कोरोना युद्ध जित्न
अस्वाभाविक रूपमा आतंकित हुनुभन्दा सतर्कता र सावधानी अपनाउँदै संक्रमितको आवश्यक उपचार प्रबन्ध युद्धस्तरमा गर्नु आवश्यक छ
उत्तरी हिमालपारिको छिमेकी मुलुक चीनको हुवान सहरमा उत्पत्ति भएको कोभिड– १९ को वैश्विक महामारीको भयावहताबाट नेपाल पनि अछुतो रहन नसक्ने आशंका प्रकट भएकै हुन्। युरोप, अमेरिका, मध्यपूर्व, भारत हुँदै विश्वलाई नै फन्को मार्दै हिमालवारिसम्म आक्रामक रूपमा फैलिँदासम्म हामी लकडाउनको घोषणा र परीक्षणको संख्यात्मक वृद्धिमै सीमित छौं।
मुलुकको अमूक स्थानमा अमूक संख्यामा पोजिटिभ देखिए भन्दै उद्वेलित र अस्वाभाविक रूपमा आतंकित हुनुभन्दा सतर्कता र सावधानी अपनाउँदै र संक्रमित भएकाहरूको आवश्यक उपचार प्रबन्धका लागि युद्धस्तरमा पूर्वतयारीका उपाय अपनाउन आवश्यक छ।
मुलुकका प्रमुख व्यक्तिका प्रस्तुतिहरूले आम नागरिकमा कस्तो प्रभाव र प्रेरणा दिन सक्दो रहेछ भन्ने उदाहरण यो महामारीको सन्दर्भमा विभिन्न मुलुक बन्न पुगेका छन्। चैत ११ बट लागू भएको सुरुको लकडाउनले मूलतः तेस्रो मुलुकबाट आयात हुने संक्रमण रोक्न भूमिका खेलेको हो। तर लकडाउनका बीच भारतसँगको सिमानाबाट लाखौंको संख्यामा बाध्य भई स्वदेश फर्किएका नागरिकलाई क्वारेन्टाइन,परीक्षण र आइसोलेसनको समुचित व्यवस्थापन हुन नसक्दा पनि सामाजिक संक्रमणले बढावा पायो। त्यसैगरी परीक्षणको दायरा नबढाई अनि अन्य पूर्वतयारी नगरी मानवीय एवम् वित्तीय तथा आर्थिक संकटका कारण लकडाउन पूूर्णरूपमा खुला झैं प्रतीत हुन जाँदा पनि संक्रमण बढ्न गयो।
अहिले पनि संक्रमणको फैलावट, परीक्षण, सामाजिक दूरी, उपचारबारे फैलिएका भ्रम चिर्दै सचेतना फैलाउन आवश्यक छ। नेपालमा भ्याक्सिन एवम् पूर्णरूपमा प्रभावकारी प्रतिविषाणु औषधिहरूको उपलब्धता अनिश्चित रहेकाले आफ्ना र आफ्नाका लागि पनि अरू संक्रमित हुनबाट जोगिनुपर्छ भन्ने भावना अपरिहार्य छ।
कोभिड– १९ को महामारी कहिलेसम्म कसरी कतिजनालाई संक्रमित तुल्याएर अनि कतिजनालाई अकाल मृत्युको ग्रास बनाएर अन्त्य होला ? या इन्डेमिकका रूपमा दीर्घकालतक रहिरहला ? भन्न सकिने अवस्था छैन। क्रमशः तल झरिरहेको संक्रमणको ग्राफ फ्रान्स, स्पेन, इटाली,जर्मनी आदि युरोपेली मुलुकमा मानिसहरूको चहलपहलसँगै माथि चढ्न थाल्नु अवश्यै पनि शुभसंकेत होइन। यसले महामारीको निरन्तरताको सम्भावना इंगित गर्छ।
सम्भावित ठूलो मानवीय क्षतिको मूल्यमा प्राथमिक रूपमा एन्टिबडी या हर्ड इम्युनिटीको अपेक्षा गर्न नहुने पाठ सिक्न आवश्यक छ।
मुलुकमा आर्थिक एवम् मानवीय संकटको स्थिति पैदा भए अतिरिक्त होइन नियमित आर्थिक सुविधा गौण र ज्यान बचाउने सवाल मात्रै अहम् बन्न सक्छ। मुलुकभित्र अन्तर्निहित स्रोतसाधनको भरपूर उपयोग गर्न सके नेपाली खान नपाएर भोकभोकै मर्नुपर्दैन। उपचारको प्रबन्ध भने सरकारी एवम् निजी क्षेत्रको सहयोगमा सरकारहरूले नै मिलाउनुपर्छ। आवश्यक जनशक्ति र आईसीयू एवम् भेन्टिलेटरको संख्यामा वृद्धि गर्नैपर्छ। कम्युनिस्ट मुलुक चीनमा जस्तो कोभिड– १९ नियन्त्रणका लागि राष्ट्रिय रूपमै अपनाइएको राष्ट्रिय सर्भिलेन्स नेपालमा सम्भव नभए पनि जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सञ्जाल उपयोग गरी रोग नियन्त्रणमा सर्भिलेन्सको उपाय अपनाउन आवश्यक छ। नागरिक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अधिकारकर्मी एवम् जनप्रतिनिधिलगायत सबै पक्षबीच समन्वय, सहयोग, समझदारी र सहकार्यको आवश्यकता छ।
१. कम उमेरमा पनि संक्रमण
नेपालमा संक्रमितको ठूलो संख्या युवा या कम उमेर भएकाहरूले ओगटेका छन्। यसो हुनुमा विभिन्न कारण जिम्मेवार रहने वैज्ञानिक आधारहरू छन् : १. सक्रियता र गतिशीलता; २. विषाणुसँगको विशिष्ट प्रकारको अनुवांशिकताजस्तो एसीई– २ जिन; ३. विशेष कोषीय सूचनाको प्रवाह; ४. विभिन्न प्रकारका प्रोटिनयुक्त साइटोकाइन (जस्तो– इन्टल्र्युकिन, किमोकाइन, इन्टर्फेरन) आदिको उत्तेजनात्मक सक्रियता; ५. अनुवांशिक एवम् चुरोट धुवाँ आदि कारणले फोक्सोमा अन्तर्निहित ग्यास प्रवाहमा महत्त्वपूर्ण सर्फेक्टेन्टको तहमा कमी आई कोषहरू अक्सिजनविहीन हुनु; ६. आक्रामक भाइरसहरूको संख्या र ७. रोगप्रतिरोध क्षमता एवम् अन्य। जुनसुकै उमेरका पनि संक्रमित हुने भए पनि वृद्धवृद्धा, दीर्घरोगीहरू नै बढी गम्भीर भई मृत्यु हुने तथ्य पुष्टि भइसकेको छ।
२. परीक्षण (टेस्टिङ)
कोभिड– १९ नियन्त्रणमा क्वारेन्टाइन, सामाजिक दूरी, हातको धुवाइ र आइसोलेसनसँगै परीक्षणको भूमिका छ। तर परीक्षणको नेगेटिभ नतिजाबाट ढुक्क हुन सकिन्न। अन्य भाइरल संक्रमण जस्तो– कोरोनाको परीक्षण नतिजा नेगेटिभ आउँदैमा संक्रमण छैन भन्न सकिन्न। अझै नेपालको परीक्षण स्तरको सुनिश्चितता गर्न सकिने स्थिति छैन। फाल्स नेगेटिभ अर्थात् संक्रमित भएका आधा जतिसम्ममा पनि परीक्षण नेगेटिभ हुनु कोभिड– १९ को विशेषता हो। कीट, विषाणु संवाहक, प्राविधिक एवम् परीक्षितमा निहित अन्तर्निहित अवस्थामा पनि यसको सुनिश्चितता निहित हुन्छ। त्यसैले परीक्षणको स्तरीयता दायरा र सहजतामा अभिवृद्धि ल्याउन आवश्यक छ।
कोभिड– १९ को विषाणु आरएनए समूहको भएकाले यसको पीसीआर परीक्षण परोक्ष र घुमाउरो हुने गर्छ। कोभिड– १९ को आरटी, पीसीआर, टेस्टमा आरएनएलाई इन्जाइमको माध्यमबाट डीएनएमा परीक्षण र सोको प्रतिकपी बनाई परीक्षण गरिन्छ। तर कीटबाट लिइएको स्वाबमा भाइरलको कण नहुन सक्छ जसले गर्दा संक्रमितमा पनि पोजिटिभ नदेखिन सक्छ।
एचआईभीलगायत अन्य भाइरल संक्रमणमा यस्तो अवस्था रहन्न। तिनमा फाल्स नेगेटिभ हुने सम्भावना १० प्रतिशत रहन्छ। त्यसैले संक्रमणबाट जोगिनु नै निर्विकल्प उपाय हो।
पीसीआर परीक्षण नेपालका सरकारी अस्पतालमा निःशुल्क उपलब्ध छ भने निजी क्षेत्रका प्रयोगशालामा ६ हजारसम्म लिने गरिएको छ, जुन शुल्क सर्वसाधारणका निम्ति निकै महँगो पर्छ। एकातिर रोजगार र आम्दानीका स्रोत न्यून हुँदै जानु अनि अर्कातिर अत्यावश्यक परीक्षण महँगो हुनुले गरिब ठूलो मारमा पर्छन्। भारतमा केन्द्रीय सरकारको हस्तक्षेपबाट निजी क्षेत्रको शुल्क पनि घटाई २४ सय भारु तोकिएको छ। बंगलादेशमा त स्थानीय रूपमा निर्मित किटको माध्यमद्वारा ७५० भारुमा घरघरमा गएर परीक्षण हुने गर्छ। अन्य देशका सरकारबाट पनि यस्तै प्रयास हुने गरेका छन्। तर नेपालमा यस्तो मूल्यबारे सरकार संवेदनशील भएको देखिन्न।
३. पोजिटिभप्रतिको नकारात्मकता
उपचारका क्रममा पोजिटिभ भएका स्वास्थ्यकर्मीप्रतिसमेतको दबाब, बन्देज, उपेक्षा र अमानवीय व्यवहार दुर्भाग्यपूर्ण छ। नेपालको कुल जनसंख्याको १० प्रतिशतजति पोजिटिभ हुन सक्छन्। तर पोजिटिभ हुँदैमा यदि लक्षण देखिएका छैनन् या लक्षणहरू देखिने क्रममा छैनन् भने अर्कामा सर्ने सम्भावना न्यून हुन्छ। तर विशेषगरी ज्वरो, खोकीजस्ता श्वासप्रश्वास प्रक्रियासँग सम्बन्धित लक्षण पैदा भएका छन् भने एउटै संक्रमितबाट पनि सयौंमा संक्रमण सर्न सक्छ। त्यसैले संक्रमितहरू लाखौंको संख्यामा पुग्ने सम्भावना भएकाले संक्रमितप्रति दुर्भाव होइन, जोकोही पनि संक्रमित हुन सक्ने र संक्रमितमध्ये केही प्रतिशत गम्भीर हुने तथ्यलाई आत्मसात गर्नुपर्ने हुन्छ। आफू पनि जोगिन र आफ्नैहरूलाई जोगाउन पनि सबैलाई जोगाउन आवश्यक छ। सचेत बन्न र बनाउन आवश्यक छ।
४. मास्कको सही प्रयोग
प्रयोग भन्नाले सही तरिकाले लगाउने, फुकाल्ने र विसर्जन भन्ने अर्थ लाग्छ। असंक्रमितले संक्रमितबाट बच्न र अझै संक्रमितबाट अन्यमा भाइरस नसरून् भनेर मास्क लगाउनुपर्छ। यो मास्क तीन तहको हुन्छ। यसको भित्री तह छालामा टाँसिएको र मुख र नाक टम्म छोपिएको हुनुपर्छ। बहुसंख्यकले मास्क नलगाउने, लगाउनेले पनि माथि भनिए झैं गर्न नसक्दा रोग फैलिने सम्भावना रहन्छ। मास्कको अघिल्लो तहमा हातले छुनु हुन्न। बरु कपडाबाट बनेको तीन तहको मास्क पटकपटक साबुनपानीले धोएर सुकाएर लगाउन सकिन्छ।
५. सामाजिक एवम् भौतिक दूरी एवम् व्यवहारमा परिवर्तन
जब संक्रमितहरूको संख्या बढ्छ, सोही अनुपातमा लक्षण हुनेहरूको संख्या बढ्छ, जब विशेषगरी श्वासप्रश्वाससँग सम्बन्धित लक्षण पैदा हुन्छन्, एकबाट अर्कामा सर्ने सम्भावना बढी हुन्छ र स्वाभाविक रूपमा गम्भीर भई मृत्यु हुने सम्भावना पनि बढ्न थाल्छ। त्यसैले सचेततामा वृद्धि र नियमहरूको पालना गर्नुको विकल्प छैन। अब फोक्सोका लागि तानिने प्रत्येक श्वासले आफू र संक्रमितको प्रश्वासले अरूलाई कोभिड– १९ सार्न सक्छ भन्ने हेक्का राख्नुपर्ने हुन्छ।
संक्रमितहरूको संख्यात्मक वृद्धिसँगै लक्षण हुनेहरूको संख्यामा वृद्धि हुनु अनि सोही अनुपातमा व्यक्तिहरूको मृत्यु हुनु स्वाभाविक छ। कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा (जहाँ कोरोना पोजिटिभ बिरामीको शल्यक्रिया सम्पादन भइरहेको छ) मा कार्यरत वरिष्ठ चिकित्सकको नाताले पंक्तिकारको निचोड छ– संक्रमणको सराइ, संक्रमितमा प्रकट भएका रोगका लक्षण र रोगको गाम्भीर्यमा निहित हुने रहेछ। संक्रमित र स्वस्थ व्यक्ति दुवैले होसियारी अपनाए रोग सर्ने सम्भावना न्यून छ।
६. आइसोलेसन र उपचारको व्यवस्था
चीनमा वैश्विक महामारीको उत्पत्ति भएसँगै हाम्रा प्रधानमन्त्रीबाट चीनले जस्तै पूर्वतयारीस्वरूप नेपालमा पनि छुटै कोरोना उपचार अस्पतालको स्थापना गर्ने प्रतिबद्धता प्रकट भएको थियो, जुन प्रतिबद्धता अहिले पनि स्वास्थ्य मन्त्रालयबाट प्रकट भइरहेकै छ। तर स्थितिको यथार्थ जगजाहेर छ। अहिले पनि भेन्टिलेटरको संख्या बढाइने छ, छुट्टै अस्पताल स्थापना गरिने छ जस्ता प्रतिबद्धता जाहेर क्रम जारी छ।
जनताको कल्याण राजनीतिक व्यवस्थाले होइन बरु उपयुक्त व्यवस्थापनबाट मात्रै सम्भव हुँदो रहेछ। मुलुक समृद्धशाली भएर मात्रै हुँदो रहेनछ भन्ने उदाहरण कोरोना– २ को संक्रमण नियन्त्रणमा विभिन्न देशहरू बनेका छन्। जर्मनी, न्युजिल्यान्डलगायतका केही चीनजस्तै कम्युनिस्ट पार्टीको सरकार रहेको भियतनामले अमेरिकाजस्तो पँुजीवादी राष्ट्रको संघीय रोग नियन्त्रण केन्द्र (सीडीसी) को सहकार्यमा आफ्नो देशमा प्रभावकारी केन्द्रीय नेतृत्व, व्यापक परीक्षण, क्वारेन्टाइन कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन र उपचारजस्ता उपाय अपनाएर कोभिड– १९ नियन्त्रणमा सफलता हासिल गरेको छ।
नाकाबन्दी, अभाव, महामारी आदिका कारण उत्पन्न मानवीय संकटलाई पनि निहित स्वार्थपूर्तिको माध्यम बनाउने प्रवृत्ति जुर्मुराउने गर्छन्। अहिले संसारमा फैलिएको महामारी नियन्त्रणका आधारमा मूल्यांकन गर्दा राजनीतिक व्यवस्थाभन्दा व्यवस्थापकीय क्षमता एवम् नियति महत्त्वपूर्ण हुने रहेछ भन्ने तथ्य पुष्टि भएको छ।
झनै व्यक्तिगत सम्पर्कका कारण श्वासप्रश्वासमा गम्भीर संक्रमण गर्न सक्ने कोभिड– १९ को वैश्विक महामारीका बीच पनि जिम्मेवारहरूमा अनेक राजनीतिक स्वार्थ एवम् आर्थिक लाभको लिप्सा प्रकट हुनु दुर्भाग्य हो।
सबै स्वार्थ तुष्टि पूर्वाग्रह छाडेर सबैको ध्यान अकाल मृत्युबाट ज्यान जोगाउनमा केन्द्रित हुन आवश्यक छ।
—पौडेल नेपाल मेडिकल काउन्सिलका सदस्य हुन्।