पोखरामा ५ दिन थपियो निषेधाज्ञा

पोखरा : कोरोना भाइरस रोग कोभिड १९ का बिरामी बढेको बढ्यै गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले १२ गतेसम्मलाई निषेधाज्ञा थपेको छ। यसअघि ३ भदौदेखि लागु गरिएको निषेधाज्ञा आज आइतबार रातिसम्मका लागि थियो।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) संयोजकत्वको संकट व्यवस्थापन समितिको आइतबार मध्याह्न बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले निषेधाज्ञाको ढाँचा थोरै परिवर्तन गरिएको जानकारी दिए। उनका अनुसार साँझको समयमा निर्माण सामग्री ओसारपसार गर्न दिइने भएको छ भने बैंकहरुको एक-एक वटा शाखा खोल्ने दिने गरी निषेधाज्ञा गरिने भएको छ। अत्यावश्यक सेवाबाहेक अरु काम भने बन्द हुनेछन्।
यसअघि पोखरा महानगरपालिकाले निषेधाज्ञा थप्न सिफारिस गरेको थियो। ३ गतेदेखिको निषेधाज्ञाका लागि पनि महानगरपालिकै सिफारिस थियो। प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार विज्ञप्ति निकालेर निषेधाज्ञा थप्न आग्रह गरेको थियो। अहिलेसम्म पोखरामा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशभर आज आइतबार मात्रै १२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैमध्ये पोखरा महानगरमा ४ जना थपिएका हुन्।
पोखरा महानगरपालिकाले निषेधाज्ञाको सिफारिस गर्दा कतिपय व्यवसायीले त्यसको समर्थन र कतिपयले त्यसको विरोध गरेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने आइतबार समर्थनमा विज्ञप्ति जारी गर्यो। निषेधाज्ञाका कारण जनजीवन कष्टकर भए पनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको कांग्रेसले औंल्यायो।
प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी वार्डका एक स्वास्थ्यकर्मीमा आइतबार कोरोना पुष्टि भएको छ। त्यस्तै आजै कास्की सेवा अस्पतालका २ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस !
