कोभिड नियन्त्रणमा दलहरूको अलमल

कोभिड नियन्त्रणमा दलहरूको अलमल

कोभिड- १९ को महामारीले विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे यसको प्रभाव फैलिइरहेको छ। संक्रमितको संख्या बढिरहेको छ। मृतक थपिइरहेका छन्। पछिल्लो अवस्थाले सरकारलाई कोरोना नियन्त्रण गर्न हम्मेहम्मे परेको देखाउँछ। यस्तो बेलामा सरकारको मात्रै मुख ताकेर बस्नु हुँदैन, कोभिड नियन्त्रणमा मेरो पनि समान भूमिका छ भन्ने भावना हरेक नागरिकमा हुनु आवश्यक छ। यसको नियन्त्रण सामूहिक पहलबाट मात्रै सम्भव छ।

कोभिड नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको उपस्थिति अस्पताल, चोक र क्वारेन्टाइन स्थलमा सीमित छ। चिकित्सक अस्पतालबाट बाहिर जान सकेका छैनन्। संक्रमण फैलिरहेको समुदाय स्तरमा भने कसैको प्रभावकारी उपस्थिति छैन। यस्तो बेलामा राजनीतिक दलले आफ्ना सदस्यलाई खटाउनुपर्छ। गाउँदेखि केन्द्रसम्मै सञ्जाल भएका दलले सदस्य तथा कार्यकर्तालाई परिचालन गराउने हो भने कोभिड नियन्त्रणमा धेरै सहयोग पुग्छ। राष्ट्र निर्माणमा जुटेको दाबी गर्ने दलको भूमिका वर्तमान परिस्थितिमा अपरिहार्य छ। जनताका घरदैलोसम्म सरकारभन्दा बढी पहुँच दलका नेता-कार्यकर्ताकै हुन्छ। उनीहरूले नै जनताका घरदैलो चहारेका हुन्छन्।

 घरघरमा सम्भावित संक्रमितबारे सूचना संकलन, निजलाई एकान्तवासमा राख्ने, रेखदेख गर्ने, उत्प्रेरणा, चेतना अभिवृद्धिलगायत संक्रमणको सम्भावित खतराको व्यवस्थापन तथा नियन्त्रण गर्ने कार्यमा दलकै कार्यकर्ता परिचालन गर्नुपर्छ। स्थानीय सरकारको सक्रिय पहुँच नरहेको ठाउँमा दलका नेता तथा कार्यकर्ताले आआफ्नो स्थानबाट सो कार्य गर्न ढिलाइ गर्नु हुन्न।

कोभिडको जोखिम कम गर्न सत्यतथ्य सूचना प्रवाह गर्ने, संक्रमणको सम्भावित खतराको व्यवस्थापन तथा नियन्त्रण गर्ने कार्यमा दलका नेता तथा कार्यकर्ता चुक्नु हुन्न। यस्तो बेलामा जिम्मेवार दलको दायित्व र कर्तव्य बढी होला, तर मुलुकको समृद्धि र विकासका लागि प्रतिबद्ध अन्य दलको भूमिका पनि गहन हुन्छ। सबै दलले बराबर भूमिका छ भन्ने सम्झेर यो अभियानलाई सघाउनुपर्छ। मुलुककै सबैभन्दा ठूलो दल नेकपा सरकारको नेतृत्वमा छ। केन्द्रदेखि वडास्तरमा उनीहरूको सञ्जाल छ। दलका अनुसार आठ लाख सदस्य छन्। २२ वटा जनवर्गीय संगठन छन्। प्रतिनिधिसभा, प्रदेशसभादेखि स्थानीय तहसम्मै उनीहरूको वर्चस्व छ। यो सबै संयन्त्र परिचालन गर्ने हो भने कोभिड नियन्त्रणमा उनीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्। अहिलेको अवस्थामा प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीलगायतले पनि आफ्नो भूमिका देखाउनुपर्छ। केन्द्रमा मन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा सरकारका काममा असन्तुष्टि जनाएर मात्रै कोभिड नियन्त्रण सम्भव छैन। सरकारका कमजोरीको आलोचना गर्दै थप राम्रो गर्न आवश्यक स्पष्ट योजना र सल्लाह दिन सक्ने हैसियत दल र तिनका नेताले राख्नुपर्छ।

दलका सदस्यहरू राहत बाँड्ने बेलामा मात्र सक्रिय भएर हुँदैन; जनताका हरेक पिरमर्कामा उनीहरूसँगसँगै रहनुपर्छ। कोभिड महामारीको मौका छोप्दै अकासिएको बजार भाउ नियन्त्रणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, कालोबजारी रोक्नेलगायत जनताका दैनिकीसँग जोडिएका क्रियाकलापलाई सहज बनाउनेतर्फ पनि सोच्नुपर्छ। स्वयंसेवकको समूह तयार पारेर वा व्यक्तिगत रूपमा दलका कार्यकर्ताले सरकारी संयन्त्रसँग मिलेर अभियान चलाउनुपर्छ।

स्थानीय तहले पनि यो र त्यो दलको नभनी सबैलाई जिम्मेवार बनाएर परिचालन गर्न सक्नुपर्छ। यो अभियानमा लागिरहँदा दलहरूले एउटा वास्तविकता भुल्नु हुँदैन। त्यो के हो भने, जुन दल र नेताले कुनै पनि विषम परिस्थतिमा समाजमा आफ्नो उपस्थिति बढाउँछ र जनताका घाउमा मलमपट्टि लगाउन मद्दत गर्छ र यसैका आधारमा उनीहरूको राजनीतिक भविष्य सुनिश्चित हुन्छ। तसर्थ स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थासँग सहकार्य गरी जनता र देशको वास्तविक सेवा गर्ने र आफ्नो आकार जनतासामु चिनाउने सुवर्ण अवसर यही हो भन्ने यथार्थ उनीहरूले बिर्सनु हुन्न। यो अवसरलाई चुकाउने कि जोगाउने भन्ने विषय उनीहरूमै निर्भर छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.