनाको आउनेक्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयले दिएको जानकारीअनुसार हाल ७ जना महिलासहित एक सय ३७ जना क्वारेन्टाइनमा छन् भने १८ महिला सहित चार सय ७२ जना होम क्वारेन्टाईनमा छन्।