कोरोनाले पोखरामा थप एक जनाको मृत्यु
पोखरा : कोरोना भाइरसले पोखरामा शनिबार एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा -१४ का ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।
उनी भदौ ७ गते पेटको अपरेसन गर्नका लागि अस्पताल भर्ना भएका थिए। ८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा १० गते कोरोना पुष्टि भएको डा. आचार्यले बताए। अस्पतालमा कोरोनाबाट मृत्यु भएका यी सातौं व्यक्ति हुन्।
पोखराकै भने उनी पाँचौं व्यक्ति हुन्। यो अस्पतालमा अरु २ स्याङ्जाका बिरामीको मृत्यु भइसकेको छ। गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।