संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध
सिरहा : सिरहाको सुखीपुर नगरपालिका-८ का ६५ वर्षीय एक पुरुषको बिहीबार धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भयो। उनको शव स्थानीय प्रशासनले शुक्रबार १० बजे मृत्यकको नगरपालिका पुर्याए। सोही नगरपालिकाका मेयरसहित प्रहरी प्रशासन शव व्यवस्थापन गर्न पुगेका थिए। तर, स्थानीयले त्यहाँ शव व्यवस्थानमा अवरोध गर्न खोजे। अवरोधले ६ घण्टासम्म शवलाई खोलामै एम्बुलेन्स भित्रै राख्नुपरेको थियो। सोही क्रममा प्रहरीसँग स्थानीय झडप पनि भएको थियो।
पहिलो खाल्डो खनिसकेको भए पनि स्थानीयको अवरोधका कारण शव व्यवस्थापन हुन् सकेन। अवरोधपछि अर्को खाल्डो खनियो। त्यसपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडा सुरक्षाघेरामा शुक्रबार अपराह्न साढे ४ बजे शव व्यवस्थापन गरिएको छ।
उच्च रक्तचाप र क्षयरोग भएर १८ महिना औषधि सेवन गरेका मृतकलाई श्वास-प्रश्वासमा समस्या भएपछि ६ भदौमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। भर्ना भएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी, कोरोना पुष्टि भएर विराटनगरमा शुक्रबार मृत्यु भएकी लहान- ९ की ६५ वर्षीया वृद्धाको पनि शव ल्याएर पछि सेनाको टोलीले व्यवस्थापन गर्ने नेपाली सेनाको चोहर्वास्थित शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले बताए।
यसअघि मृत्यु भएका चार जनाको सम्बन्धित स्थानीय तहको समन्वयमा मृतकका परिवारको सहमतिमा सेनाकै टोलीले शव व्यवस्थापन गरेको थियो। शुक्रबार सुखीपुरमा मापदण्ड पुर्याएर शव व्यवस्थापन गर्न खोज्दा अनावश्यक विरोध भएपछि जनप्रतिनिधिले पनि दुःख व्यक्त गरेका छन्।
सिरहामा कोरोना संक्रमितको कारणले मृत्यु हुनेको संख्या ६ पुगेको छ। ८ भदौमा लहान नगरपालिकाका २२ वर्षीय पुरुष, ३ भदौमा मिर्चैया नगरपालिकाका ६० वर्षीय पुरुष, २९ साउनमा विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुष र २२ साउनमा गोलबजार नगरपालिकाका २३ वर्षीय पुरुषको मृत्यु भएको थियो।
सरहामा सक्रिय संक्रमित १२८ पुगेको छ। २६६ जना कोरोना निको भएर घर फर्किसकेका छन्।