‘हुनेले दिएर, नहुनेले लिएर जाऔं’
राजविराज : ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’, सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगरस्थित प्रगति टोलको त्रिमार्ग शिवालय मन्दिरमा झन्ड्याइएको ब्यानरमा यस्तो सूचना टाँगिएको छ। सूचनामा ‘तपाईंले दिएको एक पोका नुन, कसैका लागि बन्न सक्छ सुन’ पनि लेखिएको छ। मन्दिरअगाडि सडकमा खाद्यान्नको पोकाहरू दूरी बनाएर राखिन्छ। पोकाभित्र दाल, चामल, तेल, नुन, आलु, सोयाबिन, साबुन र मास्क छन्। कञ्चन सञ्चार समूहका पदाधिकारीहरूले राहत लिन आउनेलाई पालैपालो यी सामग्रीका पोका वितरण गर्छन्। लिन आउन नसक्ने अशत्ताmलाई घरमै पुर्याउँछन्।
लकडाउन र निषेधाज्ञाका कारण दैनिक ज्याला–मजदुरी गरेर खानेलाई एक छाक टार्न धौधौ परेका बेला कञ्चन सञ्चार समूहले सञ्चालनमा ल्याएको ‘फुड बैंक’ले विपन्न, असहाय र मजदुरहरूलाई लक्षित गरी खाद्यान्न वितरण सुरु गरेको समूहकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमा लम्सालले बताइन्। मजदुरी र ज्यालादारी गर्नेहरूले काम पाउन छाडेका छन्, कोरोनाभन्दा पहिले भोकले मर्नुपर्ने स्थिति छ त्यसैले ‘फुड बैंक’ सुरु गरेको समूहका अध्यक्ष डम्बर राईको भनाइ छ। कोषाध्यक्ष अनिल पोखरेलले ११ जना दाताहरूबाट सुरु गरिएको कार्यक्रममा धेरैको साथ र सहयोग पाएको बताए।