सांस्कृतिक पाठशालामा सोह्र श्राद्ध अभ्यास
स्याङजा : हिन्दु धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं जगेर्ना गर्ने उद्देश्यले स्थापित सांस्कृतिक पाठशालामा बैद्धिक कर्मकाण्डलगायतका संस्कृत भाषा र हिन्दु धर्म संस्कार सिकाइएको छ । भिमटारी सामुदायिक सिकाइ केन्द्रको आयोजना तथा मोहिनी शरण स्मृती प्रतिष्ठानको सहआयोजनामा धर्म र संस्कार सिकाउने उदेश्यले सांस्कृतिक पाठशाला सञ्चालनमा ल्याइएको हो ।
पाठशालामा बुधबार (भोली) देखि सुरु हुने सोह्र श्राद्ध अर्थात पितृ कार्यलाई लक्षित गर्दे श्राद्ध अभ्यास गराइएको पाठशालाका युवा प्रकाश अर्यालले जानकारी दिए । उनले भने, 'हिन्दु धर्म अन्तरगतका विभिन्न संस्कारका बारेमा पनि प्रशिक्षण जारी छ ।'
कोरोनाका कारण फुर्सदमा रहेका युवाहरुलाई लक्षित गर्दै धर्मसंस्कार संरक्षण गर्ने उदेश्यले जेठको दोश्रो सातादेखि पाठशाला सञ्चालन गरिएको हो । पाठशालामा विभिन्न व्यवसाय, पेशामा आवद्ध युवाहरु पनि सहभागी छन् ।
पाठशालामा वेद पाठ, अग्नि स्थापना, श्राद्ध पद्धतीलगायतको अध्ययन हुँदै आएको छ। प्रशिक्षार्थीहरु नै कर्ता र यजमान भई श्राद्ध कर्मका अभ्यास गराइँदै आएको केन्द्रका अध्यक्ष नेत्र नारायाण रेग्मीले बताए ।
पाठशालामा १८ देखि ५० वर्ष उमेरका ३० जना प्रशिक्षार्थी छन् । केही वर्षयता धार्मिक एवं कार्यमा युवाहरुको रुची कम हुँदै गइरहेको बेला यस्ता प्रशिक्षणले सकारात्मक प्रभाव पार्ने प्रतिष्ठानका अध्यक्ष धु्रवराज उपाध्यायको भनाइ छ । शुभकार्यका लागि पण्डित तथा पुरोहितहरुको संख्या कमी हुँदै गएको बेला युवाहरु यसतर्फ आकर्षित हुनु सुखद छ ।
पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । दिवङ्गत पितृलाई सम्झन सोह्र श्राद्ध गर्न थालिएको हो ।