कोरोनाविरुद्ध सामाजिक दायित्व
ढुक्क होऔं– रिपोर्ट नेगेटिभ आएपछि कुनै पनि व्यक्तिले कोरोना भाइरस अरूलाई सार्दैन। बरु कोरोना संक्रमित व्यक्ति निको हुने क्रममा उसको प्लाज्मामा एन्टिबडी विकास हुन्छ। एन्टिबडी त्यही भाइरससँग लड्ने सुरक्षाकबच हो। त्यही भएर निको भएका व्यक्तिको प्लाज्मा गम्भीर प्रकारका संक्रमितको शरीरमा पठाएर उपचार गरिन्छ। त्यसलाई प्लाज्मा थेरापी भनिन्छ। नेपालमा प्लाज्मा थेरापी सुरु भइसकेको छ। आईसीयूमा राखिएका एक चिकित्सकले उक्त प्रविधिको पहिलो उपचार सेवा पाएर स्वास्थ्यलाभ गरेका छन्। दुःखको कुरो, तिनै चिकित्सकको परिवारलाई भने छरछिमेकले असहजता निर्माण गरेका छन्। उनी कोरोना संक्रमित भएकै कारण टोलमा ‘सामाजिक दूरी’ बढेको छ। कोरोनाका कारण समाजमा सजगताभन्दा निर्दयता बढ्दो छ। पछिल्लोपालि राज्य र बुद्धिजीवी वर्गले सचेतना पुर्याउनुपर्ने थलो समाज बनेको छ।
कोरोना महाव्याधिको महाप्रभाव विश्वव्यापी छ। बाजा बजाएर आउने वा देखिएर सर्ने रोग होइन हो। जति सावधानी अपनाउँदाअपनाउँदै पनि कति बेला को संक्रमित हुन्छ, कसैलाई थाहा छैन। यस्तो अवस्थामा छिःछिः र दूरदूर गर्ने व्यक्ति नै कुनै दिन संक्रमित हुनुपर्ने हुन सक्छ। जसलाई संक्रमित भएकै कारण हेयको दृष्टिले हेरियो, उसैको प्लाज्माले नयाँ जीवन पाउनुपर्ने क्षण आउन सक्छ। जुन चिकित्सक वा स्वास्थ्यकर्मीलाई अस्पतालमा काम गरेको भन्दै दुव्र्यवहार गरिन्छ, भोलिपर्सि उसैका हातबाट उपचार लिनुपर्ने हुन सक्छ। कोरोना भाइरस कुनै घातक रोग होइन। न कुनै गलत कार्य गरेर कसैको शरीरमा यो छिर्ने हो। त्यसैले हरेक संक्रमितलाई आफू नै संक्रमित भएको ठान्नु बुद्धिमत्ता हुन्छ। संक्रमण रहुञ्जेल उच्च मनोबलका साथ एक्लै बस्न प्रेरित गर्नुपर्छ। निको भएपछि सामान्य जीवनमा फर्किन÷फर्काउन साथ दिनुपर्छ। अवरोधक बन्नु हुँदैन। अझ चिकित्सक त तपाईंहामीजस्तै सर्वसाधारण बिरामीलाई निको पार्न सेवामा खट्दा संक्रमित हुने हुन्। संक्रमित स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्छ। तर, समाजमा ठीक उल्टो दृश्य देखिन थालेको छ। संक्रमित स्वास्थ्यकर्मीलाई घरमा छिर्न नदिने र आवासबाट लखेट्न हुलहुज्जत गर्नेजस्ता घटना व्याप्त छन्। त्यो चरित्र बदल्नैपर्छ।
कोभिड– १९ बाट संक्रमित भएपछि गत महिना चर्चित बलिउड नायक अमिताभ बच्चनले अस्पतालको बेडबाट भनेका थिए, ‘सुरत सहरको मन्दिरनजिकै एउटा विलबोर्ड देखें। विलबोर्डमा लेखिएको थियो– अहिले मन्दिर बन्द छ। किनकि, मन्दिरभित्रका देवता सेतो कोट लगाएर कोरोना संक्रमितको उपचार गर्न अस्पताल गएका छन्। त्यहाँ लेखिएजस्तै मैले पनि भगवान्लाई साक्षात्कार गर्ने मौका अस्पताल आएपछि पाएँ।’ बच्चनको भनाइ सामाजिक सञ्जालभरि फैलियो। कोरोना महामारीको नियन्त्रण गर्ने अभियानमा दौडिरहेका चिकित्सकलाई धेरैले मन्दिरभित्रको भगवान् ठाने। सेतो पहिरनमा सजिएका देउताको उपमा दिएर सम्मान व्यक्त गरे। युद्धमा नभाग्ने सिपाही र विपत्तिमा नडग्मगाउने चिकित्सक सच्चा राष्ट्रसेवक हुन्। संक्रमितको उपचार गर्दागर्दै नेपालमा पनि एक सय ३० स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन्। कतिपय चिकित्सक बिरामीलाई राख्नुपर्ने बेडमा आफैं औषधि खाएर बस्न बाध्य छन्। विश्वभर महामारी बनेको यसको संक्रमण आफूलाई पनि सर्छ भन्ने उनीहरूले नबुझेका होइनन्। तैपनि घरपरिवारबाट टाढिएर उपचार सेवामा दत्तचित्त छन्। त्यस्ता असल सेवकमाथि दुव्र्यवहार गर्नु खासमा पाप हो।
चाहे स्वास्थ्यकर्मी हुन् वा अन्य संक्रमित वा संक्रमणपछि डिस्चार्ज भएका व्यक्ति, समाज कोहीसँग डराउनु हुँदैन। हो, सचेत र सजग भने हुनुपर्छ। अब त लक्षण नभएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्न थालिएको छ। अस्पताल र स्वास्थ्य पूर्वाधारले धान्ने अवस्था छैन। संक्रमण बढ्दो छ। यस्तो अवस्थामा जुनसुकै घरमा संक्रमित व्यक्तिले स्वास्थ्यलाभ गर्नुपर्ने हुन सक्छ। उसको रेखदेखमा चिकित्सक आउनुपर्ने हुन्छ। समाजको संकीर्णता नहटे त्यसले थप गडबडी ल्याउन सक्छ। मुख्य कुरा यो हो कि जसले छिमेकीलाई छिःछिः गर्छ, उसैले संक्रमित हुनुपर्ने अवस्था आउन सक्छ। छिमेकीले आफ्नै पालामा त्यसै गरिदियो भने कस्तो होला ? सबैले त्यही सोच्नुपर्छ। अनि, समाज खासमा समाजजस्तो बन्छ। अतः कोभिड– १९ लाई साझा समस्या ठानौं। मिलेर रोकौं। मिलेर स्वस्थ बनौं। मिलेर निर्मूल पारौं। यसलाई जित्ने उपाय यही हो।