समयको चुनौतीबीच चाडपर्व
भनिन्छ- समयअनुसार परिस्थिति परिवर्तन हुन सक्छ। यो सधैं एकनास हुँदैन। समयअनुसार प्रतिकूलता र चुनौती पनि आइलाग्छन्। जीवनकै इतिहास हेर्यौं भने जिससअगाडि र जिससपछाडि गरी समयको क्यालेन्डर बनेको थियो। अबको परिस्थिति कोभिड- १९ अघि र कोभिड- १९ पछि भनेर चिनिनेछ। अहिले हामी कोरोनाको मध्य कहरमा छौं। यही समय हिन्दुधर्म र अन्य धर्म र परम्पराअनुसार पनि धेरै चाडपर्व पर्छन्। बन्दाबन्दी खुकुलो भए पनि परिस्थिति अरू जटिल बन्दै छ र हामीलाई चुनौती थपिँदै छ। नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ। यतिखेर सरकारको तर्फबाट सामान्य नियम लागू गर्ने निर्देश भए पनि व्यक्तिहरू आफैंमा पूर्ण सजग नहुने हो भने स्थिति भयावह नहोला भन्न सकिन्न।
हिन्दुधर्मको क्यालेन्डर मात्र हेर्ने हो भने पनि साउनदेखि मंसिरसम्म लगातार चाडपर्व पर्छन्, जसलाई धर्म र परम्पराको नाम दिएर मन्दिर जाने, समूहमा भेला हुने, पारिवारिक जमघट गर्ने आदि परम्परा छन्। नागपञ्चमी, जनैपूर्णिमा, कृष्णाष्टमी पर्व गइसके तर धेरैले सामाजिक दूरी र सतर्कतालाई बेवास्ता गरेर नागरिकहरू मन्दिर जाने, पण्डितहरू घरघर गएर नाग टाँस्ने र समूहमा बसेर जनै बाँधिदिने काम भयो।
त्यसपछि पनि दैनिक कोरोना संक्रमितको संख्या बढ्दै छ। बुवाको मुख हेर्ने औंसी, तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी, सोह्र श्राद्घ, गौरा पर्व, इन्द्रजात्रा (काठमाडौंमा मनाइने), तराईमा मनाइने जितिया पर्व, दसैं, तिहार, छठ, बालाचतुर्दशी, क्रिसमस, उभौली, नयाँ वर्ष, गुरु नानक जयन्तीलगायत अनेक चाडपर्व र परम्परा छन्, जुन परम्परादेखि मान्दै र मनाउँदै आएका छौं। यो वर्ष गत वर्षहरूमा जस्तो सहज छैन। कोरोना कहरले यसलाई बुझ्ने जनचेतना अभाव अझै बाँकी रहेको अनुमान गर्न सकिन्छ। यो वर्ष पनि चाडपर्व मनाउने कसरी ? कसरी सुरक्षित रहने ? केही मनोवैज्ञानिक, सांस्कृतिक र भावनात्मक आयाम जान्ने र व्यवहारमा उतार्ने प्रयास गरौं।
कतिपयलाई कोरोना कहर के हो, कसरी सुरक्षित रहनुपर्छ, सतर्कता र सजगता कसरी अपनाउनुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि अरूलाई राम्रो राखौं र आफू पनि राम्रो देखियौं भन्ने भावना हुन्छ र त्यसैले सबै सतर्कताका सर्त बिर्सेर पर्व मनाउन लागिपर्छ। म मन्दिर गइनँ भने, मन्दिर गएर पूजापाठ गरिनँ भने, मैले पण्डित बोलाएर कर्मकाण्ड गराइनँ भने, पण्डितलाई दानदक्षिणा गरिनँ भने, चेलीबेटी बोलाएर रमाइलो गराउने, भोजन गराउने र उपहार दिने गरिनँ भने समाजले कसरी थाहा पाउँछ ? परिवारले के भन्ला ? म खराब देखिइन्छु कि ? धर्मले के भन्ला ? म परम्पराको विरोधीजस्तो देखिने पो हो कि ? जस्ता कारणले आफूलाई पटक्कै नराम्रो भन्न नरुचाउने मनोभावना विकसित भयो भने कोरोना संक्रमणको चिन्ताभन्दा पनि उसलाई राम्रो देखिने अहंकारले विगत झैं पर्व मनाउन तयार हुन्छ। पर्वअनुसारका पहिरन, भोजन, परम्परा गरेर केही देखाउन इच्छा हुनेलाई यसो नगर्दा मनमा शान्ति पनि हुँदैन।
जहाँ प्रेम, प्रसन्नता, प्रफुल्लता र उमंग छ, त्यहीं भगवान् भेटिन्छ। यो वर्ष मन्दिर गएर होइन, आफ्नै घरलाई मन्दिर बनाएर, आफ्नै हृदयमा भगवान् भेट्ने कोसिस गर्ने कि ?
हाम्रा चाडपर्वले कतिपय अवस्थामा आफूलाई प्रतिष्ठित देखिन र देखाउन चाहनेको अहंकारमा मद्दत गर्ने गरेको छ। भए-पुगे राम्रै लाउनु, मिठै खानु र अरूलाई पनि दिनु खुवाउनु उत्तम हो। तर, परिस्थिति त्यस्तो सहज छैन। विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस हामीप्रति दयालु होला नसोचे हुने अवस्था आइरहेको छ। यसबाट बच्ने उपाय भनेकै भौतिक दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले हात धुने हो। श्वासप्रश्वासमा समस्या नआओस् भनेर योग, ध्यान र शारीरिक व्यायाममा जोड दिनु अनि मन शान्ति र आशावादी हुने तरिकाले आफैंमा प्रफुल्ल र प्रसन्न रहनु पनि हो। त्यसैले अहिलेको परिस्थितिमा राम्रो देखिनका लागि आवश्यक सर्तकता, सजगता र सचेतना अपनाऔं। चाडपर्व र परम्पराका नाममा पारिवारिक जमघट र संस्कारलाई थाती राखौं। जीवन स्वस्थ रहे र समयअनुकूल हुँदै गयो भने आगामी वर्ष पनि आउनेछन् आफ्नै नियम र तरिकाले रमाइलोसँग पर्व मनाउने दिन।
धेरैको धारणा हुन्छ- घरनजिकैको सानो मन्दिर जाँदैमा त के पो होला र ? सबैले त्यही सोच्ने, एक-एक गर्दै जाने अनि त्यहीं भीडभाड गर्ने प्रचलन सामान्य मानिन्छ। भौतिक दूरी र भीडभाड कम गर्नु भनेकै सकेसम्म अत्यावश्यक काम नपरेसम्म घरबाहिरै ननिस्कनु हो। नजिकको मन्दिर होस् या जात्रा कहीं पनि निस्किनै हुन्न। कसलाई कोरोनाको लक्षण छ सजिलै थाहा नहुने, धेरैले घरबाहिर निस्कँदा मास्क लगाउन पनि लापरबाही गर्ने र उसले खोक्दा, हाछ्युँ गर्दा उछिट्टिएर आउने थुक र सिँगानका कीटाणु टाढाटाढासम्म फैलिने हुँदा यो सबै परिस्थितिबाट बच्न नजिकैको मन्दिर पनि जानु हुँदैन भन्ने चेतना सबैमा जागृत हुन जरुरी छ। मन्दिरमा स्यानिटाइजर, साबुनपानीलगायतका सरसफाइका सामान नहुन सक्छन्, भइहाले पनि सबैले प्रयोग गर्दा त्यहींबाट भाइरस सर्ने सम्भावना बढी रहन्छ। भाइरस हाम्रो घरभन्दा टाढा होइन, घरनजिकै फैलिरहेको हुन सक्छ।
हाम्रा सबै चाडपर्वका विशेषता नै आफ्ना परिवार, चेलीबेटी र नजिकका नातेदार अनि साथीभाइ जम्मा भएर खाने, पिउने, नाचगान गर्ने, होहल्ला, रमाइलो गर्ने प्रकृतिका हुन्छन्। हामी सोच्छौं- आफन्त र नजिकका मान्छेसँग भेट्दा त भाइरस सर्ला र ? तीज, ऋषिपञ्चमी, सोह्र श्राद्घमा आफ्नै मान्छेलाई त बोलाएर खुवाउनै पर्यो नि। नबोलाउँदा अरूले के भन्लान् ? अर्थात् बोलाएको ठाउँमा नगए के भन्लान् ? समाजविरोधी भइने पो हो कि ? यस्तै सोच विकासले कोरोना भाइरसप्रति भन्दा हाम्रा चाडपर्व र संस्कारप्रति धेरै सचेत भयौं भने नजानिँदो तरिकाले यो पर्वका बीचमा कोरोना संक्रमण अरू नफैलिएला भन्न सकिन्न। त्यसैले यो वर्ष पारिवारिक जमघट, नातेदार र आफन्तलाई घरमा नबोलाउने, जमघट नगर्ने र बोलाए पनि नजाने, बरू किन नआउने त्यो कुरालाई राम्ररी सम्झाएर सचेतना फैलाउने काम गरौं। यो नै आफू बच्ने र अरूलाई बचाउने कल्याणकारी उपाय हुनेछ।
विशेषगरी तीज, ऋषिपञ्चमी भनेकै महिला व्रत बस्ने र मन्दिर दर्शन गर्न जाने, गोदान गर्ने र पण्डितलाई टीका लगाएर दानदक्षिणा दिएपछि व्रत पूर्ण हुन्छ भन्ने धारणा र प्रचलन रहिआएको छ। विगत वर्षमा यस्तो महामारीले छोएको थिएन। आफ्ना जे-जे मान्यता र धारणा थिए, त्यसैअनुसार गर्न कुनै रोकतोक थिएन। तर अहिलेको परिस्थिति भिन्न छ। समयले हामीलाई चुनौती दिएको छ। सतर्कता र सुरक्षाका उपाय अपनाएर घर बस्ने र स्वस्थ रहने कि मन्दिर जाने नाममा घरबाहिर निस्केर आफ्नो स्वास्थ्य र जीवन जोखिममा पार्ने ? आफूलाई नपरिञ्जेल नचेत्ने र सावधानी नअपनाउने धेरैको बानीले आफू संक्रमित हुने मात्रै कहाँ हो र अरूलाई पनि त संक्रमण फैलाउने काम हुन्छ नि। सरकारले २५ जनाभन्दा बढी भेटघाट नगर्ने, समूह नबनाउने भने पनि सबैले आफूलाई गन्ने त हो, कति संख्या जम्मा हुन्छन् कसले आकलन गर्ने ? भगवान् मन्दिरमा होइनन् आफ्नै हृदयमा हुन्छन्। मन्दिरमा भएका भगवान्लाई प्रार्थना गरी मनोकांक्षा पूर्ण हुन्छ भन्ने एउटा मनोवैज्ञानिक मान्यता मात्र हो। जहाँ प्रेम, प्रसन्नता, प्रफुल्लता र उमंग छ, त्यहीं भगवान् भेटिन्छ। यो वर्ष मन्दिर गएर होइन, आफ्नै घरलाई मन्दिर बनाएर, आफ्नै हृदयमा भगवान् भेट्ने कोसिस गर्ने कि ?
सबैलाई ज्ञान भएकै कुरा हो- कतिपय पण्डित, पुरोहितहरूको आफ्नो रोजीरोटी र व्यवसायको माध्यम नै घरघरमा गएर या मन्दिरमा पूजापाठ गराउने, यज्ञ, हवन आदि धार्मिक र संस्कारका कार्यक्रम गराएर जीवन चलाउनुपर्ने बाध्यता पनि छ। यस्तो अवस्थामा रोग कि भोक भन्ने सवाल पनि उठ्न सक्छ। नागरिकको पनि पण्डित-पुरोहितलाई पुज्ने, दानदक्षिणा गर्ने संस्कार र प्रचलन छँदै छ। तर अहिलेको परिस्थिति स्वास्थ्य र जीवनकै लागि चुनौतीपूर्ण छ। कोरोना कहरले प्रविधि प्रयोग र सिकाइलाई पनि सामान्य बनाइदिएको छ।
कतिपय कार्यालयका मिटिङ, स्कुल, कलेजका कक्षा, सेमीनार, गोष्ठी, अन्तर्राष्ट्रिय मिटिङ, सेमीनारसमेत जुम, मेसेन्जर, गुगलमिटलगायतका प्रविधि प्रयोगबाट हुने गरेका छन्। नेपालमा पनि हाल पण्डित-पुरोहितहरूले पनि जुम, मेसेन्जर, भाइबरलगायतका प्रविधि प्रयोग गरी पूजापाठ र श्राद्ध गराउने प्रचलन बढेकाले सकेसम्म यो प्रविधिलाई प्रयोगमा ल्याउने हो कि ? जो प्रविधि मैत्री छन्, उनीहरूबाट प्रशिक्षण लिएर अभ्यास बढाउने हो भने अरू व्यावसायिक तरिकाले अघि बढ्ने अवसर पनि हुन सक्छ। दान-दक्षिणाका लागि समेत घरमा पुग्नु नपर्ने ई-बैंकिङ, मोबाइल बैंकिङ तथा ई-सेवा सुविधा उपलब्ध छन्। समयअनुसारको सिकाइ र व्यावहारिक प्रयोग पनि आवश्यक छ भन्ने समयले सिकाएको छ।