पञ्चमी नुहाउन जाँदा गर्भवतीको ज्यान गयो
पोखरा : तीजमा व्रत बस्दा पतिको आयु बढ्छ भन्ने अन्धविश्वास छ। त्यही विश्वासले माछापुच्छ्रे गाउँपालिका ९ भीमजुङकी पार्वती (दीपा) गौतम पनि व्रत बसेकी थिइन्। व्रतसँगै तीजमा नाँचगानमा पनि उनी रमाइन्।
तीजकै दिन गाउँमा भएको भेलामा पनि सहभागी भइन्। सप्तऋषिको पूजा गर्दै तीजलाई विदाई गर्ने दिन आइतबार जब उनी गाउँकै खोलामा नुहाउन गएकी थिइन्, तर फर्किइनन्। पञ्चमी नुहाउन गएकी गौतमलाई खोलाले बगायो। ‘५-५ जनाले टोली बनाएर जानुभएको रहेछ’, माछापुच्छ्रे ९ का वडाध्यक्ष दुर्गा क्षेत्रीले भने, ‘पार्वतीलाई बगाइहालेपछि मात्रै अरुले देख्नुभएछ।’
एक भंगालोभन्दा तल पुर्याइसकेपछि मात्रै अरुले देखेको क्षेत्रीले सुनाए। २३ वर्षीया पार्वती ६ महिने गर्भवती थिइन्। पार्वतीकी साढे २ वर्षकी छोरी छन्। उनका पति गाउँमै खच्चडको व्यवसाय गर्छन्। गाउँकै कर्सिङ खोलामा बगेकी दीपाको शव १ किलोमिटर तल फेला परेको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको पोस्टमार्टम भएको छ। ७ बजे बिहान बगेकी उनको शव सवा ९ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जनाएका छन्।