चिकित्सकमा कोरोना देखिएपछि जाजरकोट अस्पताल सिल
जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आउन बाँकी रहेकोले थप संक्रमण फैलिन नदिन अस्पतालको आकस्मिक बाहेकका सवै सेवा अनिश्चिततकालका लागि बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले बताए ।
संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ । प्रदेश अस्पताल पशुपंक्षि अन्वेषण प्रयोगशाला सुर्खेतमा पिसिआर परिक्षणका लागि स्वास्थ्य कार्यालय मातहतका सबै स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब संकलन गरि पठाइएको थियो ।
तर, सुर्खेतमा धेरै स्वाब थन्किएकाले रिपोर्ट आउन ढिलाइ भएको छ । स्वास्थ्यकर्मीहरु धेरैको सम्पर्कमा आउने र विरामीको समेत उपचार गर्न खटिनुपर्ने भएकोले छिटो परीक्षणको व्यवस्था मिलाइ दिन अनुरोध गरेका छौं, डा. पुनले भने, 'कहाँबाट कसरी चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलियो सो बारे अनुसन्धान गरिरहेका छौ । उनीहरुको सम्पर्कमा आएका सवैको पीसीआर परीक्षण गर्न पहल भइरहेको छ ।'
केही दिनअघि मात्र स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैकका कर्मचारी र स्थानिय गरि १९ जनामा कोरोना संक्रमण भएको थियो । संक्रमण बढ्दै गएपछि सदमुकाम खलंगा मंगलवार देखि एक हप्ताका लागि निशेधाज्ञा जारी गरिएको छ ।