‘नमुना आइसोलेसन ’
नवलपुर : कोरोना संक्रमण भएपछि अत्तालिएकाहरुले कोराना परास्त गर्दा खुसीको सीमा थिएन। छोटो अवधिमा नै कोरोना संक्रमणमुक्त भएपछि खुसीले नाच्दै थिए। रिपोर्ट सुन्न आतुर भएकाहरु नेगेटिभ हुनेको नामावली सुनाउँदा कोही भुईंमा ढोग्दै थिए भने कोही नाच्दै उफ्रिंदै थिए।
तीमध्येका एक थिए भीमबहादुर सुनार। भारतमा गाडी चलाउँदै आएका भीमबहादुरमा नेपाल आएपछि कोरोना देखियो। परिवारका चार सदस्यमध्ये उनमा मात्रै कोरोना पोजिटिभ देखियो। कोरोना जितेकोमा उनी खुसीले नाच्दै थिए। उनीहरुका लागि आइसोलेसन घर जस्तै भयो। ‘आत्मबल र हौसला दिएर छिटो निको बनाइदिनुभयो ’, देवचुली १० विशालटारका भीमबहादुरले भने, ‘पछिसम्मको लागि जीवन जिउने कला सिकेर जाँदैछु।’
समुदायले चलाएको प्राकृतिक चिकित्सालय नमुना आइसोलेसनको रुपमा स्थापित भएको छ। नवलपुरको देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय कम खर्चमा छिटो निको भएर बिरामी घर फर्किएका छन्। नियमित योगा, प्राकृतिक चिकित्सा पद्धतिको उपचारले संक्रमित कोरोनालाई परास्त गर्न सफल भएका छन्। अस्पतालको खुल्ला हरियाली वातावरणमा रमाउँछन् संक्रमित। उनीहरु दैनिक एकदेखि डेढ घण्टासम्म योग गर्छन्। चिकित्सकको लगातार परामर्शले डर र चिन्ताबाट मुक्त भएको उनीहरु सुनाउँछन्।
आफ्नो लागि चिकित्सालय मन्दिर र चिकित्सक भगवान जस्तै भएको बताउँदै घर जान बिदा भए कावासोती वडा नम्बर १ का तेजबहादुर थापा। भारतबाट फर्किएपछि घर नजिकै सामुदायिक वनको भवनमा क्वारेन्टाइनमा बसे। कोरोना संक्रमण भएको खबरले उनी डराए। ‘सुरुमा कोरोना पोजिटिभ आउँदा दिमागमा नराम्रो कुरा खेल्न लाग्यो तर यहाँ आएपछि आत्तिन दिनुभएन, राम्रो कुरा मात्रै सोच्न लगाउनुभयो ’, उनले भने, ‘योगले पसिना बगाएरै कोरोना भगाइयो ।’कोरोना लागिहाले पनि आत्तिन नहुने बताए। दिमागमा सकारात्मक सोचाइले सन्चो भएको उनको अनुभव छ।
आइसोलेसनमा रहँदा खानपान र जीवनशैली सिके उनीहरुले। तनाव लिने कुनै समय नै भएन। दैनिक व्यायायम, योगाभ्यास, आध्यात्मिक परामर्शले उनीहरुमा हौसला बढायो। दैनिक मह र कागती पानी, बेसार हालेको दूधको प्रयोगले संक्रमणलाई छिटो जिते। बिहान चार बजेपछि उनीहरुको नित्यकर्म सुरु हुन्थ्यो। भारतको चेन्नइबाट फिर्किएकी गैडाकोटकी जमुना केसीले चिकित्सालयको खानपिन र परामर्शले सहज बनाएको बताइन्। अस्पतालको ब्यवस्थापनले उर्जा दिएको उनको अनुभव छ।
कोभिड १९ अस्थायी अस्पतालको रुपमा सेवा सुरु गरिएको उक्त चिकित्सालयको उपचार पद्धतिबाट संक्रमित छिटो निको भएर घर फर्किए। छिटोमा पाँच दिनमा बढीमा ३५ दिनसम्म उपचार भएको र कसैको पनि मृत्यु नभएको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताए। ‘संक्रमितलाई तनाव हुने फर्सद नै दिएनौं ’, सापकोटाले भने, ‘हरेक क्रियाकमा सामेल गराएर उपचार गर्दा निको भएको देखी संक्रमितभन्दा बढी हामी खुसी भयौं ।’
३ वर्षदखि ७८ वर्षसम्मले कोरोना जितेर गएका उनले बताए। उपचार पद्धति र जीवनशैलीको कारण कोरोनालाई पराजित गर्न सकेको उनको भनाइ छ। दुई महिनामा तीन सय २१ जना कोरोना जितेर घर फर्किएका र आइसोलेसनमा अहिले ४८ जना उपचाररत भएको उनले जानकारी दिए।
भाइरल लोड घटाउने विधिहरु प्रयोग गरिएको चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए। जीवनशैलीसँगै आहारविहारको पद्धति सिकाइएको पौडेलले बताए। ‘संक्रमित हौं भन्ने तनावलाई सबैभन्दा पहिले ब्यवस्थापन गर्यौं’, उनले भने, ‘त्यसपछि प्राकृतिक चिकित्सा पद्धतिबाट शरीरमा भाइरल लोड घटाउन लाग्यौं।’
यो कम खर्चमा धेरैको उपचार हुने कोभिड अस्पताल भएको चिकित्सालयको दावी छ। कोरोना संक्रमणको भयावह अवस्था आए नेपाल भरिको संक्रमित राख्न तयार भएको व्यवस्थापक सापकोटाले बताए। ‘सरकार र समुदायले चाहेमा देशभरका संक्रमित राख्न तयार छौं ’, उनले भने, ‘अहिलेसममको अनुभवले प्राप्त सफलताले आँट आएको छ ।’