धानमा राइस हिस्पाको प्रकोप बढ्दो
स्याङजा : भीरकोट नगरपालिका-५ स्थित पकान फाँटमा राईस हिस्पा (काँडेदार खपटे किरा) को प्रकोप बढेको छ। किराले धानका पात काटेपछि बिरुवा नै सुक्ने क्रम बढेको हो।
खपटे किरा अहिले फाँटका झण्डै ३ सय रोपनी भन्दा बढी क्षेत्रफलमा हुर्किदैगरेको धानबालीलाई क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ। साउन महिनामा अलिअलि देखिएको प्रकोप अहिले ह्वात्तै बढेको छ। करिब २ महिनाअघि रोपिएका ती धानका बिरुवा अहिले सुकेका छन। हरिया धानका बिरुवा राता देखिएको र किराले धेरै नै नोक्सान पुरयाउदै गएको वडाअध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) को भनाई छ। ‘बिरुवाका कलिलो पात खाने खपटे किरोले, छिप्पिएका पात पनि खाएको छ’ कृषि विकास अधिकृत इश्वरीप्रसाद अर्यालले भने ‘कलिला पात पलाउन सक्थ्यो, तर छिप्पिएका पात पलाउन अलि कठिनपर्छ।’
यसअघि भीरकोटका डौवा, अर्मादीखोला जस्ता फाँटमा पनि यी किराले धानवालीमा नोक्सान पुरयाएको थियो। धानवालीमा किराको प्रकोट बढेपछि नगरपालिका र ज्ञान केन्द्रका प्राबिधिक टोलीले धानको अनुगमन तथा निरीक्षण गरेका छन्। प्राबिधिकका सुझाव अनुसार किरा मार्ने औषधी छर्कैका छन्। क्लोरोपाइरिफस र साइपर मेशिनलाई मिसाएर धानमा छर्कनका लागि किसानलाई प्राबिधिक सीप उपलब्ध गराएको अधिकृत अर्यालले जानकारी दिए।
खपटे किराको प्रकोपसंगै धान सुक्न थालेपछि किसानले घरेलु बिषादीको प्रयोग गरेका थिए। घरेलु बिषादीको प्रयोगले पनि नियन्त्रण हुन नसकेपछि ज्ञान केन्द्रको सिफारिस गरेको बिषादी छर्केको किसान सूर्यप्रसाद तिवारीले बताए।
जिल्लाकै प्रमुख धान उत्पादक क्षेत्र पकान फाँटमा खपटे किराले क्षति पुर्याएकोमा किसान चिन्तित छन्। धेरै खर्च र मेहनत गरेर रोपेर बयस्क अवस्थामा पुगेको धानमा किराको प्रकोपले धान नफल्ने हो कि भन्ने चिन्ता बढेको अर्का किसान सूर्यवहादुर थापाको छ।