चितवनमा कोरोनाले साढे दुई महिनामा ११ को मृत्यु
चितवन : कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनमा ११ जनाको मृत्यु भएको छ । करिब साढे दुई महिनाको अवधिमा ११ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ९ जना पुरुष र दुई महिला छन् ।
यीमध्ये चितवनका एक महिलासहित पाँचजना रहेका छन । ५१ वर्षीय पुरुषदेखि एक सय आठ वर्षीय महिला रहेका छन् । मृत्यु हुनमा अधिकांश दीर्घरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए ।
त्यस्तै मकवापुरका तीन, नवलपुर, गोराखा, कैलालीका एक-एकजनाको मृत्यु भएको हो । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज , पुष्पाञ्जली अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।
चितवनमा पहिलो पटक जेठ २७ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई निमोनिया भएको थियो । त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको हो ।
चितवनमा समुदायस्तरमा संक्रमण फैलिएपछि अवस्था भयावह बनेको छ । आइतबार दिउँसोसम्म जिल्लामा संक्रमितको संख्या ५ सय २७ पुगेको छ । यी मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा बढी छन् ।