महामारीमा सजगता

महामारीमा सजगता

जोन्सन ओटमेनले एउटा गीत नै तयार गरेका छन्–‘जब तिमी परिस्थितिबाट हार खाए झैं महसुस गर्छौ तब आफूले पाएको आशीर्वादको गणना गर।’ कोरोना कहरको प्रभाव नेपालमा दिनप्रतिदिन अरू बढ्दै छ। विश्व स्वास्थ्य संगठनले नै कोरोना मुक्त हुन अरू दुई वर्ष लाग्ने वक्तव्य दिइरहँदा नेपालमा पनि छिट्टै नै यो महामारीबाट मुक्त भइन्छ या भइँदैन सोचनीय नै छ। पहिलो बन्दाबन्दीमा तीन महिना घरभित्र थुनिएर केही खुकुलो अवस्था सिर्जना भयो। हामी यत्ति धेरै आत्तिएका रहेछौं घरभित्र बसेर कि काम हुने नहुने एकनासले सहरमा भिडभाड नै बनायौं र सबैले सोच्यौं – सबै त बाहिर निस्किरहेका छन् अब सकियो कोरोना। त्यही बेवास्ताले गर्दा र आफैं विज्ञ बन्दा व्यक्तिबाट समूहमा फैलियो संक्रमण। फेरि पनि सटडाउनको नाममा घरभित्र बस्नुको विकल्प रहेन।

सृष्टिमा दुई कुरा भन्दा अरू हुँदैन ती हुन्–परिस्थिति या घटनाको अनुकूलता र प्रतिकूलता। परिस्थति अनुकूल हुँदा हामी खुसी हुने, संयम हुने र केही दुःख नै छैन भनेर ढुक्क हुने, अनि प्रतिकूलता आउनासाथ आफ्नो मनोबल निच बनाउने। यो कस्तो प्रज्ञा भयो त ? हरेक समय र परिस्थिति बितेरै जानेछन् भनेर अरूलाई सल्लाह दिन जान्नेले प्रतिकूलता पनि बितेरै जान्छ भनेर धैर्यताको विकास कसरी गर्ने सबैको दायित्व देखिएको छ। अहिले समाजमा भाइरसको संक्रमणले भन्दा पनि मनोवैज्ञानिक समस्याले अरू धेरै रोग र घटना निम्त्याउने हो कि भन्ने चिन्ता बढेको पाइन्छ। कोरोनाको कारण अरू सबै समस्या र रोग न्यूनीकरण भएका हुन् या अरू समाचार बाहिर आउनु जरूरी नै भएन ? प्राथमिकतामा के राख्यौं जस्ता सवालले पनि मनोवैज्ञानिक रूपबाट अबको परिस्थितिमा के गर्नुपर्ने हो भन्ने जिज्ञासा उठ्नु र यसको समाधानका उपाय पत्ता लगाई संयम बन्नु जरुरी देखिएको छ।

मानिसको आदत छ अस्थिरता अनि जे छैन त्यो देख्ने, भएको चिज नदेख्ने। दुःख र तनावको मूल कारण नै आफूसँग भएको चिजहरू नदेख्नु र जे छैन त्यसको बारेमा धेरै अपेक्षा राख्नु। अहिलेको समय हाम्रो लागि प्रतिकूल छ यसलाई सहज बनाउन संयमता, सजगता र धैर्यताको जरुरी छ। कसरी सजगता अपनाउने त ? जीवनमा आफूले पाएका दुःखलाई गणना गर्न छोडेर पाएका कुराहरूको गणना गर्न सुरु गरौं। अवश्यमेय, हामीसँग नभएका चिज भन्दा प्राप्त चिज प्रशस्त छन्। हामीलाई २–४ कुराको अभाव होला तर त्यसको बदलामा हजारौं चिज प्राप्त छन्, ती के हुन् गन्ती गर्न सुरु गरौं। आफूले आफैंलाई उत्प्रेरित गर्ने कला हो यो। हाम्रो परिवार छ, रोजीरोटीको उपाय चलेकै छ, स्वास्थ्य अहिलेसम्म ठीक छ, सम्बन्ध, नातेदार सबै ठीक छ। जति आर्जन गरेका थियौं त्यसले अधिकांशको जीवनमा सुख सुविधा जुटेकै छ। केही प्रतिशत व्यक्तिहरूको हकमा यी सबै परिस्थितिले अनुकूलता पाएका छैनन् जसमा राष्ट्रको अहं भूमिका रहन्छ। समृद्ध राष्ट्रको सपना देख्ने र देखाउनेले आफ्ना नागरिकको दैनिक र आधारभूत आवश्यकता जुटाउन सक्दैन भने त्यो जस्तो कमजोरीपना अरू के होला र ? राष्ट्रको सुरक्षा कोषमा रहेको, आपतकालीन कोषको बजेट निमुखा र जोखिममा रहेकालाई खर्च गर्न नसकी भ्रष्टाचारमा नजाओस् भन्ने आम नागरिकको शुभेच्छा रहिआएको छ। यस्तो आपतकालीन अवस्थामा राज्यको गहन दायित्व केमा हुनुपर्छ विश्लेषणसहित व्यावहारिक कार्यान्वयनको जरूरत पनि हो।

कोरोना महामारीको प्रतिकूलतामा हामीलाई प्राप्त भएका आशीर्वाद गणना गरौं र संयमतापूर्वक जीवन जिउने संकल्प गरौं।

मानिसको स्वभाव स्थिर र साक्षीमा रहन सक्ने हुनुपर्ने हो तर विडम्बना मानिस स्थिर र संयम बन्नै सक्दैन। कुनै एउटा संकल्पमा अडिग रहन नसक्ने र विकल्पको खोजी गर्दै हिँड्ने अस्थिर स्वभावले गर्दा सजगतामा रहन सकेको हुँदैन। परिस्थिति सधैं एकनास हुँदैन तर एकनास स्थिर रहने चिज के हो जसले हाम्रो जीवनशैलीलाई सहज बनाउँछ त ? प्रकृतिमा हामीले हेर्‍यौँ भने थाहा हुन्छ, आकाशमा उड्ने पन्छी चलायमान छन्, बादल चलायमान छ तर आकाश स्थिर छ। वृक्षका पातहरू पुराना हुन्छन्, झर्छन्, नयाँ पालुवा पलाउँछन् तर वृक्ष अडिग छ, आफ्नो जरा समातेर स्थिर रहन्छ। नदीमा कहिले पानीको वहाव छ त कहिले सुक्खा तर नदीका किनारा स्थिर छन्। सागरमा लहर आउने जाने हुन्छन् तर सागरको गहिराइ स्थिर छ। हाम्रो शरीर, स्वास्थ्य र विचारमा परिवर्तन आइरहन्छ तर भित्रको आत्मा स्थिर, अकम्प छ। संसार चलायमान र गतिशील छ तर अस्तित्व एकनास, अपरिवर्तित छ। जुन कुरा परिवर्तित र अस्थायी छ त्यो हाम्रो हातमा छ भने जुन कुरा स्थिर र अपरिवर्तनीय छ त्यो अस्तित्वको हातमा छ।

मानिसले जतिसुकै चतुर्‍याइँ गरे पनि सत्य र असत्य, पाप र धर्मको हिसाब अस्तित्वले राखेको हुन्छ। स्व–बोध, विवेकको प्रयोग र सजगता मानिसका गुणवत्ता हुन्। आफ्नो गुणवत्ताको पहिचान गरी अनुशासनमा चल्न जान्नेले जस्तोसुकै परिस्थितिलाई सहजताका साथ सामना गर्छ। गुनासो, अस्थिरता, संकल्पहिनताको अवस्था र अस्थिर मनको उपज मानिसले हरेक परिस्थितिमा दोष अरूलाई दिन्छ। प्रशंसा भन्ने शब्द उसको शब्द कोषमै हुँदैन, गुनासो गर्ने व्यक्तिले समाजमा राम्रा कार्य गर्ने, समाजमा रूपान्तरण ल्याउनेहरूको प्रशंसा गर्नै सक्दैनन्। नदीको पानी सधैं बगिरहन्छ त्यसैले सफा हुन्छ। पोखरीको पनि सधैं जमेर बसेको हुन्छ, निकास नपाएपछि त्यसमै किटपतंग मर्छन्, लेउ र झार उम्रेर, दुर्गन्धित हुन्छ। प्रशंसा दिन जान्ने व्यक्तिको हृदयमा नयाँ नयाँ भावना, उमंग, प्रसन्नता बगिरहन्छ। यस्ता आत्मावान् व्यक्तिले सृष्टि कस्तो छ गुनासो गर्दैनन्, बरू आफ्नो दृष्टि कसरी सकारात्मक बनाउने त्यसतर्फ सजग हुन्छन्। उनीहरूमा सधैं सत्यम्, शिवम्, सुन्दरम्को भावना फलित भएको हुन्छ। मैले के गुमाएँ होइन, अझै मसँग के बाँकी छ त्यतातिर ऊ धन्य भागी बन्दछ। गिलास आधा खाली होइन, आधा भरिएको दृष्टिले हेर्छ र सधैं धन्यवादमा बाँच्ने कला जानेको हुन्छ।

आजको मानिसले पैसारूपी धनलाई ज्यादै नै महत्व दिने हुँदा बाँकी धनरूपी हिस्साहरू गुमाउँदै गएको हुन्छ। व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध, साथीभाई, नातेदारहरूसँगको सुमधुर सम्बन्ध, कार्यालयका साथीहरूसँगको सम्बन्ध पनि कुनै बैंक बचत भन्दा कम धन हुँदै हुँदैन। हामीलाई आपत परेको बखत यो धनको प्रयोग गर्न सकिन्छ जसले केहीसँग तुलना गर्न नसकिने मूल्य प्रदान गर्छ। अर्को धन भनेको हाम्रो स्वास्थ्य हो। हाम्रो स्वास्थ्य राम्रो हुनु जीवनको सबैभन्दा ठूलो धन आर्जन गर्नु हो। जीवनभर आफ्नो स्वास्थ्य र सम्बन्धको ख्यालै नगरी आपाधापी र दुःख गरेर धन कमाउने अनि बुढेसकालमा अनेक रोगले ग्रस्त भएर त्यो कमाएको धन अस्पतालमा खर्च गर्ने तरिकाले कस्तो सुख र आनन्द देला ? हाम्रो जीवनशैलीलाई सरल, सहज, आनन्दित र स्वस्थ बनाउने योग र ध्यानरूपी धन भने आर्जन गर्नु पर्दैन ? जसरी बैंकमा राखेको पैसारूपी धन दुःख पर्दा प्रयोगमा ल्याउन सकिन्छ त्यसैगरी, हामीभित्र सञ्चित ध्यान र योगको धनले जस्तोसुकै प्रतिकूलतामा सहयोग गर्छ। यो महामारीमा हामीले थाहा पाउने भनेको जीवनमा के चिज हाम्रो पहिलो प्राथमिकतामा पर्छ ? हामीले के गुमायौं होइन अझै हामीसँग कति चिज बाँकी छन् ! हामीले आर्जन गरेका सानातिना उपलब्धिलाई छोडेर अस्तित्वले कति महत्वपूर्ण कुराहरू हामीलाई विना मूल्य उपलब्ध गराएको छ ! हामी नकारात्मक र तर्कवान बनेर क्षणिक उपलब्धि मिल्छ होला तर दीर्घकालीन सुख र आनन्दको लागि प्राकृतिक स्वभाव, सत्यम्, शिवम्, सुन्दरमको कर्म कायम राख्नुको विकल्प छैन। जीवनभर अनेक तिकडम लगाए पनि जीवनको उत्तराद्र्घमा लक्ष्मीप्रसाद देवकोटाले समेत भन्न बाध्य हुनुभएको थियो–‘आखिर श्रीकृष्ण रहेछ एक’ ! त्यो एक श्रीकृष्ण भनेको हाम्रो सत्यकर्म, विवेक, सजगता, धन्यवादको कला र आफ्नै स्व–बोध हो। यो कोरोना महामारीको प्रतिकूलतामा हामीलाई प्राप्त भएका आशीर्वाद गणना गरौं र संयमतापूर्वक जीवन जिउने संकल्प गरौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.