के भन्छ वास्तुशास्त्रले ?
‘गाँस, वास र कपास’ यो प्रत्येक मानिसका मूलभूत आवश्यकता हुन्। यहाँ गाँसको तात्पर्य व्यावसाय अथवा रोजगारलाई मानिएको छ। कपडालाई सुखसुविधाको प्रतीक र वासको तात्पर्य त्यो दुवैबाट प्राप्त हुने सुखलाई समन्वयात्मक रूपले भोग गर्ने र समाजमा प्रतिष्ठात्मक जीवनयापन गर्दै स्थायी रूपले निवास गर्नु हुन्छ।
अत ः संसारका प्रत्येक प्राणी सुखपूर्वक जीवनयापनका लागि हमेशा उपयुक्त स्थानको खोजमा रहेको हुन्छ। साथै उसले जहाँ स्थान प्राप्त गर्छ त्यही स्थानमा रहेर लौकिक एवं पारलौकिक सुखको भोग गर्न चाहेको हुन्छ। यसमा आरोग्यता, सुन्दर, जीवन–साथी, सन्तान प्राप्ति, धन–प्राप्ति, व्यापार एवं राज्य सेवा, सामाजिक लाभ, मान–प्रतिष्ठा, शास्त्रीय ज्ञान र आत्मिक शान्तिको समावेश हुने गर्छ।
यिनै उद्देश्यहरूलाई ध्यानमा राखेर नेपाली विद्वान् तथा ऋषिमुनिले भवन निर्माणका विषयमा सूक्ष्म ढंगले दीर्घकालसम्म अध्ययनमनन गरेर त्यसैको प्रतिफलका रूपमा वास्तुशास्त्र र त्यससँग सम्बन्धित उपयोगी एवं अनुपम सिद्धान्तको प्रतिपादन गरेका छन्। वास्तु व्यावहारिक विज्ञान हो, यसले वास्तविक कुरामा मात्र जोड दिन्छ।
वास्तुअनुरूप कुनै पनि कार्य गर्दा यी तीस महत्त्वपूर्ण सूत्रहरूलाई प्रतिपादित गरेको खण्डमा जीवनयापनका क्रममा सहज ढंगले कार्यलाई सम्पादन गर्न सकिन्छ।
जसअनुरूप वास्तुशास्त्रका गृह निर्माणका क्रममा महत्त्वपूर्ण ३० सूत्र यस प्रकार छन् :
१.शौचालयको सिट उत्तर–दक्षिण राख्नुपर्छ। सेप्टिक ट्यांक उत्तर–पश्चिम या दक्षिण–पूर्वको कुनामा राख्न सकिन्छ।
२. फोहोरको भाँडो सडक बत्ती, खम्बा या ठूलो प्रवेश द्वार ढोकाअगाडि हुनु हुँदैन।
३. भान्सा, शौचालय तथा पूजाघर एकअर्काको वरिपरि बनाउनु हुँदैन।
४. घरको उचाइ नैऋत्यबाट इशानतर्फ घटेको हुनुपर्छ।
५. मूल ढोकामा मूर्ति लगाउनलाई शुभ मानिएको छ।
६. घरको उत्तर–पूर्वी कुना सदैव सफा–सुग्घर राख्नुपर्दछ।
७. घरको वरिपरि किराले दुःख दिएमा समुद्रबाट प्राप्त नुन मिलाएर छर्नाले किराको प्रभाव घरमा पर्दैन।
८. विद्यार्थीले उत्तर अथवा पूर्व दिशातर्फ मुख गरेर पढ्ने लेख्ने गर्नुपर्दछ।
९. कुनै पनि बिमको तल बस्न तथा सुत्न हुँदैन।
१०.युद्ध, अपराध , अशान्ति, आक्रोश या कष्टकारक कुनै पनि चित्र अथवा पेन्टिङ मुख्य कोठामा राख्नु हुँदैन।
११. घरको मूलमा कुनै पनि रूखको छाया पर्नु हुँदैन।
१२. बर्खाको पानी या नाली उत्तर–पूर्वतर्फ बग्ने हुनुपर्दछ।
१३. भर्याङ तल या माथि शौचालय अथवा पूजा घर बनाउनु हुँदैन।
१४. घरमा बिहान नौ बजेदेखि तीन बजेसम्म रूखको छाया पर्छ भने त्यो अशुभ अथवा कष्टदायक हुने गर्छ।
१५. घरमा गार्डका लागि पूर्व फर्कंदा बायाँ भागमा राख्नुपर्छ।
१६. घरमा भर्याङको ढोका पूर्व या दक्षिण दिशामा राख्नु शुभफलदायक हुन्छ। घरको पश्चिम या उत्तरमा दायाँतर्फको निर्माणलाई उत्तम मानिएको छ।
१७. पार्किङका लागि उत्तर–पश्चिमको स्थानलाई प्रयोगमा ल्याउनुपर्छ।
१८. जुन भूमिमा भवन निर्माण गर्ने हो, त्यस स्थानको माटो निकालेर अर्को माटो राखेर बनाउनाले सबै प्रकारको भूमिगत दोष निवारण हुन्छन्।
१९. ईशान कोणलाई ईश्वरको निवास मानिएको छ। त्यसैले भवनको ईशान कोणमा शौचालय राख्नु अथवा त्यस दिशामा फोहोर हुनु कष्टकार हुन्छ।
२०. प्रवेश द्वार उत्तर अथवा पूर्वमा हुनलाई उत्तम मानिएको छ। बीचमा ढोका राख्नु हुँदैन। बीचमा ढोका भयो भने कुलको नाश हुन सक्छ।
२१. गृह स्वामीको कक्ष पश्चिम अथवा दक्षिण दिशामा बनाउनुपर्छ। जहाँसम्म हुन सक्छ दक्षिण–पश्चिम नैऋत्य कोणमा बनाउनु राम्रो मानिन्छ।
२२. घरको विस्तार चारै दिशामा गर्नु राम्रो हुन्छ। केवल दक्षिण–पश्चिममा अथवा दक्षिण–पूर्वमा बढाउनाले धन हानि, शोक , आगलागी, दुर्घटना, चोरी, डकैती, स्वास्थ्यहानि, अनावश्यक चिन्ता, शोक आदि हुने गर्छ।
२३. शयन कक्षमा पेय पदार्थ, कीटनाशक औषधि आदि राख्नु हुँदैन। यसले मानसिक उद्वेग, चिन्ता भोग्नुपर्ने हुन्छ।
२४. भूमिगत जल भण्डारण उत्तर–पश्चिम दिशामा राख्नाले वंशवृद्धिमा रुकावट हुन्छ। धन हानिका साथै मानसिक अशान्ति र क्लेशबाट मुक्त हुन सकिँदैन।
२५. गौशाला घरमा उत्तर–पश्चिम दिशा अर्थात् वायव्य कोणमा राख्न सकिन्छ।
२६. पूर्व एवं उत्तर दिशामा घरको इर्याल एवं ढोका धेरै भएमा राम्रो रहन्छ।
२७. निर्माण स्थलको जग्गा ढलान उत्तर दिशामा एवं पूर्व दिशामा हुनुपर्छ, जसले गर्दा पानीको निकास ईशान कोणतर्फ गएमा राम्रो रहन्छ।
२८. पूजा–अर्चनाका समयमा यथासम्भव आफ्नो मुख ईशानउत्तर या पूर्व दिशा अथवा पूर्व दिशातर्फ फर्कनुपर्छ।
२९. घरबाट निस्कने समयमा दक्षिणतर्फ मुख पर्छ भने त्यसबाट अनावश्यक परेसानी एवं हानि हुने गर्छ, जहाँसम्म हुन सक्छ यसबाट बच्नु नै राम्रो हुन्छ।
३०. भवन अथवा जमिनको ईशान कोण अन्य कोणभन्दा ठूलो भयो भने सूर्यसिद्धि एवं सुखको दाता हुन्छ, सानो भयो भने कष्टकारक हुन्छ।
—डा. न्यौपाने वास्तु विशेषज्ञ हुन्।